
म्याग्दी, बेनी।
म्याग्दीको बेनी बजारस्थित माउण्ट एभरेष्ट आवासीय माविको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबारदेखि सुरु भएको छ। वार्षिकोत्सवको पहिलो दिन कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकलाई बदलिँदो समय, प्रविधि र जीवनशैलीका कारण बालबालिकामा पर्ने प्रभाव तथा अभिभावकको भूमिकाबारे प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक/संचालक तथा उत्प्रेरक चन्द्र केसी र पत्रकार विनोद धौलागिरिले आफ्ना छोराछोरीको क्षमताप्रति कहिल्यै निराश नहुन अभिभावकलाई आग्रह गर्दै बालबालिकालाई सकारात्मक वातावरणमा बुझ्न र मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभयो। प्रशिक्षकद्वयले व्यक्ति जन्मजात नै कुनै न कुनै प्रतिभा लिएर आउने भएकाले उनीहरूलाई अरूसँग तुलना गर्नु अनुचित हुने औंल्याउँदै सकारात्मक सोच र सिकाइ नै सफलताका प्रमुख आधार हुने धारणा राख्नुभयो।
दुई सत्रमा सम्पन्न प्रशिक्षण कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। तीन दिनसम्म सञ्चालन हुने वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न प्रेरणादायी गतिविधिहरू आयोजना गरेको प्रिन्सिपल राजु केसीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालय अब बौद्धिक र रचनात्मक कार्यक्रमहरूमा केन्द्रित हुँदैछ। खेलकुद जस्ता गतिविधिहरू यथास्थान यथावत् राख्दै विद्यालयले छुट्टै शैक्षिक तथा साहित्यिक कार्यक्रमहरूको वार्षिक क्यालेन्डर तयार पारेको छ। यही अभियानअन्तर्गत वार्षिकोत्सवलाई पहिलो रचनात्मक कार्यक्रमको रूपमा अघि बढाइएको छ।
वार्षिकोत्सव अन्तर्गत आगामी शुक्रबार उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण, दीर्घसेवी शिक्षक सम्मान तथा विद्यालयद्वारा पुनःप्रकाशन गरिएको बुद्धिबिम्ब साहित्यिक तथा समसामयिक पत्रिकाको विमोचन गरिनेछ।
कार्यक्रमको उद्घाटन विद्यालयका संचालक तथा संचालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षतामा दीप प्रज्वलन तथा केक काटेर गरियो। उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुति दिएका थिए।