चन्द्रप्रकाश बानियाँ: मेरो जन्मभूमी पुला, पुलाचौर, रावण पार्क र रावण विवाद

अनुदान लेखनको सन्दर्भ

मेरो लेखन यात्रामा अनुदानको महत्त्वपूर्ण भूमिका छ, तर कुनै विदेशी सहयोग लिएको छैन। नेपाली प्रकाशकहरूको सहायतामा दर्जनौं कृतिहरू प्रकाशित भए। शिखा प्रकाशनले निरन्तर मेरो सिर्जनालाई साथ दियो। लेखन केवल जीविकोपार्जनको साधन होइन, आत्मसन्तोषको मार्ग हो। म्याग्दीलाई केन्द्रमा राखेर लेख्ने इच्छा भए पनि भविष्यमा विषय परिमार्जन गर्ने सोचमा छु। लेखन स्वतन्त्र हुनुपर्छ, समाजप्रति उत्तरदायी रहनुपर्छ।

हिजो म्याग्दीका पूर्वमन्त्री माननीय जगत गौचनसँग आकस्मिक भेट भयो। भेट राजनीतिक सन्दर्भको थिएन। गौचनजीको “बुक अफ फाइभ रिङ” नामक अनुवादित ग्रन्थ प्रकाशित भएको रहेछ।
हामीले चिया पियौं र सामान्य भलाकुसारी गर्‍यौं। हामीले आ-आफ्ना प्रकाशित पुस्तकहरू आदानप्रदान गर्‍यौं। गौचनजीले आफ्नो जन्मगाउँ केन्द्रित ऐतिहासिक उपन्यास “तुलु राजा” कहिलेसम्म प्रकाशित हुन्छ भनेर सोध्नुभयो।

पाण्डुलिपि गत असोज महिनामै प्रकाशककोमा पुगेको हो। सायद तयारी हुँदै होला। “यो वर्षभित्रै प्रकाशित होला” भन्नुबाहेक म अरू के भन्न सक्थेँ र? प्रकाशकको मर्जी नै मुख्य हो।
बजारमा हल्ला त व्याप्त छ। यतिखेर गौचनजीको राजनीतिक दलले संसदमा समेत प्रायोजित लेखनको प्रश्न उठाइरहेको छ। उनीहरूका लागि यो स्वाभाविक विषय बन्नुमा आश्चर्य मान्नुपर्ने कुरा होइन। राप्रपाले बोकेर हिँडेको राजशाहीविरुद्धको आन्दोलनमा नेपालको अखबारी लेखनको महत्त्वपूर्ण भूमिका थियो भन्ने कुरा नकार्न सकिँदैन।

हामीबीच भने त्यस बारेमा चर्चा भएन। प्रकट नगरे पनि गौचनजीको मनमा जिज्ञासा त हुँदो हो। अमेरिकी संसदमा कसले कुन आधारमा प्रश्न उठायो, थाहा भएन। अमेरिकी लगानीमा नेपालमा धर्म संस्कृतिविरुद्ध जनमत तयार गर्ने उद्देश्यले लाखौं डलर खर्च गरियो भन्ने कुरामा सत्यता छ जस्तो मलाई पटक्कै लाग्दैन।

नेपाली समाजमा क्रिस्चियानिटीको प्रभाव बढिरहेको कुरा भने सत्य हो। चर्चहरूले घरघरमा बाँड्दै हिँड्ने लेख्य प्रचार सामग्रीमा ठूलै रकम अवश्य खर्च भएको होला। तर नेपाली लेखकहरूले, अझ यतिखेर सामाजिक सञ्जालमा डलर हसुर्ने भनेर नाम र फोटो सार्वजनिक गरिएका कवि लेखकहरूले पश्चिमाहरूको सहयोग वा प्रायोजनमा लेखे पनि दाताको निर्देशनमा आफ्नो समाजलाई नोक्सान पुग्ने गरी सिर्जना गरेको देखिँदैन। हो, लेखकहरू सबै धनधान्य सम्पन्न छैनन्। सबै लेखकका आ-आफ्ना प्रकाशनगृह पनि छैनन्। प्रकाशनका लागि अरूकै सहयोग खोज्नुपर्छ, प्रकाशकहरू गुहार्नुपर्छ।

आफ्नै कुरा गरौं, मेरा पनि एकाध दर्जन पुस्तक-पुस्तिकाहरू प्रकाशित छन्। ती सबै अनुदान सहयोगमै प्रकाशित भएका हुन् भन्दा फरक पर्दैन। तर कुनै विदेशी अनुदान, प्रायोजन वा सहयोगमा होइन, नेपाली प्रकाशकहरूको अनुदानमा छापिएका हुन्। मुख्यतः म लेख्छु। शिखा प्रकाशनले छापिदिन्छ। त्यस अर्थमा शिखा प्रकाशनका मालिक पुष्पराज पौडेलको अनुग्रहमा मेरा सबैजसो पुस्तकहरू छापिए, छापिँदै छन्। प्रकाशनले नाफा-घाटाको गुनासो कहिल्यै गरेको छैन। त्यसका लागि पुष्पराज पौडेलजीप्रति म आभारी छु।

शिखा प्रकाशनसँगको सहकार्यको कथा पनि स्मरणीय छ।
२०७१ सालको वैशाखमा काठमाडौंको डेराडण्डा उठाएर पोखरा झरियो। पोखरा टेकेकै भोलिपल्ट दिदीको देहावसान भयो। दिदीको शोकबाट मुक्त हुन नपाउँदै लगत्तै २०७२ सालमा साइँलो दाजुको निधन भयो। ती दुई वर्ष मैले कोठाभित्र गुप्तवास बसेर बिताएँ। साथी थिए काठमाडौंबाट बोकेर ल्याएका पुस्तकहरू। तेस्रो वर्ष प्रारम्भ भएपछि झण्डै दस वर्षदेखि थन्क्याएको कलम समातेर घोट्न थालेँ। मसँग प्रकाशनका लागि पैसा थिएन। कुनै प्रकाशनगृहसँग चिनाजानी वा सम्पर्क सम्बन्ध पनि थिएन। गोटा दुई पाण्डुलिपि तयार भएपछि प्रकाशकको खोजी गर्नुपर्ने जस्तो लाग्यो।

धेरै अघि कुनै सन्दर्भमा पुष्पराजजीसँग काठमाडौंको बागबजारमा भेट भएको थियो। “गाइड, गेसपेपरहरू मात्रै छाप्नुहुन्छ कि पुस्तक पनि छाप्नुहुन्छ?” भन्ने मेरो जिज्ञासामा “बजारमा जाने खालको पुस्तक पाए छाप्ने हो” भनेर उहाँले जवाफ दिनुभएको थियो।
पाण्डुलिपि तयार भएपछि त्यही पुरानो भेटको प्रसङ्ग सम्झेँ। शुभकाममा विलम्ब किन भनेर मित्र सोभियत खड्का मार्फत फोन नम्बर लिएर सम्पर्क गरेँ। पहिलो कुराकानीमै कन्टेन्ट हेरेर जवाफ दिने सदाशयता उहाँले देखाउनुभयो। “मृत्यु संस्कार मन्थन” को विषयसूची पठाएँ। “कन्टेन्ट ठिकै लाग्यो। पाण्डुलिपि पठाउनुहोस्” भन्नुभयो। पहिलो पुस्तक छापिएको तीन महिनापछि अर्को पुस्तक तयार छ कि भनेर उहाँले सोध्नुभयो। “भौज्याहा” तयार थियो। पुष्पजीले आख्यान वा कविता छैन भनेर सोध्नुभयो। आख्यान लेखेको त थिएन। छाप्नुहुन्छ भने छ महिनामा एउटा उपन्यास दिन सक्छु भनेँ। त्यसरी अर्को वर्ष “महारानी” छापियो।

पोखराको कुरा हो। एक प्रसङ्गमा मित्र असफल गौतमजीले “सार्वजनिक कार्यक्रममा बिरलै देखिने मानिसको रूपमा” परिचय दिनुभएको थियो। पोखरा बस्न थालेको पूरापूर १० वर्ष बितेछ। प्रकाशनको तयारीमा रहेको “तुलु राजा” पोखराको रत्नचोकस्थित डेरामा लेखिएको आठौं पुस्तक हो। अर्को एउटा पुस्तक पनि प्रेसमा पठाउन मिल्ने अवस्थामा छ। दशौं पुस्तकको तयारी सुरु गरेको छु।
नेपालकै सुप्रसिद्ध कवि, लेखक, नाटककार सरुभक्तभन्दा उमेरले म जेठो छु। एक प्रसङ्गमा “बूढो भइयो भनेर लेख्न नछोड्ने” सल्लाह श्रद्धेय श्रेष्ठजीले दिनुभएको थियो। लेख्न त अवश्य लेखौंला तर पोखराको बारेमा लेख्न सकिँदैन कि! म्याग्दीबाट यति धेरै विषय बोकेर आएको छु कि चार-पाँच वर्षलाई खुराक पर्याप्त छ भनेको थिएँ।

कुरो २०७७ सालको हो। “विषय जहाँको भए पनि जे भए पनि तपाईंका कृतिहरू पोखराका सम्पत्ति हुनेछन्” भनेर उत्प्रेरित गर्ने साहित्यकार बन्धु श्रेष्ठ्जीसँग त्यसपछि भेट हुने अवसर मिलेको छैन। पोखराले चिन्ला नचिन्ला मैले लेख्न भने छोडेको छैन।
मेरो लेखनले समाजलाई ज्ञानगुन देला भन्ने लाग्दैन। मृत्युको प्रतीक्षा गरिरहेको उमेरमा सजिलोसँग दिन काट्ने मेलो मात्रै हो। आजसम्मको मेरो लेखन कुनै न कुनै रूपमा मेरो जन्मभूमि म्याग्दीकै सेरोफेरोमा अलमलिएको छ।

लेख्न त ऐतिहासिक “ताकम” लेख्न मन लागेको थियो। देशमै चर्चित भएको “बेनी आक्रमण” लेख्ने पनि मन थियो। ताकमको मसिनो स्थलगत अध्ययन गर्न जाने हिम्मत अब ममा छैन। अर्को विषय पनि नछोऊँ कि जस्तो लागेको छ। लेखेर कति गाली खाने? त्यसैले यो दशौं लेखनपछि म्याग्दीलाई नमस्ते गरौं कि जस्तो लागेको छ।

म्याग्दीकै मेरा एकजना आफन्तले वैदेशिक अनुदान खाएर लेख्ने साहित्यकारहरूको सूचीमा सनातन संस्कृतिविरुद्ध लेख्ने बानियाँको नाम किन चढेन भनेर गुनासो गरेछन्। हो, मैले लेख्नकै लागि पैसा नलिए पनि लेखोटहरूको प्रकाशनका लागि अरूकै सहयोग लिएको छु। मेरो गोजीको सुको आनो खर्चेको छैन। मैले पाएको अनुदान वा सहयोग बुकहिल प्रकाशन, बानियाँ बन्धु समाज, पुलस्त्य साहित्य समाज, पुलस्त्य-पुलह क्षेत्र विकास समिति र मुख्यतः शिखा प्रकाशनको हो। ती सबै संघ संस्थाहरूले कुन मुलुक वा अन्तर्राष्ट्रिय संघसंस्थाबाट डलरमा सहयोग अनुदान लिन्छन् भन्ने कुराको मलाई जानकारी छैन।