
श्रीमद्भागवत गीता परिचय
श्रीमद्भागवत गीताको विचार सरल, स्पष्ट र प्रभावकारी छ।तर गीतामा धेरैजसो उपनिषदका विचारहरू दोहोरिएको पाइन्छ।उपनिषद धेरै जटिल छ तर गीता धेरै सरल र विश्लेषणतात्मक छ।त्यसकारण यसलाई जोकोही सर्वसाधारणले सजिलैसँग बुझ्न सक्छन्।एक हिन्दु धार्मिक ग्रन्थ महाभारतको भीष्मवर्वमा संसारको र आध्यात्मको ज्ञान दिइएको छ।त्यसलाई नै श्रीमद्भागवत गीताको उपदेश भनिन्छ।लगभग ५ हजार वर्ष पहिलेको कुरा हो। धर्मलाई साथ दिने पाण्डव र अधर्मको साथ दिने कौरवहरूको बीचमा एक भयंकर युद्ध भएको थियो।यसलाई महाभारतको युद्ध भनिन्छ।
धर्मको रक्षा गर्नको लागि श्रीकृष्णले हतियार नउठाइकन पाण्डहरूको सारथी बनेर युद्धमा आफ्नो भूमिका निर्वाह गरेका थिए।यही महाभारतको युद्धको समयमा अर्जुनले आफ्ना गुरुजन, दाजुभाइ, आफन्तजनहरूसँग लडाइँ लड्नुपर्ने स्थिति सिर्जना भएकोले उनको मन विचलित भएको थियो।उनी के सोच्न लागे भने कसरी आफ्ना नातागोताहरू, आफन्तहरूसँग युद्ध गर्ने र उनीहरूमाथि प्रहार गर्ने।एकातिर कौरवहरू पाण्डवहरूको सबै कुरा हरण गर्न चाहन्थे भने अर्कोतिर पाण्डवहरू सत्यको विजय र आफ्नो अधिकारको लडाइँ लडिरहेका थिए।
श्रीकृष्ण सारथी बनेर धर्मको रक्षाको लागि अर्जुनलाई मार्गदर्शनको भूमिका खेल्दछन्।श्रीकृष्णले युद्धको समयमा विचलित अर्जुनलाई धर्म-अधर्म, माया-मोह र कर्मको ज्ञान दिन्छन्।त्यसपछि अर्जुनको भ्रम हट्दछ र उनी धर्म-मार्गमा हिड्नको लागि तयार हुन्छन्।श्रीकृष्णद्वारा दिइएको यही ज्ञानलाई नै श्रीमद्भागवत गीताको ज्ञान भनिन्छ।
भागवत गीतामा दर्शन छ।यसमा कुल ७२० श्लोक छन्।यो १८ अध्यायमा बाँडिएको छ। हिन्दु धर्ममा गीतालाई उपनिषद र धर्मसूत्रहरू समान मानिएको छ।जुन ज्ञान उपनिषदहरू र धर्मसूत्रहरूमा छ, त्यही ज्ञानलाई गीतामा अत्यन्तै सरल र सहज ढंगले बताइएको छ।गीतालाई साधारणभन्दा साधारण मान्छेले बुझ्न सक्दछ यद्यपि यसको मूल श्लोक भने संस्कृत भाषामा लेखिएको छ।तर यसको ठूला-ठूला विद्वानहरूले विभिन्न भाषामा अनुवाद गरेका छन्।
यसले जीवनका रहस्यहरूलाई उजागर गर्दछ।आत्मा, जीवन, कर्म, पुरुषार्थ जस्ता रहस्यमय कुराहरू यसमा उठाइएको छ।गीताले यो संसारलाई आध्यात्मिक र दार्शनिक तरीकाले हेर्न र बुझ्न सिकाउँदछ।जिन्दगी जिउन सिकाउँदछ।हामी प्रायः आफ्नो जीवन र उद्देश्यलाई लिएर कैयौं प्रश्नहरूमा अल्झिरहन्छौं तर गीतामा हामीलाई यी प्रश्नहरूको जवाफ धेरै राम्रोसँग पाउँदछौं।यो मानिसको लागि आवश्यक छ, चाहे ऊ जुनसुकै धर्ममा नै लागेको किन नहोस्।यसलाई हेर्ने, ग्रहण गर्ने, बुझ्ने तरीकाहरू दृष्टिकोण भने फरक-फरक हुनसक्दछन्।
गीताको उपदेशले आज पनि हाम्रो जीवनका रहस्यहरूलाई उजागर गर्दछ।अर्जुन जस्तै हरेक मानिस यो जीवनमा मायामोहमा परिरहन्छ र गीताले नै हामीलाई मायामोहको बन्धनबाट मुक्त हुने विचार दिन सक्दछ।स्वयंलाई चिन्ने अवसर प्रदान गर्दछ।यहाँ यही गीतालाई सरल ढंगले सारसंक्षेपमा बुझाउने प्रयास गरिएको छ।यो गीताले आध्यात्मवादी, भौतिकवादी र नास्तिकको लागि समेत ज्ञानआर्जनको दृष्टिले महत्त्वपूर्ण स्थान राख्दछ।यद्यपि यसलाई बुझ्ने र ग्रहण गर्ने कोण फरक-फरक अवश्य हुनेछन्। विश्वदृष्टिकोण फरक हुनसक्दछन्।यसलाई पाठकले केवल सन्दर्भसामग्री वा अध्ययनको एक विषवस्तुको रूपमा लिँदा उपयुक्त हुन्छ।यसबाट सम्पूर्णमा गीताभित्र के रहेछ भन्ने जिज्ञासा केही हदसम्म मेटिन सक्दछ।
तीन अंग अनुरूप गीतामा ज्ञानयोग, भक्तियोग र कर्मयोगको समन्वय भएको पाइन्छ।गीतामा ज्ञान, कर्म र भक्तिलाई मोक्षको मार्ग बताइएको छ। गीताको यो समन्वयात्मक प्रवृत्तिलाई महत्त्वपूर्ण रूपमा लिने गरेको पाइन्छ।हामी यी तीन योगहरूको बारेमा संक्षीप्त रूपमा यसरी बुझ्नेछौं –
कर्मयोग
गीताको प्रमुख उपदेशलाई कर्मयोग भन्ने गरिन्छ। यसको रचना नै निस्क्रिय र किंर्तव्यविमूढ अर्जुनलाई कर्मप्रति मोहित गराउने उद्देश्यले भएको हो।कर्मको अर्थ शुद्धाचरण हो।गीतामा सत्य प्राप्तिको लागि कर्म गर्ने कुरा गरिएको छ।असत्य र अधर्म प्राप्तिको लागि गरिने कर्मलाई सही कर्म भनिंदैन।अन्धविश्वास र अज्ञानतामा होइन बरु ज्ञान र विश्वासपूर्वक कर्म गर्नुपर्दछ।कर्मबाट विमुख हुनु महामूर्खता हो।हरेक व्यक्तिले फलको कुनै पनि अपेक्षा नगरीकन कर्मको लागि प्रयत्नशील हुनुपर्दछ।कर्मबाट प्राप्त हुने परिणामहरूमा चिन्तनशील रहीरहनु नै मानिसको सबभन्दा ठूलो दुर्बलता हो।कर्म गर्दा अशुभ परिणाम आउने आशंकाको कारणले नै मानिसले कर्म त्याग गर्दछ।त्यसकारण गीतामा निष्काम-कर्मलाई आफ्नो जीवनको आदर्श बनाउने निर्देशन दिइएको छ।जसले कर्मफल छोड्दछ त्यही नै वास्तविक त्यागी हो।निष्काम कर्मको शिक्षा गीताको अनमोल देन हो।
ज्ञानयोग
गीताको अनुसार मानिस अज्ञानताको कारणले नै बन्धनको अवस्थामा जकडिएको हुन्छ। अज्ञानताको अन्त ज्ञानबाट हुन्छ।गीताले तार्किक र आध्यात्मिक गरी दुईप्रकारका ज्ञानलाई मान्यता दिएको छ। तार्किक ज्ञानले वस्तुहरूको बाह्य रूपलाई हेरेर तिनीहरूको स्वरूपको चर्चा बुद्धिद्वारा गर्दछ। आध्यात्मिक ज्ञानले वस्तुहरूको आभासमा व्याप्त सत्यताको निरुपण गर्ने प्रयास गर्दछ।बौद्धिक अथवा तार्किक ज्ञानलाई विज्ञान र आध्यात्मिक ज्ञानलाई ज्ञान भनिन्छ। तार्किक ज्ञानमा ज्ञाता र ज्ञेयको द्वैत विद्यमान हुन्छ तर आध्यात्मिक ज्ञानमा ज्ञाता र ज्ञेयको द्वैत नष्ट हुन्छ।यो शास्त्रहरूको अध्ययनबाट हुने आत्मा-ज्ञान हो।ज्ञान प्राप्त गरेपछि मानिसले भेदभाव छोड्दछ।ज्ञान प्राप्तिको लागि मानिसले अभ्यास गर्नुपर्दछ। ज्ञान प्राप्त गर्न चाहने व्यक्तिले शरीर, मन र इन्द्रियलाई शुद्ध राख्नुपर्दछ।मन र इन्द्रियहरूलाई विषयबाट हटाउनुपर्दछ।यसबाट मनको चंचलता हट्दछ ।गीतामा ज्ञानको पुष्टिको लागि योगाभ्यासको आदेश दिइएको छ। ज्ञानबाट अमृत प्राप्ति हुन्छ। कर्मको अपवित्रताको नाश हुन्छ।आसक्तिरहित ज्ञान समान पवित्र यो संसारमा केही चीज पनि हुँदैन।
भक्तियोग
भक्ति योगले मानिसको संवेगात्मक पक्षलाई पुष्टि गर्दछ। भक्ति ज्ञान र कर्मभन्दा भिन्न छ। भक्तिको अर्थ समर्पण हो।भक्तिमार्ग सबैलाई खुला हुन्छ।भक्तिको माध्यमबाट जीवात्माले आफ्ना सबै खराब कर्मको फलको पनि क्षय गर्न सक्दछ।यो मार्ग अपनाउनको लागि भक्तमा नम्रता हुनुपर्दछ। भक्तिको लागि ऋद्धा हुनु आवश्यक हुन्छ। भक्तिबाट मनमा शुद्धता र चैतन्यको ज्ञान हुन्छ। भक्तिबाट प्रेम र प्रेमीको भेद नष्ट हुन्छ तथा दुवैको बीचमा ऐक्यबद्धता स्थापित हुनजान्छ।भक्त निरन्तर ध्यानमा तल्लीन हुन्छ त्यसकारण उसमा ज्ञानको प्रकाश आउँदछ। यसरी भक्तिबाट पूर्णताको प्राप्ति हुन्छ।
अध्याय अनुसार संक्षीप्तीकरण
पहिलो अध्याय – अजुर्न विषादयोग
रणभूमिमा अर्जुनले कौरव सेनालाई अगाडि देख्छन् । सेनामा उनका आफन्त, साथीभाइ, आफन्त, गुरुहरू, आदि उपस्थित छन्।अब उनीहरूसँग युद्ध लड्नुपर्ने हुन्थ्यो । म यिनीहरूलाई कसरी मार्न सक्छु भन्ने सोचेर अर्जुन शोक र ग्लानीले भरिन्छन्।त्यसकारण उनी आफ्नो धनुष तल राख्छन् र आफ्नो सारथी श्रीकृष्णितर हेरेर भन्दछन् – म कसरी मेरा आफ्नैहरूसँग युद्ध गर्न सक्छु ? यति भनिसकेपछि उनी असहाय मुद्रामा रथको आसनमा बस्छन्।
त्यसपछि श्रीकृष्ण भन्दछन् – हरेक व्यक्तिको मष्तिस्कमा भीषण अन्तर्द्वन्द्व चलिरहन्छ।एक पक्षमा कर्तव्य, धर्म, निष्ठा, नैतिकता, आदि छ भने अर्को पक्षमा अधर्म, स्नेह, मोह, आदि छ।हामीभित्र यिनै कारणहरूले गर्दा अन्तर्द्वन्द्व चलिरहेको हुन्छ। यी दुवै कुराहरू हामीभित्र नै पैदा भएका हुन्छन्।अन्तर्संघर्षको बेलामा मानिसको आत्मा कमजोर हुन्छ र उसले आफैलाई आफ्नो कमजोरीको कारणले फसाउँदछ। हामीभित्र अधर्म, अनैतिकता, मोहजाल बलियो भएपछि कर्तव्यबाट च्यूत हुने अनेक उपायहरूको रचना गर्न थाल्छौं।मोहले हामीलाई बन्धनमा पार्दछ। मानिसले जीवनयात्रामा दुइतिर विभाजन भएको बाटोमा नउभिएसम्म द्विविधाको मनस्थितिमा आउँदैन र उसले सही मार्ग चयन पनि गर्न सक्दैन।मानिस जीवनको अन्धकारमय मार्गबाट प्रकाशको खोजीमा शोककूल भएर भड्किरहेको हुन्छ। मानिसको हृदयमा महासंग्राम आफ्नो चरम सीमामा पुगेपछि उसमा विषादका अन्धकारमय भयंकर घटनाहरू मडारिन्छन् त्यसपछि कतैबाट प्रकाशको मार्ग विष्फोट भएर उसले सही मार्ग पत्ता लगाउँदछ। मानिसमा धर्म-अधर्म, उचित-अनुचित, मोह-कर्तव्य सँगसँगै हुन्छन्।यी सबैको महासंघर्षबाट उसले आफ्नो सही मार्ग चयन गर्नुपर्ने हुन्छ। सांसारिक मोहको कारण मानिस के गर्ने र के नगर्ने भन्ने द्विविधासँगै कर्त्वयच्यूत हुन्छ।त्यसकारण मोह वा सुख आसक्तिमा वशीभूत हुनु हुँदैन।
दोस्रो अध्याय – सांख्ययोग
श्रीकृष्णले अर्जुनलाई भन्दछन्, तिमी किन व्यर्थको चिन्ता गर्छौ ? कोसँग डराउँछौं ? डर त्यागिदेउ ।आत्मा अमर छ। त्यो न कहिल्यै पैदा हुन सक्दछ र न मर्न सक्दछ, केवल यो शरीर मात्र मर्छ।यो संसार र यहाँका मानिसहरू तिम्रो रचना होइनन्। तिमी किन उनीहरुको मायामा फसिरहेका छौं ? यिनीहरूलाई गुमाउँदा तिमी किन शोक गरिरहेका छौं ? यी सबै पहिले नै मरेका छन्। र, कैयौं पटक जन्मिइसकेका पनि छन्।तिमीले यो युद्ध केवल धर्मको रक्षाको लागि मात्र लड्नु पर्छ। यो एक क्षत्रीयको कर्तव्य हो।यति कुरा सुनिसकेपछी अर्जुनले श्रीकृष्णलाई भन्छन्, मेरो मनमा अझै धेरै शंकाहरू छन्, यसलाई हटाउनको लागि सबै कुरा विस्तारमा भन्नुहोस्।
सांख्य मार्ग तथा योगमार्ग भन्ने अर्थ सांख्य योगको हुन्छ।युक्तिपूर्वक बुझाउने मार्ग सांख्य मार्ग हो।प्रकृति र पुरूष अलग-अलग भए झै देह र देही तथा आत्मा र शरीर पनि फरक-फरक हुन्।आत्मा अमर र अविनासी छ तथा शरीर विनाशशील र मरणशील छ।जसरी हामी पुरानो वस्त्र त्यागेर नयाँ पहिरिन्छौं त्यसैगरी आत्माले पनि पुरानो शरीर छोडेर अर्को नवीन शरीर धारण गर्दछ।आत्मालाई न अग्नीले जलाउँदछ, न पानीले पखाल्दछ, न वायुले नै केही असर गर्दछ। आत्मा अभेद्य, अदाह्म, अक्लेद्य र अशोष्य छ।त्यसकारण यो मर्नेछ भनेर सोच्नु र शोकमग्न हुनु युक्तिसंगत छैन।जे उत्पन्न हुन्छ त्यसको अन्त्य वा मरण अनिवार्य हुन्छ।यसबाट कोही पनि बच्न सक्दैन भने शरीरको अन्त्य हुँदा रूनु-कराउनु केही आवश्यक छैन।
आत्मा अमर छ, यसलाई कसैले नष्ट गर्न सक्दैन तर शरीर मरणशील भएकोले यसलाई कसैले पनि बचाउन सक्दैन।निश्चित समयमा यसको अन्त्य अपरिहार्य छ।प्रत्येक मनिसको आफ्नै प्रकृति र स्वभाव हुन्छ, त्यो उसको धर्म हो।त्यसकारण आफ्नो प्रकृति अनुसार मानिसले आफ्नो कर्म पनि गर्दछ।प्रत्येक मानिसले आफ्नो स्वधर्मको पालन गर्नुपर्दछ।यसको क्षेत्रमा रहेर काम गर्नु नै मानिसको कर्तव्य हो।मानव जीवनको समस्याको समाधान कर्मकाण्ड, भोगवाद र फल भोग्ने कामनाबाट हुँदैन।यसको समाधान कर्मयोगबाट हुन्छ।कर्मयोगबाट हामी निराशामुक्त भएर आशाकव जगतमा उभिन सक्दछौं।यसले कमजोरलाई बलियो, भयग्रस्तलाई सहासी, कर्मसन्यासीलाई कर्मयोगी बनाइदिन्छ।
यदि मानिसले फलप्राप्तिको आसक्ति छोड्ने हो भने उसलाई सुख र दुःख दुवै हुँदैन।उसमा समभाव पैदा हुन्छ।हामीलाई कर्मको फल नै प्राप्त हुँदैन भने फलप्रति आसक्ति छोड्दा हामीलाई केको दुःख हुन्छ।संसारमा विषयहरू निकै नै प्रबल रहेका छन्।यी विषयहरूलाई हेरेर हाम्रो इन्द्रियहरूले आफूलाई वशमा राख्न सक्दैनन्।मानिसले जतिसुकै बल गरेपनि विषयतर्फ आकर्षित भइहाल्छ।विषयभोगले मनमा क्षणिक शान्ति पैदा हुन्छ तर यो स्थायी हुँदैन।तर हामीलाई क्षणिक शान्ति होइन, चिरशान्ति आवश्यक हुन्छ। मानिसले मनमा पैदा हुने सम्पूर्ण कामनाहरूलाई त्यागेपछि विषयहरूमा शान्ति खोज्ने आत्मामा स्थित हुन्छ।त्यसपछि सुखमा सीमाबाहिर हुँदैन, दुःखमा निराशा पैदा हुँदैन।त्यसपछि उसलाई शान्ति प्राप्त हुन्छ। कामनाको परित्याग एक जटिल कार्य हो।
विषयहरूको समृतिले हामीलाई व्याकुल र अशान्त बनाइरहन्छ।तर हामी बहिर्मुखीबाट अन्तर्मुखी भएपछि विषयहरूबाट मिल्ने कुराभन्दा विशिष्ट र मीठो परब्रम्हको रसको अनुभूति हुन्छ।यसको सामु संसारका सबै कुराहरू निकृष्ट हुनेछन् र त्यसपछि हाम्रो चित्त शान्त हुन्छ, हामी भड्किदैनौं, हामी समुद्र जस्तै शान्त हुन्छौं।स्थित-प्रज्ञको रूप पनि यही हो।मनको अचल, स्थिर, सम अवस्था नै योगको अवस्था हो।यसलाई नै ब्राह्मीस्थिति र स्थितिप्रज्ञता भनिन्छ। शरीर नाशवान छ ।
तेस्रो अध्याय – कर्मयोग
श्रीकृष्ण भन्दछन् – हे अर्जुन यस संसारमा सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। तर फलको आशा गर्नुहुँदैन।कुनै पनि कुरामा आसक्त नभइकन निरन्तर आफ्नो काम गर्नुपर्छ ।वर्तमानमा कर्ममा ध्यान दिनुपर्दछ, तब मात्र जीवनमा सुख मिल्दछ। त्यो कर्म धर्मअनुसार गर्नुपर्छ।जो आफ्नो कर्मप्रति समर्पित रहन्छ, आफ्नो कार्य राम्रोसँग पूरा गर्दछ। ऊ जीवनमा सफल हुन्छ।कर्म प्रकृतिले गराउँदछ, कर्म नै पुरूषार्थ हो। यदि तिमीले युद्ध लडेनौं भने पनि त्यो एउटा कर्म नै हुनेछ। तर यसले पृथ्वीमा खराब मानिसहरूको संख्या बढ्नेछ। जसको कारणले पाप फैलिनेछ।त्यसैले तिमीले आफ्नो मोह त्यागेर युद्ध गर्नुपर्दछ। यो तिम्रो कर्म हो।
सांख्य योग तथा कर्मयोगको मार्ग कर्मसन्यासको मार्ग हो।यो संसारबाट निवृत्तिको मार्ग हो।यो ज्ञानको मार्ग हो।यसबाट स्थितिप्रज्ञ हुन्छ, समाधिस्थ हुन्छ।जुन कुरालाई हामी मृत्यु भन्छौ त्यो त केवल चोला परिवर्तन मात्र हो।मानिस आफ्नो स्वभाव र पकृतिको पछाडि हिडिरहेको हुन्छ।कर्मयोग भनेको कर्म गर्नु मात्र होइन।कर्म त सबैले अनिवार्य रूपमा गर्नैपर्दछ।हाम्रो चाहना नभए पनि प्रकृतिले हामीलाई निरन्तर कर्म गराइरहेको हुन्छ।
कर्म नगर्नेहरूले विषयहरूको रस लिन थाल्छन् तर यो मिथ्याचार हो।त्यसकारण खास कर्मयोग भनेको कर्म गर्नु मात्र नभएर अनाशक्त भइ कर्म गर्नु हो। अनाशक्त कर्म, निष्काम कर्म, निष्फल कर्म नै कर्मयोग हो।संसारको चक्र निष्कामतालाई लिएर नै अगाडि बढिरहेको हुन्छ।निष्कामताको ठाउँमा सकामता प्रवेश गर्र्यो भने संसारको चक्र अलिकति पनि अगाडि बढ्न सक्दैन।सृष्टिको प्रक्रिया स्वार्थमा चलेको हुँदैन, स्वार्थ त्यागेर निष्कामताबाट मात्र यो निरन्तर अगाडि बढिरहन सक्छ। निष्कामभावपूर्वक केवल अन्यको हितको लागि आफ्नो कर्त्वयको तत्परतापूर्वक पालन गरेपछि मात्र कल्याण हुन्छ।
चौथो अध्याय – ज्ञान–कर्म–सन्यासयोग
यस अध्यायमा भगवान श्रीकृष्णले गीताको पौराणिक इतिहास बताएका छन्। सबैभन्दा पहिले उनले गीताको ज्ञान सूर्य (विवसावन) लाई दिएका थिए।त्यसपछि उनले आफ्ना चेलाहरूलाई दिए र त्यसरी नै यो क्रम अगाडि बढिरह्यो।श्री कृष्ण भन्दछन् – जब- जब धर्म नष्ट हुन्छ, तब उनी अवतार लिन्छन्। पापीहरूलाई सजाय दिनेछन्। तर जो उनीप्रति समर्पित हुन्छन्, उनले तिनीहरूको रक्षा गर्छन्।यो युद्ध उनीद्वारा नै रचिएको हो, ताकि पापीहरूलाई दण्डित गर्न सकियोस्।परम शान्ति प्राप्त गर्नको लागि जो मानिसले आफ्ना इन्द्रियहरूलाई संयम राख्दछन् र साधना गर्दछन्, उनीहरू आफ्नो तत्परताबाट ज्ञान प्राप्त गर्दछन्।ज्ञान प्राप्त भएपछि परमशान्ति प्राप्त हुन्छ।व्यक्तिको मन भट्किँदैन।
धर्मप्रति क्षीणता भएपछि अधर्मले टाउको उठाउन थाल्छ र साधुसन्त, माहात्माहरूप्रति दुर्व्यवहार हुन्छ, त्यसपछि खराब मानिसहरूको हावी हुनजान्छ त्यसपछि धर्मको राज्य स्थापनार्थ महान व्यक्तिले अवतार लिन्छन्।अवतार भनेको अतिमानस कुनै व्यक्तिमा प्रकट हुने कुरा हो।त्यसले सम्पूर्ण मानव समाजलाई मानव चेतनाबाट माथि उठाएर अतिमानस चेतनामा लैजान्छ। कुनै पनि व्यक्तिमा अतिमानस प्रकट भएपछि उसको जीवनलाई दिव्य जीवन भनिन्छ र त्यसलाई नै अवतार भनिन्छ।यसले अधर्म र दुष्टहरूको नाश गर्दै धर्म र साधुसन्त तथा सच्चा मानिसको रक्षा गर्दछ।कर्मको रहस्य अत्यन्तै रहस्यात्मक छ।जसले कर्ममा अकर्म र अर्कममा कर्म देख्छ, उसले नै कर्मको रहस्यलाई बुझेको हुन्छ।
कर्म भनेको स्वधर्म हो।ज्ञानी मानिसले निरन्तर कर्म गरिरहेको हुन्छ।यो उसको प्रकृतिको अंश नै हुन्छ।कर्मको रहस्यलाई बुझ्नको लागि कर्ममा अकर्मलाई र अर्कममा कर्मलाई देख्नुपर्दछ।जसरी संसारभरिका कर्म गरेर पनि सम्पूर्ण कर्म पग्लिएर बग्छ, त्यो नै कर्मको अकर्म हुनु हो।कर्मबन्धनबाट छुटकारा पाउने दुई उपाय छन् – कर्मका तत्वहरूलाई जानेर निस्वार्थ भावले कर्म गर्नु र तत्त्वज्ञानको अनुभव गर्नु।
पाँचौ अध्याय – कर्मसन्यास योग
श्रीकृष्ण भन्दछन् – सन्यास भनेको सांसारिक कुराबाट अलग भएर उपासना, ध्यान गर्नु हो।तर सबैले सन्यास लिन जंगल जानु पर्दैन।कर्तव्य पालन गर्दा भौतिक सुखको मोहमा परे पनि परमात्मा प्राप्त हुन्छ । माया-मोहको त्याग गर्नु, कर्मलाई स्वीकार गर्नु, काम, क्रोध, लोभ, मोहको त्याग गर्नु नै मानवको परम कर्तव्य हो।
कर्मयोगबाट कर्म र ज्ञानयोगबाट अनासक्ति पैदा हुन्छ। कर्म र अनासक्ति मिलेर कर्म अनासक्तिको जन्म हुन्छ, जसलाई निष्काम-कर्म भनिन्छ र यसको अर्थ ज्ञानयोग र कर्मयोगको समन्वय हुन्छ। ज्ञान तथा कर्म र सांख्य तथा योग यी दुवै मार्ग एक-अर्काको विरुद्ध हुँदैनन्।दुवै मार्गबाट हिड्दा पनि हामी निश्चित लक्ष्यसम्म पुग्न सक्छौ।यद्यपि यीमध्ये कर्म मार्ग सरल छ भने ज्ञान मार्ग जटिल।यसकारण निष्काम कर्म नै कर्मयोग हो।कर्मयोगको रहस्य भनेको कर्म नगरेर पनि कर्म हुन्छ र गरेर पनि कर्म नगरेको भान हुन्छ।तर पनि कर्म गरिरहनु सांख्य मार्ग हो।गर्छु भनेर पनि नगर्नु योगमार्ग हो।गरेर नगर्नुको अर्थ अत्यन्तै महत्त्वपूर्ण हुन्छ।
कर्म त अनिवार्य रूपमा गर्नै पर्दछ तर कर्म गरेपनि नगरेजस्तै हुने कुरा महत्त्वपूर्ण छ। अर्थात् कर्म गर्नु = योगमार्ग र नगरे जस्तै हुनु = सांख्य मार्ग।त्यसकारण कर्म गर्नुपर्दछ तर त्यो कर्म यस्तो हुनुपर्दछ कि जुन नगरेजस्तै होस्।जसले केही नगरेर नै सबै कुरा गर्छ त्यसलाई सांख्यमार्गी, ज्ञानयोगी र सन्यासी भनिन्छ।यस्ता व्यक्तिमा बाह्य रूपमा कर्मको त्याग गरेको देखिन्छ तर अन्तर्वस्तुगत रूपमा उसमा कर्मले भरिपूर्ण हुन्छ र उसमा असीमित स्फूर्ति पैदा भइरहेको हुन्छ।यस्ता व्यक्ति निर्विकार हुन्छन्।उनीहरूले सदैव अरूमा प्रकाश छरिरहन्छन्, जसको कारणबाट सबैलाई स्फूर्ति मिलिरहन्छ।यसप्रकार जसले सबै कुरा गरेर पनि केही नगर्ने नै योगमार्गी, कर्मयोगी र निष्कामकर्मी हो।
ज्ञानयोगको बाह्य रूप अर्कम हो भने आन्तरिक रूप कर्म हो।त्यसैगरी कर्मयोगीको बाह्य रूप कर्म र आन्तरिक रूप अकर्म।सिद्धयोगीको लागि ज्ञानयो, सांख्यमार्ग वा सन्यास संभव हुन्छ तर साधकक लागि केवल कर्मयोग नै व्यवहारिक र संभव हुन्छ।मानिसले अनुकूल र प्रतिकूल परिस्थिति सृजना हुँदा सुखी र दुःखी हुनुहुँदैन। किनभने परिस्थितिप्रदत्त चीजबाट सुखी र दुःखी हुने मानिस संसारमा उच्च शिर गरेर परमानन्दको अनुभव गर्न सक्दैन।
छैठौं अध्याय – ध्यानयोग
ध्यान गर्दा मानिसले आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्छ। सबै बाहिरी कुराबाट ध्यान हटाएर मात्र ध्यान गर्नुपर्छ।निरन्तर अभ्यासपूर्वक ध्यान गर्ने योगी बन्छ।उसलाई वास्तविक सुख प्राप्त हुन थाल्छ।उसलाई कुनै कुराको पनि चिन्ता वा डर हुनेछैन। ऊ निरन्जन-निराकारमा समर्पित हुन्छ।जो मानिस सर्वव्यापी, कलेपनीय, निराकार, अविनासी, अचल, स्थिर स्वरूपको उपासना गर्दछ र आफ्नो सबै इन्द्रियहरूलाई वसमा राखेर सबै परिस्थितिहरूमा समान भावले सबै प्राणीहरूको हितमा लागिरहन्छ, उसलाई परमसुख प्राप्त हुन्छ।ध्यानको अन्तिम अवस्था समाधि हो। यस अवस्थामा पुगेपछि योगीलाई सबै कुराको दर्शन हुन्छ।
कर्मको साधना ध्यान, भक्ति, आत्मा-अनात्माको विवेक, आदि विकर्मबाट हुन्छ। ध्यानको माध्यमबाट कार्यशक्ति उत्पन्न हुन्छ र शक्तिबाट कर्ममा तीव्रता आउँछ।कर्मयोगको अर्थ फलको आसक्ति छोड्नु हो।तर फलको आसक्ति छोड्ने कुरा सजिलो छैन।जबसमम्म इन्द्रियहरू विषय वरिपरि हराइरहन्छन्, विषयहरूमा भुलिरहन्छन्, तिनीहरूको रसपान गरिरहन्छन् तबसम्म आसक्ति अन्त्य हुँदैन।त्यसकारण यसले हामीलाई निरन्तर फलको प्राप्तिमा लोभ्याइरहन्छ।त्यसकारण इन्द्रिय-दासताबाट मुक्त भएर माथि उठ्नुपर्दछ। चित्तलाई एकाग्र बनाउनुपर्दछ।एकान्त, शुद्ध, पवित्र ठाउँमा ढाड, टाउको र गलालाई सीधा राखेर नाकको अगाडि दृष्टि लाएर कतै नहेरी चित्तमनमा रमाउँदै ध्यान गर्नुपर्दछ।
आसक्तिलाई छुटाउनु, निष्काम कर्म गर्नु ध्यानको उद्देश्य हो।यो चित्तको एकाग्रता हो र यसलाई युक्त भनिन्छ।एकाग्रताले रस र आसक्तिबाट छुटकारा दिलाउँदछ।यसपछि जीवनमा संयम आउँदछ।जीवनका सम्पूर्ण क्रियाकलापलाई नापजोख गरेर गर्ने र सबै इन्द्रियहरूलाई वशमा राख्ने कार्यलाई संयमता भनिन्छ।समदृष्टि ध्यानयोगको साधन हो। समदृष्टिबाट ध्यान हुन्छ र अनासक्ति हुन्छ।जो व्यक्तिले सबैलाई आफूमा र आफूलाई सबैमा देख्छ, सुखदुःख जो समान अवस्थामा रहन्छ त्यही नै समदृष्टि भएको परम श्रेष्ठ योगी हो।चित्तको एकाग्रता, संयम र समत्व नै ध्यानका लागि आवश्यक चीजहरू हुन्।अभ्यास तथा त्यागबाट एकाग्रता, संयमता र समभाव हुनसक्छ।त्यसपछि श्रद्धाभाव पैदा हुन्छ।कुनै पनि साधनबाट अन्तःकरमा समता आउनुपर्दछ।समता नआइकन मानिस सर्वथा निर्विकार हुन सक्दैन।
सातौं अध्याय – ध्यान–विज्ञान–योग
जो व्यक्ति ज्ञान चाहन्छ, उसले शरीर, मन र इन्द्रियहरूलाई शुद्ध राख्नुपर्दछ। इन्द्रिय र मन स्वभावैले चंचल हुन्छन्, परिणामस्वरूप तिनीहरू विषयप्रति आसक्त हुन्छन्। त्यसकारण मन प्रदुषित हुन्छ, कर्मको कारण अपवित्र हुन्छ। यद मन र इन्द्रिय शुद्ध भएन भने साधकले परमात्मा भेट्न सक्दैन। मन र इन्द्रियलाई विषयबाट हटाई एकाग्र गर्नुपर्दछ।यस कर्मको फलस्वरूप मनको चंचलता नष्ट भएर आराधनामा व्यस्त हुन्छ ।जब साधकलाई ज्ञान हुन्छ, तब आत्मा र परमात्माको सम्बन्ध पहिचान हुन्छ।उसले आत्मालाई बुझ्न थाल्छ।श्रीकृष्ण भन्दछन् – सूर्य, पृथ्वी, ग्रह, नक्षत्र, ज्ञान, विज्ञान, इन्द्रिय, सुख-दुःख, पाप-पुण्य, आदि सबै उनकै देन हुन्।जसले यो कुरालाई ज्ञानद्वारा बुझ्छन्, उनीहरू भक्त बन्छन्। जबकि शंका गर्नेहरू संसारका भौतिक वस्तुहरूमा समर्पित हुन्छन्। र, यही नै उनीहरुको दुःखको कारण बनिरहन्छ । तिनीहरूले कहिल्यै मोक्ष प्राप्त गर्दैनन् र मृत्युलोकमा बारम्बार जन्म लिनु पर्छ र सांसारिक दु:ख भोग्नुपर्छ।
सम्पूर्ण जीवन यज्ञमय हुन्छ। उत्सर्ग गर्नु, सम्पूर्ण कुरा समर्पण गर्नु, निष्फल कर्म गर्नु यज्ञ हो।कर्मको पूर्णता यज्ञमा हुन्छ भने यज्ञको पूर्णता भक्तिमा हुन्छ।पृथ्वी, तेज, जल, वायु, आकाश, मन, बुद्धि, अहंकार – यी ब्रम्हका अपरा-प्रकृति हुन्।यो परिवर्तनशील प्रकृति अन्तर्गत पर्दछ। यो भन्दा पर अपरिवर्तनशील, अचल, सत्-चित्-आनन्द रूपको जुन प्रकृति छ, त्यसलाई परा-प्रकृति भनिन्छ।जीव ब्रम्हको अपरा-प्रकृतिमा हुने भएकोले उसले प्रकृतिको सत-रज-तम गुणहरूमा संचालित कर्मलाई आफ्नो ठान्छ।जीवले अपराप्रकृतिसँग होइन पराप्रकृतिसँग एकात्मकता स्थापित गर्नुपर्दछ।ब्रमको पराप्रकृतिसँग एकात्मकताको अर्थ भक्ति हो।
आठौं अध्याय – पर–ब्रम्ह–योग
जीवनभरीका संस्कारहरूको निष्कर्ष अन्तिम समयको संस्कार हुन्छ।अन्तिम समयको शुभ संस्कारलाई शुक्ल पक्षको, दिनको सूर्यको उत्तरायणको संस्कार भनिन्छ।र, अशुभ संस्कारलाई कृष्ण पक्षको, रातको, चन्द्रको दक्षिणायन संस्कार भनिन्छ। शुभ संस्कारबाट मोक्ष प्राप्त हुन्छ भने अशुभबाट जन्म-मृत्युको चक्र प्राप्त हुन्छ।अन्तिम समयको संस्कार अभ्यासबाट हुन्छ। भक्तिमार्ग नै त्यो अभ्यास हो।ब्रम्हको दिन हुँदा संसार प्रकट हुन्छ र रात हुँदा विलीन हुन्छ।युगको अर्थ दिव्ययुग हो अर्थात् सत्य, त्रेता, द्वापर, कलियुको सम्मिलित समय।दिव्ययुगलाई महायुग वा चतुर्युग पनि भनिन्छ। संसारमा नित्य रूपमा चलिरहने शुक्ल गति वा शुभ कर्म र कृष्ण गति वा अशुभ कर्मको मार्गबाट यहाँका प्राणीहरू चलिरहेका हुन्छन्।राम्रो कर्म गर्नेहरूले ब्रम्हत्व प्राप्त गर्दछन् भने खराब कर्म गर्नेहरू मृत्युलोकमै फसिरहन्छन्।
यस अध्यायमा श्रीकृष्णले अर्जुनलाई ब्रह्म र आत्मा, आदिको बारेमा बताएका छन्।उनी भन्दछन् – म आफै ब्रह्मा हुँ र मानिसको आत्मा पनि परमात्माको अंश भएकोले मानिस पनि ब्रह्म हो।मानिसले यी कुराहरू जान्न सक्दैन किनभने उसको बुद्धिलाई भ्रमको पर्दाले ढाकेको हुन्छ।सबै देवीदेवताहरू परमब्रम्हले नै बनाएका हुन्।श्रीकृष्णको पूजा गर्नु नै परमब्रम्हको पूजा गर्नु हो। मृत्युको समयमा परमब्रम्हको ध्यान गर्ने र आराधना गर्नेहरूलाई मोक्ष प्राप्त हुन्छ।
नवौं अध्याय – राजविद्या–राजगुह्य योग
ब्रम्ह नै सबै चराचर रूपमा प्रकट भइरहन्छन्।ब्रम्ह नै यज्ञ, स्वाहा, स्वधा, श्रद्धा, तर्पण हुन्।माता, पिता, बाजे, बजै उनै हुन्।हर्ता, कर्ता, भर्ता, साक्षी, निवास, शरण, सुहृद, उत्पत्ति, स्थिति, प्रलय, सबैको बीच – सर्बथोक उनै हुन्।ऋग-यजु-साम-अर्थव र ॐ पनि उनै हुन्।यी सबै प्रत्यक्ष ब्रम्म हुन्।उनी जति प्रत्यक्ष छन् त्यति अदृश्य पनि छन्।राजविद्याबाट नै राजयोग आउँदछ। कर्मयोग तथा भक्तियोगको सुमधुर सम्मिलन नै राजयोग हो।कर्मयोग भनेको निष्फल कर्म हो।कर्म फलको वासना चित्तलाई नछुनेगरी गर्नुपर्दछ।भक्तियोगको अर्थ समर्पण हो। कर्म योगले कर्म गर फलको आश नगर भन्छ भने भक्तियोगले कर्मयोगको फल नछोड, बरु त्यसलाई समर्पण गर भन्छ।यसरी राजयोगमा कर्मयोग तथा भक्तियोगको मिलन हुन्छ।
दसौं अध्याय – विभूति योग
भूति भनेको हुनु, सुख, विजय, धन, ऐश्वर्य, महत्व, आदि हुन्छ भने विभूतिको अर्थ विशेष रूपमा हुनु, विशेष सुख, विशिष्ट धन, महाविजय, विशेष ऐश्वर्य, विशेष महत्त्व, विलक्षण शक्ति, आदि हुन्छ। ब्रम्हको भूति अर्थात् सत्ता कण-कणमा भए पनि मानिसले त्यसको विशिष्ट प्रभाव केही पदार्थमा मात्र पाउँदछ तिनीहरूलाई नै विभूति भनिन्छ।सारा संसारमा उचाइ र यसको अन्त्य छ, गहिराइ र यसको अन्त्य छ, विस्तार र यसको पनि अन्त्य छ त्यसैगरी प्रकाश र यसको पनि अन्त्य छ।यी सबै ठाउँमा विभूति छ।भौतिक गुणहरू जस्तै मानसिक र आध्यात्मिक गुणहरूमा पनि अन्त्य हुन्छ।यी सबै गुणहरूमा जहाँ अन्त्य छ त्यहाँ विभूत हुन्छ।यसैलाई नै विभूतिको तात्विक अर्थ भनिन्छ।
एघारौं अध्याय – विश्वरूप–दर्शन–योग
यस अध्यायमा श्रीकृष्णले अर्जुनलाई आफ्नो विराट (विश्व रूप) रूपको दर्शन गराउँदछन्। अर्जुनले उनको रूप तीनै लोकमा फैलिएको देख्छन्। सारा ब्रह्माण्डमा उनको छवि रहेको छ।उनका चार हात छन् अनगिन्ती टाउकाहरू छन्। केही टाउका एकदमै डरलाग्दा र केही एकदमै सौम्य छन्। कतिपय मुखबाट आगो, पानी आदि निस्किरहेका छन् । प्राणीहरू उनकै एकातिरबाट जन्म लिएर पृथ्वीतिर आउँदैछन् र अर्कोतिर मृत्युको मुखमा परिरहेका छन् ।जन्म र मृत्यु दुवै भइरहेको हुन्छ। यो सबै देखेर अर्जुन छक्क पर्छन् र श्रद्धापूर्वक उनको चरणमा निहुरिन्छन्।
बाह्य दृष्टि र अन्तर-दृष्टि गरी दृष्टि दुइप्रकारका हुन्छन्।यसलाई चर्म-चक्षु र दिव्य-चक्षु पनि भनिन्छ। बाह्य दृष्टिबाट हामी वर्ण-संसारलाई मात्र देख्न सक्छौं तर एकत्व सूत्र, प्रकृतिको सम्पूर्ण रूप देख्दैनौं अर्थात् प्रकृति पर केही देख्न सकिंदैन।अन्तरदृष्टि वा दिव्य चक्षुबाट विश्वको एकताको सूत्र, प्रकृति परको चीज देख्दछौं।भेदमय संसारमा हामी अभेदक तत्व देख्दछौं।यसैलाई दिव्य दृष्टि भनिन्छ।संसार देश र कालमा विस्तारित छ। देश र काललाई हटाउने हो भने अगाडि-पछाडि, टाढा-नजिक, आज-भोलि सारा संसार एकै ठाउँमा समेटिन्छ।यसपछि दिव्य दृष्टि प्राप्त हुन्छ र यसबाट सारा संसार एकैपटक देख्न सकिन्छ।
बाह्रौं अध्याय – भक्ति–योग
श्रीकृष्ण भन्दछन् – सबैभन्दा ठूलो योग भक्ति योग हो। यदि कसैले ठूला-ठूला वेद-पुराण पढ्न सक्दैनन्, यज्ञ-हवन-तपस्या गर्न सक्दैनन् भने उसले भक्तियोगको सहारा लिनुपर्छ।मानिसले आफ्नो प्रेममा मग्न भएर भक्ति गर्नुपर्छ। चिन्तन-मनन गर्नुपर्दछ।ध्यान र प्रशंसा गर्नुपर्छ तथा समर्पित हुनुपर्दछ।यस्ता भक्तहरू अति प्रिय हुन्छन्।
सगुण र निर्गुणको उपासनामा सगुण सरल र सुलभ हुन्छ भने निर्गुण कठिन र दुर्लभ हुन्छ।सगुण उपासनामा भक्तिमार्गबाट हिडिन्छ भने निर्गुण उपासनामा ज्ञानमार्गको बाटो हिडिन्छ तर जाने ठाउँ एउटै हो।यिनीहरूमा पहिलो ज्ञानमार्गबाट हिड्दा थकान, कष्ट, अभाव, असुविधा, दुःख, आदि महसुस हुन्छ भने दोस्रो भक्तिमार्गबाट हिँड्दा आनन्द मात्र हुन्छ। भक्तिको मार्ग सगुण उपासनाको मार्ग हो भने ज्ञानमार्ग निर्गुण उपासनाको मार्ग हो।कर्म र ज्ञानलाई फरक गर्न सकिंदैन।कर्म बिना ज्ञान अधुरो हुन्छ भने ज्ञान बिना कर्म पनि अधुरो हुन्छ।कर्म र ज्ञानको एकाकार रूप नै भक्ति हो।
तेह्रौं अध्याय – क्षेत्र–क्षेत्रज्ञ–विभाग–योग
जुन व्यक्तिले शरीर, आत्मा, परमात्मा र ज्ञानका रहस्यहरूलाई बुझ्छ, त्यो संसारका बन्धनहरूबाट मुक्त हुन्छ।आत्मामा नै परमात्माको बास हुन्छ। किनभने त्यो त्यसकै हिस्सा हो। तर अज्ञानताको कारणले मानिसले त्यसलाई बुझ्न सक्दैन। त्यसैले पहिले ज्ञान प्राप्त गर्नुपर्छ।ज्ञानको उद्देश्य परमात्मालाई बुझ्नु हो। तर यसका लागि मानिस सद्गुणी बन्नु पर्छ। नत्र उसमा अहङ्कार हुनेछ। तब उसले यो रहस्य बुझ्न सक्नेछैन। र, उसले आफैंमा परमात्मालाई पनि पाउन सक्दैन।
क्षेत्रज्ञ न सत्य छ र न असत्य, न निर्गुण र न गुणभोक्ता, न भित्र छ न बाहिर, न अचर छ न चर, न टाढा छ न नजिक, न विभक्त छ र न अविभक्त नै।शरीर र आत्मालाई फरक बुझ्नु यो पृथक्करणको सहायक महान पृथ्ककरण हो। आँखाले देखिने रूपलाई मूर्ति, आकार, देह, शरीर भनिन्छ।यो देहभित्र पृथक एक तत्व हुन्छ, जसलाई आत्मा भनिन्छ। शरीर केवल फलको बोक्रा हो।बाहिरी शरीर र भित्री आत्मा गरी प्रत्येक वस्तुको दोहोरो रूप हुन्छ।कर्ममा पनि बाहिरी फल शरीर हो भने कर्मको कारणले हुने चित्तशुद्धि कर्मको आत्मा हो।
चौधौं अध्याय – गुणत्र्य–विभाग–योग
यस अध्यायमा श्रीकृष्णले तीन गुणहरूको बारेमा बताएका छन्। यी तीन गुण हुन् – सात्विक, तामसिक र राजसिक।सात्विक मानिसहरू शाकाहारी भोजन गर्छन्, साधारण लुगा लगाउँछन्, बोलीमा नरम हुन्छन् र भक्त हुन्छन् । तिनीहरूले मृत्यु पछि मोक्ष प्राप्त गर्छन्।तामसिक प्रवृत्ति भएका मानिसहरू मांसाहारी खाना खान्छन्, फोहोर लुगा लगाउँछन्, हिंस्रक हुन्छन् र भक्ति गर्दैनन्। मृत्युपछि नर्क भोग्छन् ।राजस्विक मानिसहरू भोग र विलासमा रुचि राख्छन्, उनीहरूमा दुवै गुण हुन्छन्।उनीहरूलाई मरेपछि कर्म अनुसार स्वर्ग र नर्क दुवै प्राप्त हुन्छ।
सबै पदार्थहरूको गुण निरीक्षण गर्दा यिनीहरूलाई सत्व, रज र तम गरी तीन विभेद गरिन्छ।पदार्थहरु स्वभावतः दुई अवस्थाहरूमा देखिन्छ – पहिलो शुद्ध, निर्मल वा पूर्ण अवस्था र दोस्रो निकृष्टावस्था।तर यसको साथसाथै निकृष्टावस्थामा पूर्णावस्थातर्फ अगाडि बढ्ने पदार्थको प्रवृत्ति देखिन्छ त्यसैलाई पदार्थको तेस्रो रूप भनिन्छ।यी तीनै अवस्थामध्ये शुद्धाअवस्था वा पूर्णाअवस्थालाई सात्विक, निकृष्टाअवस्थालाई तामसिक र एक अवस्थाबाट अर्को अवस्थामा जानेलाई राजसिक अवस्था भनिन्छ।प्रकृतिको एकतत्व भएर पनि सत्व-रज-तमको गुण रहनेलाई तेस्रो सिद्धान्त भनिन्छ।तीनवटै गुण एकसमान भएपछि प्रकृतिको साम्यावस्था हुन्छ।सृष्टिको प्रारम्भ र अन्त्यमा तीनवटै गुणहरूको साम्यावस्था हुन्छ।सृष्टिको कालमा यी तीनमध्ये कुनै एक गुण प्रबल हुन्छ र अरु दुई निर्बल हुन्छन्।
पिण्डमा सत्वगुण हावी भएपछि अन्तःकरणमा ज्ञान उदय हुन्छ, त्यपछि सत्य उदघाटित हुन्छ, चित्त शान्त हुन्छ। ब्रम्हाण्ड सत्वगुण हावी भएपछि संसारमा शान्तिको राज्य हुन्छ, प्रेम र सहानुभूति सर्वत्र हुन्छ।त्यसैगरी पिण्डमा रजोगुण हावी भएपछि अन्तस्करणमा लोभ उत्पन्न हुन्छ, तृष्णा जाग्दछ र अनेकौं कामवासनामा निर्लिप्त हुन थालिन्छ।ब्रम्हाण्डमा रजोगुण हावी भएपछि अशान्ति, युद्ध, झगडा, क्षय, आदि बढ्दै जान्छ। यसैगरी पिण्डमा तमोगुण हावी भएपछि आलस्यता, निद्रा, निस्क्रियता, स्मृतिभ्रम, आदि खराब लक्षणहरू पैदा हुन्छन्।ब्रम्हाण्डमा तमोगुण हावी भएपछि जनता, देश, जाति पराधीन हुन्छन, अत्याचार वृद्धि हुँदै जान्छ।प्रकृतिले नै सबै कर्म गर्छ।प्रकृति नै कर्ता, भोक्ता हो।प्रकृतिले सबै काम गर्नैपर्दछ।आत्मा उदासीन अकर्ता हो।सांसारिक बन्धनबाट छुटकारा पाउनको लागि सत्व, रज र तम गुणहरूबाट मुक्त हुनुपर्दछ।अनन्यभक्तिबाट मानिस यी तीन गुणबाट मुक्त हुनसक्दछ।
पन्ध्रौं अध्याय – पुरुषोत्तम–योग
संसार क्षर, अक्षर र पुरूषोत्तमले बनेको हुन्छ।मायालाई पार गरेपछि यो जगत लोप हुँदैन, बरू सम्पूर्ण सन्दर्भ बदलिन्छ।यस जगतको कुनै वास्तविक अस्तित्त्व छैन भन्ने होइन, बरु यसको वर्तमान भ्रान्त अर्थभन्दा भिन्न अर्को आशय छ।जगत वास्तविक हो। त्रिगुणमयी मायाको निम्नतम प्रकृति अपर रूप हो। यो पररूपबाट उद्भव भएको हो।जगतको रूपमा ब्रम्ह छन्।त्यसैलाई यसलाई पुरूष भनिन्छ।जगत क्षर हो।ब्रम्हका परा र अपरा गरी दुई प्रकृति छन्। यो जगत अपरा पकृति हो।जीवक आरोहणसहित यो अपर र क्षरपुरूषलाई छोडेर परमा पुरूषोत्तममा समाहित छ।जीव परको पुरूषोत्तमको अंश हो।दुई पुरूषहरूमध्ये पहिलो क्षर प्रकृति हो भने दोस्रो अक्षर जीव हो।
दुई प्रकृतिहरू – अपराप्रकृति र पराप्रकृति छन्। अपराप्रकृति यो व्यक्त जगत हो भने पराप्रकृति त्यसको निज अव्यक्त, सत्-चित्-आनन्द रूप हो।जीव पराप्रकृतिको अंश र पराप्रकृतिको पुरूषोत्तम हो। यो अपराप्रकृतिबाट मुक्त भएर पराप्रकृतितर्फ आरोहण गर्नु जीवनको मुक्ति हो।यसको लागि सत्व, तम र रज गुणयुक्त प्रकृतिबाट माथि उठेर समतामा प्रतिष्ठापित हुनुपर्दछ।यी तीन गुणहरू पार गरेपछि मात्र साम्यावस्था प्राप्त हुनेछ।त्यसपछि अपराप्रकृतिबाट मुक्त भइ प्रराप्रकृतिको बाटो तय हुन्छ।यसप्रकार उच्च प्रकृतिमा आएपछि क्षरपुरूषलाई छोडेर जीव पुरुषोत्तममा पुग्छ।क्षर तथा अक्षर, क्षेत्र तथा क्षेत्रज्ञको भेद र पृथक्कीकरण राम्रोसँग देख्न थालेपछि मात्र पुरुषोत्तममा पुग्न सकिन्छ।
वेदको सम्पूर्ण ज्ञानको सार यही हो कि मानिसले सम्पूर्ण भ्रम त्यागेर समर्पणभावमा लीन हुनुपर्दछ। यो सबैभन्दा ठूलो योग हो। माया-मोहको कारण मानिसले मानिसले भक्ति गर्न सक्दैन। किनकी उसको मनले पैसा र अन्य भौतिक कुरालाई माया गर्न थाल्छ। यसले उसलाई मुक्तिको मार्गबाट टाढा राख्छ।उत्तम पुरुष त्यो, हो जो आसक्ति त्यागेर भक्तिमा समर्पित हुन्छ।
सोह्रौं अध्याय – देवासुर–सम्पदा–विभाग–योग
मानिसमा दुई प्रकारको प्रवृत्ति पाइन्छ – देव र दानव। देव मनोवृत्ति भएकाहरूमा धेरै राम्रा गुणहरू हुन्छन्। जस्तै सेवा भाव, संयमता, सत्यता, इमानदारिता, स्वच्छता, शान्ति, आदि।तिनीहरू मोक्षको लागि योग्य छन्।यसको विपरीत, दानव प्रवृत्ति भएका मानिसहरूमा घमण्ड, ईर्ष्या, क्रोध, कामवासना, हिंसा, आदि जस्ता खराब गुणहरू हुन्छन्।तिनीहरू नरकको योग्य छन्।
केही मान्छे दैवी गुणलाई सम्पत्ति ठान्छन् भने केही आसुरीय गुणलाई सम्पत्ति ठान्छन्।दैवी सम्पत्ति संग्रह गर्नेलाई दैवीप्रकृतिको र आसुरी सम्पत्ति संग्रह गर्नेलाई आसुरी प्रकृतिको भनिन्छ।दैवीप्रकृतिका मानिसहरू सांसारिक बन्धनबाट मुक्त हुन्छन् भने आसुरी प्रकृतिका मानिसहरू स्वयंलाई सर्वोपरी ठान्छन्, धनसम्पत्ति थुपार्नमा लागिरहन्छन्, आफूले जोडेकोलाई थोरै भएको ठानी धनसम्पत्ति थुपार्न अनेकौं कुकर्म गरिरहन्छन्।ईर्ष्या, द्वैष र चिन्ताबाट ग्रसित हुन्छन्।यिनीहरू काम, क्रोध र लोभमा लीन भइरहन्छन्।कामवासनाबाट क्रोध र लोभ पैदा हुन्छ।दुर्गुण र दुराचारको कारणले मानिसले दुःख पाइरहन्छन् त्यसकारण परम सुखको लागि मानिसले दुर्गुण र दूराचारको त्याग गर्नुपर्दछ।
सत्रौं अध्याय – श्रद्धात्र्य–विभाग–योग
यज्ञ-दान-तपको त्रियोगको अत्यन्तै महत्त्व हुन्छ। हामी आफ्नो शरीर, सृष्टि र समाज गरी तीन संस्थाहरूबाट घेरिएका हुन्छौं।तपस्याको शरीरसँग, यज्ञको सृष्टिसँग र दानको समाजसँग सम्बन्ध हुन्छ। सृष्टिमा हामी सदैव विकार पैदा गरिरहेका हुन्छौं।दैनिक रूपमा खराब बनाइरहेका हुन्छौं।त्यो क्षतिलाई पूरा गर्नको लागि यज्ञको आवश्यकता हुन्छ।मातापिता, गुरु र आफन्तजनहरूले हामीमाथि गरेको सेवा तथा मेहनतको कारण हामीमाथि ऋण थपिंदैजान्छ।त्यो ऋण तिर्नको लागि दान गर्नु आवश्यक हुन्छ।त्यसैगरी मन, वुद्धि र इन्द्रियहरूबाट निरन्तर काम लिइरहेको कारणले यिनीहरूमा विकार उत्पन्न हुँदै जान्छ।यी विकारहरूको शुद्धिको लागि तपस्या आवश्यक हुन्छ।त्यसकारण यज्ञ, दान, तपस्याबाट सृष्टि, समाज र शरीर शुद्ध हुन्छ।
अठारौं अध्याय – मोक्ष–सन्यास–योग
यस अध्यायमा कृष्णले अर्जुनलाई मोक्षको मार्ग बताएका छन्। तिनीहरू भन्छन् कि मोक्ष प्राप्त गर्नको लागि मानिसले सबै चीजहरूको आसक्ति त्याग्नुपर्दछ।। कर्मको त्याग अर्थात् कामनाको त्याग गर्नु नै सन्यास हो।फलासा र आसक्तिको त्याग गर्नु हो। अहंकारको त्याग गर्नु हो। कर्म गर्नु, कर्मलाई नछोड्नु तर विश्वात्माद्वारा नियत कर्म गर्दै अहंकार छोड्नु सन्यास हो।त्रिगुणात्मिका प्रकृतिको बन्धनबाट बाहिर निस्किनु, अज्ञानताको कारणले हुने सम्बन्धलाई पूर्ण रूपले फ्याँक्नु, अन्तरआत्मालाई शुद्ध बनाउनुलाई ब्रम्हभूय भनिन्छ। यसको अर्थ हो प्रकृतिको बन्धनबाट मुक्ति।सबै ग्रन्थको सार वेद हो, वेदको सार उपनिषद् हो, उपनिषदको सार गीता हो।
अन्तमा, कृष्णले अर्जुनलाई भन्दछन् – यदि तिमी अझै पनि लड्न नचाहने हो भने यहाँबाट जान सक्छौं तर विधिको विधान हमेशा भएरै रहन्छ। कोही न कोहीले तिम्रो बदला युद्ध गर्ने नै छन्।तर अहिलेसम्म अर्जुनका सबै शंका समाप्त भइसकेका थिए। उनी श्रीकृष्णलाई प्रणाम गर्छन् र धर्म युद्धको लागि तयार हुन्छन्।
श्रीमद्भागवत गीताको शिक्षा
मानव शरीर अस्थायी छ र आत्मा स्थायी छ
गीताको श्लोकमा श्रीकृष्णले मानव शरीरलाई एउटा कपडाको टुक्रा मात्रै बताएका छन् । अर्थात् यस्तो कपडा, जसले आत्मालाई हरेक जन्ममा परिवर्तन गर्दछ। अर्थात् मानव शरीर आत्माको अस्थायी वस्त्र हो, जुन हरेक जन्ममा परिवर्तन हुन्छ। यसको मतलब यो हो कि हामीले मानिसलाई उसको शरीरले होइन उसको आत्माबाट चिन्नुपर्छ। जो मानव शरीरबाट आकर्षित हुन्छन् वा मनुष्यको भित्री मन बुझ्दैनन्, त्यस्ता मानिसहरूका लागि गीताको यो उपदेशले धेरै कुरा सिकाउने छ।
जीवनको एउटै सत्य मृत्यु हो
गीतामा श्रीकृष्णले हरेक मानवले जन्म र मृत्युको चक्र जान्नु अति आवश्यक रहेको बताएका छन्, किनभने मानव जीवनमा एउटै सत्य छ र त्यो हो मृत्यु ।किनकी जसले यो संसारमा जन्म लिएको छ, उसले एक दिन यो संसार छोडेर जानै पर्छ र यो संसारको अपरिवर्तनीय सत्य हो। तर यो कुरालाई नकार्न सकिँदैन कि हरेक मानिस आफ्नो मृत्युसँग डराउँछन्।अर्थात् मानव जीवनको अपरिवर्तनीय सत्यसँग डराएर मानिसले वर्तमान सुखलाई बिगार्छ। त्यसैले कुनै किसिमको डर मान्नुहुँदैन ।
रिसलाई नियन्त्रण गर्नुपर्छ किनभने क्रोधले मानिसलाई नष्ट गर्छ
श्रीकृष्णले गीताको उपदेशमा भनेका छन्, ‘क्रोधले भ्रम पैदा गर्छ र भ्रमले बुद्धिलाई नष्ट गर्छ। अर्कोतिर जब बुद्धिले काम गर्दैन, तब तर्क नष्ट हुन्छ र व्यक्तिको विनाश हुन्छ।यसप्रकार हरेक व्यक्तिले आफ्नो क्रोधलाई नियन्त्रण गर्नुपर्छ, किनकि क्रोधले पनि भ्रम पैदा गर्छ। मानिसले कहिलेकाहीँ रिसाएर यस्ता काम गर्छ, जसले गर्दा धेरै नोक्सान हुन्छ ।यदि रिसलाई नियन्त्रण गर्न सकिएन भने, मानिसले धेरै गलत कदम चाल्छ। अर्कोतिर, जब व्यक्तिको मनमा क्रोधको भावना उत्पन्न हुन्छ, तब हाम्रो मस्तिष्कले पनि सही र गल छुट्ट्याउन छोड्छ, त्यसैले व्यक्तिले सधैं क्रोधको अवस्थाबाट टाढा रहनु पर्छ। किनभने रिसमा लिइएको निर्णयले मानिसलाई गहिरो नोक्सान पुर्याउँछ।
कसैले आफ्नो कर्म त्याग्न सक्दैन
श्रीकृष्णले गीतामा बताएका छन् – कुनै पनि व्यक्तिले आफ्नो कर्म त्याग्न सक्दैन अर्थात् ज्ञानी बन्न नसक्ने कारणले कर्ममा लागेका साधारण बुद्धिका मानिसहरूलाई हटाउनु ठीक होइन।अर्कोतर्फ यदि तिनीहरूको कर्म पनि चुक्यो भने, तिनीहरू दुवै पक्षबाट भड्किनेछन्। र, प्रकृतिले मानिसलाई काम गर्न बाध्य पार्छ। जो कर्मबाट बच्न चाहन्छ, उसले माथिबाट त कर्म त्याग्छ तर मन त्यसैमा तल्लीन रहन्छ। अर्थात् मानिसको स्वभाव जस्तो छ, त्यही अनुसार उसले कर्म गर्छ।
मानिसको दृष्टिकोण
गीतामा मानवलाई हेर्ने दृष्टिकोणमाथि पनि सन्देश दिइएको छ, यसमा लेखिएको छ – जसले ज्ञान र कर्मलाई एउटै रूपमा देख्छ, उसको दृष्टिकोण नै सही हुन्छ ।र, जो अज्ञानी हुन्छ, उसले ज्ञानको अभावले सबै कुरालाई गलत दृष्टिकोणले हेर्छ।
मानिसले आफ्नो मनलाई नियन्त्रण गर्नुपर्छ
गीतामा ती मानिसहरूका लागि सन्देश दिइउको छ, जसले आफ्नो मनलाई नियन्त्रण गर्दैनन् किनभने त्यस्ता मानिसहरूको दिमाग यता-उता भटकिरहन्छ र तिनीहरूका लागि त्यसले शत्रुको रूपमा काम गर्छ।मनले मानिसको मस्तिष्कमा पनि गहिरो प्रभाव पार्छ, जब मानिसको दिमाग ठीक हुन्छ, तब उसको दिमागले पनि राम्रोसँग काम गर्छ।
आफैलाई मूल्याङ्कन गर्नुपर्दछ
गीतमा उपदेश दिइएको छ – मानिसले पहिले स्वयंलाई मूल्याङ्कन गर्नुपर्दछ र स्वयंको क्षमतालाई जान्नुपर्दछ किनभने मानिसले आफ्नो आत्मज्ञानको तरवारले काटेर आफ्नो हृदयबाट अज्ञानको संदेहलाई अलग गरिदिनुपर्दछ।जबसम्म मानिसले स्वयंको बारेमा जान्दैन, तबसम्म उसको मुक्ति हुनसक्दैन।
मानिसले आफैमा विश्वास गर्नुपर्छ
श्रीमद्भागवत गीतामा श्रीकृष्णले उपदेश दिएका छन् कि प्रत्येक मानवले आफूमा पूर्ण विश्वास राख्नुपर्छ किनभने जसले आफैंमा विश्वास गर्छ उसले अवश्य सफलता प्राप्त गर्दछ। अर्कोतर्फ, मानिसले जसरी विश्वास गर्छ, ऊ त्यस्तै बन्छ।
राम्रो कर्म गर्नुपर्दछ फलको चाहना गर्नुहुँदैन
जो कर्म गर्दैनन् र नतिजाको बारेमा पहिल्यै सोच्छन्, गीताको यो उपदेशले धेरै कुरा सिकाउने छ।यसमा श्रीकृष्णले भनेका छन् – व्यक्तिले आफ्नो राम्रो कर्म गरिरहनुपर्छ र फल के हुन्छ भनेर सोच्नु हुँदैन किनभने प्रत्येक व्यक्तिले आफ्नो कर्मको फल पाउँछ। त्यसैले मानिसले आफ्नो कर्मको फल के हुन्छ वा कुनै काम गरेपछि खुसी हुन्छ कि हुँदैन भन्ने चिन्तालाई मनमा स्थान दिनु हुँदैन ।अर्थात् मानिसले काम गर्दा त्यसको परिणामको चिन्ता गर्नु हुँदैन र चिन्ता नगरी कुनै पनि काम सुरु गर्नुपर्छ ।
मनुष्यको इन्द्रियको संयम नै कर्म र ज्ञानको सार हो
मानिसको सुख-दु:खमा मनको अवस्था उस्तै रहँदैन भन्ने स्पष्ट छ। मानिस सुखमा बढी उत्तेजित हुन्छ र दु:खमा अनियन्त्रित हुन्छ। त्यसैले सुख र दु:खमा मानिसको मनको अवस्था समान हुनुपर्छ, त्यसैलाई योग भनिन्छ।अर्कोतर्फ, जब मानिसले सबै सांसारिक कामनाहरू त्यागेर कुनै फलको चाहना नराखी कुनै पनि काम गर्छ, तब उसलाई मनुष्यको योगमा स्थित रहेको मानिन्छ। र, जसले मनलाई नियन्त्रण गर्छ, उसको मन नै उसको सबैभन्दा राम्रो साथी बन्छ, तर मनलाई नियन्त्रण गर्न नसक्नेको लागि मन नै उसको सबैभन्दा ठूलो शत्रु बन्छ।अर्कोतर्फ, जसले आफ्नो चंचल मनलाई नियन्त्रणमा राख्छ, उसले परमात्मा प्राप्त गर्छ र जसले ज्ञान प्राप्त गर्छ उसको लागि सुख-दु:ख, चिसो-तातो, मान-अपमान सबै समान हुन्छन्।स्थिर चित्त र इन्द्रियहरूमाथि नियन्त्रण भएको व्यक्तिले ज्ञानद्वारा परमात्मालाई प्राप्त गर्छ र सधैं सन्तुष्ट रहन्छ।
आफैमा पूर्ण विश्वास राख्नुपर्दछ र आफ्नो लक्ष्य प्राप्त गर्न कडा मेहनत गरिरहनुपर्दछ
गीता सारको यो उपदेशलाई कसैले आफ्नो जीवनमा पालना गर्यो भने पक्कै पनि सफल व्यक्ति बन्न सक्छ ।जो पूर्ण विश्वासका साथ आफ्नो लक्ष्य प्राप्त गर्न प्रयास गर्छ।उसले आफ्नो लक्ष्य अवश्य प्राप्त गर्छ, तर मानिसले आफ्नो लक्ष्य प्राप्त गर्न निरन्तर सोचिरहनुपर्छ।
तनावबाट टाढा रहनुपर्दछ
भगवान श्रीकृष्णले गीतामा भनेका छन् कि मानिसहरू तनावबाट टाढा रहनुपर्छ किनभने तनावले व्यक्तिलाई सफल हुनबाट रोक्छ। त्यसैले कुनै कुरामा पनि तनाव लिनु हुँदैन। यसलाई जीवन प्रवेश गर्न नै दिनुहुँदैन।
आफ्नो कामलाई प्राथमिकता दिनुपर्दछ
गीतामा श्रीकृष्णले उपदेश दिएका छन् – पहिले आफ्नो कामलाई प्राथमिकता दिनुहोस् र पहिले आफ्नो काम पूरा गर्ने प्रयास गर्नुहोस्, त्यसपछि अरूको काम गर्नुहोस् किनभने जसले पहिले आफ्नो काम गर्दैन र अरूको काम गरिरहन्छ, त्यो मानिस प्राय: समस्यामा रहन्छ।
आफ्नो काम आफ्नो हृदयले गर्नुपर्दछ र आफ्नो काममा खुशी हुनुपर्दछ
जो आफ्नो काम लगनशीलतापूर्वक गर्छन् र आफ्नो काममा खुशी पाउँछन्, उनीहरूले अवश्य सफलता पाउँछन्। अर्कोतर्फ, कुनै पनि कामलाई बोझ ठानेर त्यो कामलाई मात्रै मिलाउन खोज्नेहरू हुन्छन् । यस्ता व्यक्ति कुनै पनि काम राम्रोसँग गर्न सक्दैनन् र आफ्नो जीवनमा पछाडि रहन्छन्।
कुनै पनि प्रकारको अतिक्रमण मानिसका लागि ठूलो खतरा बन्न सक्छ
गीता श्रीकृष्णले भनेका छन् – कुनै पनि प्रकारको अतिक्रमण मानिसको लागि घातक साबित हुन सक्छ। जसरी सम्बन्धमा तिक्तता वा मिठास हुन्छ, सुख वा दु:ख हुन्छ, त्यसलाई हामीले कहिल्यै अति गर्नु हुँदैन ।जीवनमा सन्तुलन कायम राख्नु अति आवश्यक छ। जबसम्म मानिसको जीवनमा सन्तुलन हुँदैन, तबसम्म उसले आफ्नो जीवन खुसीसाथ बाँच्न सक्दैन, अर्थात् मानिसले आवश्यकताभन्दा बढी काम गर्नबाट जोगिनुपर्छ र आफ्नो जीवनमा सन्तुलन कायम राख्नुपर्छ ।
स्वार्थी बन्नुहुन्न
श्री कृष्णले गीतामा यस उपदेश मार्फत् ती मानिसहरूलाई ठूलो पाठ दिएका छन्, जो अरूको हितमा ध्यान दिँदैनन् र केवल आफ्नो स्वार्थमा लागेका हुन्छन्, तिनीहरूको कहिल्यै कल्याण हुँदैन। एक व्यक्तिको स्वार्थले उसलाई अरू मानिसहरूबाट टाढा लैजान्छ र नकारात्मक परिस्थितिहरूमा धकेल्छ। जसका कारण मानिस एक्लो रहन्छ । गीतामा यो पनि भनिएको छ कि स्वार्थ भनेको ऐनामा फैलिएको धुलो जस्तै हो, जसको कारण मानिसले आफ्नो प्रतिबिम्ब देख्न सक्दैन।अर्को तर्फ, यदि तपाईं आफ्नो जीवन खुसीसाथ बिताउन चाहनुहुन्छ भने, यो कुरा महत्त्वपूर्ण हुन्छ कि तपाईंले आफ्नो स्वार्थलाई कहिल्यै नजिक आउन नदिनुहोस्, किनकि स्वार्थी मानिसहरूले पनि आफ्नो स्वार्थको लागि मात्र मित्रता बनाउँछन्।
शंका गर्ने बानीले मानिसलाई दुःख दिन्छ
शंका गर्ने बानी भएका वा अत्याधिक शंका गर्ने व्यक्तिहरूका लागि श्रीकृष्णले गीतामा भनेका छन् – शंकाको बानी नै मानिसको दुःखको कारण बन्छ।किनकी शंका गर्नु यस्तो बानी हो कि यसले सबैभन्दा बलियो सम्बन्धलाई पनि खोक्रो बनाउँछ। साथमा जिज्ञासा हुनु पनि जरुरी छ तर शंका नै मानिसको दु:खको कारण बन्छ र शंका गर्ने व्यक्ति पछि पछुताउछ।
गीतामा श्रीकृष्णले जे जति उपदेश दिएका छन्, यदि ती शिक्षालाई मानिसहरूले आफ्नो जीवनमा ल्याएमा अवश्य पनि आफ्नो जीवनमा सफल हुन सक्छ। गीता यी शिक्षाहरूले वास्तवमै सफल जीवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छन्।
श्रीमद्भागवत गीतासार
किन व्यर्थ चिन्ता गर्छौ ? कोसँग व्यर्थ डराउछौं ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।जे भयो, त्यो राम्रै भयो। जे भैरहेको छ, त्यो राम्रै भैरहेको छ । जे हुनेछ, त्यो पनि राम्रो नै हुनेछ। तिमी विगतको पश्चताप नगर। भविष्यको चिन्ता नगर । वर्तमान चलिरहेको हुन्छ ।
तिमीले के गुमायौं, जसका लागि तिमी रुँदै छौ ? तिमीले के लिएर आएका थियौं, जसलाई तिमीले हरायौं ? तिमीले के पैदा गर्यौं, जो नाश भयो ? तिमीले केही लिएर आएका थिएनौं, जे लियौं, यहीँबाट लियौं। जे दियौं, यहिँ नै दियौं। जे लियौं, यहीँबाट लियौं।जे दियौं, यसैलाई दियौं।
खाली हात आयौ, खाली हातै जानेछौं। जो आज तिम्रो छ , हिँजो कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो ठानेर मग्न भएका छौं । यही प्रसन्नता नै तिम्रो दु:खको कारण हो।
परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु ठान्छौं, त्यही नै त जीवन हो। एक क्षणमा तिमी करोडौंको मालिक बन्छौं, अर्को क्षणमा तिमी गरीब बन्न पुग्छौं। तेरो-मेरो, ठूलो-सानो, आफ्नो-पराई मनबाट हटाइदेऊ, त्यसपछि सबै तिम्रा हुनेछन्, तिमी सबैको हुनेछौं।
न यो शरीर तिम्रो हो। न त तिमी नै यो शरीरका हौं। यो त शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको छ र यसमा नै मिल्नेछ। तर आत्मा स्थिर छ । त्यसो भए तिमी के हौ त ?
तिमी आफूलाई परामात्मामा समर्पित गर। यो नै सबैभन्दा उत्तम सहारा हो। जसले यो सहारालाई जान्दछ ऊ भय, चिन्ता र शोकबाट सदैव मुक्त रहन्छ।
तिमी जे गर्छौं, त्यो परमात्मालाई समर्पण गर। यसो गर्नाले सदैव जीवन-मुक्तिको आनन्द अनुभव मिल्नेछ।