आफ्नो माटोको कथा
आफ्नो माटो नचिनी, समुद्रको बगर चिनेको पुस्ता,
झलझली सपना देखेर पराईभूमि पुगेको वस्त्रहीन अस्तित्व,
जहाँ हरेक पाइला चिसो पत्थरजस्तै लाग्छ,
जहाँ हरेक झरीले मनभरि घाउ बनाउँछ।
जब बगरमा पछारिएर घुँडा टेक्दै फर्किन्छ,
तब आफ्नै माटो नौनीझैं कोमल लाग्छ,
र त तर्सन्छ, किन चिनेन समयमै
यो आफ्नोपनको गहिरो स्पर्श।
आलु रुखमा फल्छ भन्दै, कोरिया लागेको पुस्ता,
पराई धर्तीमा आलुका सपनाहरू हुर्काउन खोज्ने आत्मा,
भोटेको टनेलमा कुचुक्क भएको शरीर
एकाएक सम्झिन्छ,
टारीखेतको बुट्ट्यानभित्र लुकेको
आलुको मुनाको कथा।
अनि, महसुस गर्छ,
पराई भूमिमा उभिने सपनाभन्दा
आफ्नै बारीमा खनेको गोडमेल
कति सजीव, कति सन्तोषजनक।
पराईको शहरमा हिड्दै थाकेको यो पुस्ता,
प्लास्टिकका सपना बोक्ने झोला कति भारी,
अनि, आफ्नै आँगनमा
उम्रने फूलहरूको सुगन्ध कति हल्का।
चम्किने भित्ताहरू पछ्याउन,
कतिबेरसम्म भुल्न सक्छ यो मन
माटोको मिहिन सुगन्ध र
गाउँघरका पातपातको सान?
समुद्रको छेउमा बालुवाले
हराएको पहिचान खोज्दै गर्दा,
सम्झिन्छ एउटा पहाड,
जहाँ आफ्नो निःश्वार्थ पसिना बग्थ्यो,
जहाँ आकाशले
आफ्नोपनको छाती थापेर स्वागत गर्थ्यो।
अब त बुझ्नुपर्छ,
पराई भूमिको सपनाले
जीवनमा रङ भर्ने होइन,
त्यो त केवल एउटा भ्रमको पर्दा हो।
आफ्नो माटोको स्पर्श नै
जीवनको अर्थ हो, सास हो, जीवन्तता हो।
अझै समय छ,
टुक्रिएका सपनालाई जोड्ने,
आफ्नै माटोमा बिउ रोपेर
सुगन्धित भविष्य फुलाउने।
सम्झ, समुद्रको बगर कहिल्यै आफ्नो हुँदैन,
माटोको गन्ध मात्रै
सधैंभरि आत्मा सँगै बाँच्छ।