हरेक दिन सरदर १५०० युवाहरु वैदेशिक रोजगारीका लागि देशबाट बाहिरिन्छन् र वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको संख्याले ५० लाख नाघिसकेको छ । यो सरकारी तथ्याङ्क हो। वैदेशिक रोजगारीमा संलग्न नेपालीहरुको वास्तविक संख्या त्यो भन्दा ठूलो छ भन्ने मान्यता नेपाली समाजमा रहेको छ। विज्ञ, विद्वान अनुसन्धाताहरुको मूल्याङ्कन यस्तै रहेको छ । विना औपचारिक स्वीकृति अर्थात श्रमस्वीकृति विना मुलुकबाट बाहिरिनेहरुको संख्या पनि उल्लेख्य रहेको कुरा कटुसत्य हो । पछिल्लो दशकमा देशमा गरीवीको संख्या घटेको छ र जनताको जीवनस्तरमा सुधार भएको कुरा राष्ट्रिय अन्तराष्ट्रिय सर्भेक्षणहरुले देखाएका छन्। त्यसको कारण वैदेशिक रोजगारीमा नेपालीहरुको निरन्तर बढ्दो आकर्षण र संलग्नता नै हो । देशको निरन्तर खस्कँदो आर्थिक स्थितिलाई भरथेग गर्ने बलियो आधारस्तम्भ वैदेशिक रोजगारी बनेको छ । स्कूल जाने नानीहरुको संख्या बढेको छ, । मानिसहरुले मिठो मसिनो खान थालेका छन् । राम्रो नाना र गतिलो छाना उपलब्ध भएको छ।
नेपालीहरुको उपभोग्य क्षमतामा उल्लेखनीय बृद्धि भएको छ । यी सकारात्मक पक्ष हुन । हरेक विषयको सकारात्मक र नकारात्मक दुबै पाटो हुन्छ । देशको आर्थिक मेरुदण्डकै रुपमा विकसित हुँदै गएको वैदेशिक रोजगारको पक्षविपक्षमा बहस, तर्क र छलफल गर्नुपर्ने र राज्यले मात्र होइन, समाज र व्यक्तिले यस बारेमा चिन्तन मनन गर्नुपर्ने आवश्यकता टढकारो देखिन थालेको छ । व्यक्तिको जीवनस्तरमा सुधार र राज्यको आर्थिक जीवनमा भरथेगको आधार बनेको वैदेशिक रोजगार देशको उन्नतिप्रगतिको वाधक बनीरहेको त छैन कतै भनेर पनि सोच्नु पर्ने परिस्थिति निर्माण भएको छ भन्नु बढ्ता हुँदैन।
स्कूल कलेजका विद्यार्थीहरुबीच “तरबार बलियो कि कलम” अथवा “धन ठूलो कि विद्या” जस्ता विषयहरुमा वादविवादको ओयाजना गर्ने गराउने गरिएजस्तै आम चेतनशील नेपालीहरुका बीच “वैदेशिक रोजगारी आवश्यता हो कि अपरिहार्यता” भनेर गहन छलफल र अन्तक्र्रियाहरुको आयोजना गर्नुपर्ने समय घर्किन थालिसकेको हो कि भन्ने आभास हुन थालेको छ । किनकि अलिकता शिक्षा आर्जन गरेको वा परिश्रम गर्नसक्ने नेपालको श्रमशक्तिमा देशको निमित्त पसिना बगाउनुपर्ने चेतना हराउँदैै गएको छ । शिक्षित होस वा अशिक्षित सबैको एक मात्र लक्ष र उद्देश्य नागरिकताको प्रमाणपत्र पाउनयोग्य उमेरमा टेक्दा नटेक्दै राहदानी लिने र विदेशतिर हानिने हुन थालेको छ । भर्खर पढदै, बढदै र हुर्कदै गरेका हरेक बालबालिका र किशोर किशोरीहरुमा विदेशिने मानसिकताको खेति फस्टाउँदै जान थालेको देखिन्छ । यस्तो नकारात्मक वातावरणले बाल मष्तिष्कमा स्वाभाविकरुपमा गलत मनोविज्ञानको विकास गरिदिएको छ । अर्थात गिलो माटोजस्तो बाल मष्तिष्कमा समाजमा विकसित भएको प्रवृत्तिले कस्तो प्रभाव पारिरहेको छ भनेर गम्भीररुपमा सोच्नुपर्ने र पुनर्मूल्याङ्कन गर्नुपर्ने समय आइसकेको छ ।
देशका हरेक सन्तान सन्ततिले उमेर पुगेपछि अर्थात पढाईलेखाई सकिएपछि सकेसम्म युरोप, अेरिका, जापान, कोरीयाजस्ता विकसित मुलुकहरु नसके पनि मध्यपूर्वका खाडी मुलुकहरु वा मलेशियाजस्ता श्रमशक्तिको अधिकतम उपयोग गर्न सकिने मुलुकहरुमा जानै पर्छ र जसरी पनि पैसा कमाउनै पर्छ भन्ने खालको मानसिकता विकसित हुँदै जानु निश्चयनै समाज र देशका लागि मात्र होइन, स्वयम आफ्नै भावी सन्ततिलागि पनि नोक्सानदायक हुनेछ । त्यसबाट समाजको भविष्य अन्धकारमय हुने मात्रै होइन, मुलुकलाई संकटको भूमरीमा धकेल्ने छ । जानेर वा नजानेर आज मुलुक त्यही दिशातिर उन्मुख भएको छ । किनकि जुन मुलुकको उर्जावान, शिक्षित, दक्ष, सबल र सक्षम युवाशँिक्तले आफ्नो जीवनको आधाभन्दा बढी समय अर्थात जीवनको सम्पूर्ण उत्पादनशील र उर्जावान उमेर विदेशमा विताउन वाध्य हुन्छ वा पारिन्छ त्यो देशको आर्थिक उन्नति हुनै सक्तैन । जबसम्म मुलुको आर्थिकविकासले फड्को मार्दैन समाजको अन्य कुनै पाटो पनि समृद्ध, सभ्य र समुन्नत बन्न सक्तैन ।
मुलक आर्थिक रुपमा तन्नम भयो, सामाजिकरुपमा पिछडियो र धार्मिक सांस्कृतिरुपमा पनि विश्रृङखलित हुदै गयो भन्ने चिन्ता सबैतिर निन्दा चर्चाको विषय हुने गरेको छ । र त्यसको दोषी देशको राजनीतिलाई मान्ने गरिन्छ । देश र समाजलाई विकृति र विसंगतिको खाडलमा धकेल्ने कुरामा राजनीतिक नेतृत्व जिम्मेवार छ भनेर पन्छने प्रवृत्तिको विकास भएको छ । अवश्य, राजनीति सबै नीतिको नेता हो । समाजलाई सही दिशामा डो¥याउने जिम्मेवारी उसैको हो । तर देशको अधोगतिको जिम्मेवार एक्लो राजनीतिलाई मात्र ठह¥याउनु र आम नागरिकहरु “पानीमाथिको ओभानो” देखिन खोज्नु पनि गल्ती हो । मुलुकभन्दा बाहिर रहेको उर्जावान युवाशक्तिले आफूले आर्जन गरेको रेमिटयान्सको भरमा देश चलेको छ र देशको आर्थिक मेरुदण्ड हामीले नै सम्हालिदिएका छौ, मुलुकमा रहनेबस्नेहरुले मफतको मानो पचाइरहेका छन भनेर सोच्नु अल्पविज्ञता हो । अत्युक्ति हो । गलत मूल्याङ्कन हो । देश बनाउने जिम्मेवारी सबै नागरिकहरुको साझा कर्तव्य हो । वैदेशिक आर्जनले मात्र देशको अर्थतन्त्र सधै धानिन्छ भन्नु विषयको गम्भीरता नबुझ्नु हो ।
वैदेशिक रोजगारीकै भरमा मुलुक धानिएको छ भनेर घिरौलाजत्रो नाक बनाउनुमा कुनै तुक छैन । विषयलाई अर्को कोणबाट हेर्ने बुझने र पर्गेल्ने कोशिस गर्नु आवश्यक छ । “भूईको टिप्न खोज्दा कतै गोजीको त गुमाइरहेका छैनौ ?” भनेर पनि गम्भीरतापूर्वक मन्थन गर्नुपर्ने बेला आएको छ । पूर्वजहरुको पदचाप पछयाउन नसकेर होस अथवा पूर्वजहरुले आफ्ना भाविष्यका सन्ततिहरुका बारेमा सोच्न नसकेका कारणले किन नहोस श्रमबजारको खोजीमा विदेशिनु नेपाली युवाशक्तिको लागि एक मात्र उत्तम विकल्प बनेको छ । बिरानो मुलुकमा श्रम बेच्नु अनिवार्य वाध्यता बनेको छ । यसका निमित्त वर्तमान पुस्ताले त अघिल्लो पूस्तालाई जिम्मेवार ठह¥याएर उम्केला, तर वैदेशिक रोजगारीप्रतिको बढ्दो आसक्तिले भावी पुस्ताको लागि नयाँ बाटो देखाउन सकेको छजस्तो लाग्दैन ।
आजको पुस्ताले जुन कारणले जुन नियति भोगिरहेको छ आगामी पुस्ता पनि त्यसबाट उम्कन सक्ने अवस्था छैन । बेलैमा सोचिएन र बुद्धि पु¥याउन सकिएन भने नयाँ पिँढी पनि रोजगारीका लागि आजको जस्तै काकाकुल बन्नुपर्ने छ । यो परिस्थिति बदल्नुपर्ने कुरामा ध्यान पु¥याइएन भने परिवारको भरणपोषणका लागि विदेशको मुख ताक्नुपर्ने नियतिको अन्त कहिल्यै हुनेछैन । आगामी पुस्तादरपुस्तासम्म यसले निरन्तरता पाउने छ । हरेक नयाँ छिमलले आफ्नो श्रम र सीप विदेशको माटोका खर्चने छ । र आगामी केही दशकपछि नेपाल भनेको युवाविहीन भूगोल मात्र रहने छ, बृद्धाश्रमको रुपमा परिणत हुनेछ र चिहानघरमा रुपान्तरित हुनेछ ।
देशले राजनीतिक स्थिरता प्राप्त गर्न सकेन । मुलुकले उन्नतिप्रगति गर्न सकेन । उद्योगधन्दा कलकारखाना स्थपित हुन सकेनन । मुलुकको औद्योगिकिकरण नहुनाले आफ्नै भूमिमा नयाँ नयाँ रोजगारीका अवसरहरु सिर्जना हुन सकेनन । त्यसैले वैदेशिक रोजगारी वर्तमानको अनिवार्य आवश्यकता बन्यो । समान्य घरव्यवहार चलाउन पनि मुश्किल पर्दै गएपछि अतिरिक्त आयआर्जनका लागि विदेशिनुपर्ने आवश्यता मात्रै रहेन, अपरिहार्य नियति बन्यो । यो कुरामा विमति राख्न गाह्रो पर्छ, अवश्य । तर सबै नेपालीहरुका सन्दर्भमा त्यो कुरा लागु हुन्छ भन्न सकिन्न । विदेशीएका नेपालीहरुमध्येको सानो हिस्साको लागि मात्र वैदेशिक रोजगार निर्विकल्प रहेपनि अधिकांश नेपालीहरुका लागि भने यो उपलब्ध विभिन्न विकल्पहरुमध्येको एउटा मात्र हो । आयआर्जन आवश्यकता हो तर वैदेशिक रोजगारीविना कामै चल्दैनथ्यो भन्ने कुरामा सत्यता छैन । त्यो आवश्यकतापूर्तिको सरल साधनसम्म हो ।
समाजमा विकसित भएको विदेशिने प्रवृत्तिबाट उत्पन्न रहर हो । पहाडमा हजारौं लाखोैं रोपनी जमिन बाँझो बसेको छ । हिमालमा हजारौं भेडीगोठहरु वेवारिसे अवस्थामा छन । प्राकृतिक वरदानका रुपमा रहेका जडीबुटीहरु जङ्लमै सडीरहेका छन । हजारौं मेघावाटको जलविद्युत क्षमता व्यर्थ खेर गैरहेको छ । कृषिप्रधान भनिएको मुलुकमा तराईका उब्जाउ भूमि समेत बालीविहिन रहन थालेका छन् । ती अमूल्य आयआर्जनका श्रोतहरुको उपेक्षा गरेर विदेशतिर भासिने प्रवृत्तिलाई कुन अर्थमा वाध्यताको उपज भनेर मान्न सकिन्छ र ? विदेशमा नेपालीहरुको स्थिति कल्पना गरेजस्तो सजिलो पनि छैन । जसरी रातदिन र सजिलो अप्ठेरो केही नभनीकन विदेशमा परिश्रम गरिन्छ त्यसरी नै आफ्नै माटोमा श्रमपसिना खर्च गर्ने हो भने सामान्य जीविकाका लागि विदेशिनुपर्ने वाध्यता सिर्जना हुने थिएन । त्यो त हामीमा रहेको इच्छाशक्तिको कमिको परिणाम हो । श्रमको सम्मान गर्ने संस्कारको विकासको अभाव हो । आपसी सदभाव, सहयोग, हातेमालो गर्ने परम्पराको विकासको नहुनुको परिणति हो ।
“देशमा अवसर उपलब्ध भैदिएका भए अथाव नेताहरुले देश नबिगारिदिएका भए विदेश पलायन हुनु पर्दैनथ्यो” भन्ने भनाई सबैतिर सुनिन्छ । त्यसमा आंशिक सत्यता अवश्य छ । तर सम्पूर्ण सत्य त्यति मात्र होइन । नोलीहरुमा विकसित भएको विदेश पलायनको प्रवृत्तिलाई त्यो आक्षेपले प्रमाणित गर्दैन । राजनीतिक नेतृत्वलाई अकर्मण्य बनाउने एउटा कारण युवाशक्तिको विदेश पलायन पनि हो । कामको अवसरको माग गर्ने दवाव समूह नै देशमा अनुपस्थित रहेपछि राजनीतिले हाइसञ्चो मान्ने परिस्थिति निर्माण भएको छ । देशमा नयाँ नयाँ रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने दवाव राजनीतिले महसुस गर्नुपर्ने अवस्थै छैन ।
विदेशी भूमिमा बसेर कुनै नेताको भजन गाउँदैमा वा कसैलाई सत्तोसराप गर्दैमा अथवा बिरानो भूमिमै बसेर नेपाली राजनीतिको पिछलग्गु बन्दैमा अथवा नेपालको विकास निर्माणको निहँु बनाएर विदेशमै अनेक नामरुपमा संस्थाहरु खडा गर्दैमा देशको विकास हुने होइन । त्यसले वास्तवमा देशविकासमा कुनै योगदान पु¥याउन सक्दैन । साँचो अर्थमा देश विकासको चिन्ता गर्ने हो भने विदेशमा आर्जन गरेको पूजिँको निवेश आफ्नोे मुलुकको उद्योग धन्दामा गर्ने आँट देखाउनुपर्छ, । आर्जन गरेको सिप र ज्ञानको उपयोग आफ्नै मुलुकमा गर्ने हिम्मत देखाउनुपर्छ । आफू भने विदेशी भूमिमै रमाउने अनि देशमा बसेर जानी नजानी समाजविकासको प्रयत्नमा लागेका व्यक्ति वा समूहहरुलाई गाली गर्नु व्यर्थ छ । त्यसले त समाजमा मनमुटाव र वैमन्यस्यको खेतिमा मात्र मलजल पु¥याउने हो । देश र समाजको भलो किमार्थ गर्न सक्तैन ।
वैदेशिक रोजगार नत निन्दनीय पेशा नै हो न छिछी दूरदुर गर्नुपर्ने व्यवशाय नै हो । वैदेशिक रोजगारीप्रति अत्यधिक आसक्तिले कतै मुलुक, समाज र स्वयम आफ्नै भाविपुस्तालाई नोक्सान पु¥याइरहेको छ कि भनेर प्रश्न उठाउनुको अर्थ त्यसको निन्दा आलोचना गर्ने मनसाय होइन । अवश्य, वैदेशिक रोजगारी नेपालीहरुको वर्तमानको वाध्यताको विषय हो । वैदेशिक रोजगारीबाट मुलुकले रेमिट्यान्स पाएको मात्रै होइन, त्यसबाट रोजगारीमा संलग्न हुने मौका पाउनेहरुले धेरै कुरा सिके जानेका पनि छन । थुप्रै कामहरुको अनुभव सँगालेका छन् । नयाँ नयाँ प्रविधिहरुको जानकारी पाएका छन् । विज्ञान र प्रविधिसँगको सात्क्षात्कारले मानिसहरुलाई दक्षता र सिप दिएको छ । उद्यमशिलताको चेतना प्रदान गरेको छ । आफूले सिकेको ज्ञान, सिप, प्रविधि र पूँजीको उपयोग आफ्नो भूमिमा गर्ने हो भने मुलुकको उन्नतिप्रगतिको मार्गमा त्यो कोसेढुङ्गा सावित हुनसक्छ । देश विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।
वैदेशिक रोजागारीको अवसरलाई जीविकोपार्जनको माध्यमको रुपमा मात्र लिनुभन्दा त्यसलाई स्थलगत अध्ययन (फिल्ड स्टडी)को रुपमा वा प्रयोगात्मक शिक्षण(इन्टर्नसिप) को रुपमा लिनसक्दा त्यो जिवनपयोगी विषय बन्न सक्दछ । अवश्य कैयौं मानिसहरुले दशकौंको समय र लाखौंको खर्चनिवेश गरेर सिक्न बुझ्न सकिने सिप ज्ञान छोटै अवधिको वैदेशिक रोजगारीको सिलसिलामा आर्जन गरेको देखिन्छ । तर विडम्बनाको कुरा के रहेको छ भने त्यस्तो ज्ञान र सिपको उपयोग आफ्नै माटोमा गर्ने र अरुलाई सिकाउने कुरामा हाम्रो रुचि रहेन अथवा त्यस्तो अनुकूल वातावरण नै बनेन । वातावरण तयार गर्ने तदारुकता र रुचि राज्य र व्यक्ति दुबैमा देखिएन ।
वैदेशिक रोजागारीमा रहेको वर्तमान पुस्ता आफू त परनिर्भर बन्यो बन्यो, जानेर वा नजानेर देशमै रहेका छरछिमेकी आफन्तहरुलाई पनि विदेश पलायन हुने प्रवृत्तितिर उत्प्रेरित गरिहेको छ भन्दा फरक पर्दैन । आफूले पाएको हण्डर र खेपेको दुःख लुकाउने अनि अकल्पनीय दुखः शास्तीसँग आर्जेको रकम खर्चेर अनावश्यक तडकभडक प्रदर्शन गरेर अरुलाई समेत आकर्षित गर्ने गरेको देखिन्छ । न अमेरिकामा एक हातले मुखमा स्यान्डवीच कोच्दै अर्को हातले ग्राहकको गाडीमा पेट्राल भदैं गर्दाको कष्ट आफन्तलाई सुनाउछन न अरबको खाडीमा ५५ डिग्री सेल्सियसको गर्मीमा असिन्धारा पसिना चुहाउँदै १८ भण्टा काममा खट्नुपर्ने व्यथा सुनाउन रुचाउँछन् । बरु आधावर्षको कमाई खर्चेर किनेका मूल्यवान स्मार्ट फोन, स्मार्ट टिभी, चश्मा, घडी, जुत्ता, कपडा आदिको अनावश्य प्रदर्शन गरेर दुई वर्षको दुखको कमाई दुई महिनामै उडाएर शान देखाउने प्रवृत्तिले छिमेकी आफन्तहरुलाई दिग्भ्रमित बनाइदिन्छ । सुख चयनको शुषुप्त आकांक्षालाई जागृत गराइदिन्छ । अनि दैलामुनीको पाटोफोटो सित्तैमा फालेरै भएपनि विदेश जाने र ऐस आरामको जीन्दगी बिताउने स्वैर कल्पनामा रमाउन उक्साउँछ ।
दुखकष्ट पूर्वक कमामएको धन भएपनि आवश्यक पर्दा उदारतापूर्वक खर्चने नेपालीहरुमा राम्रो प्रवृत्ति छ । दुख विमार वा अन्य कारणले कष्टमा रहेका नेपालीहरुलाई आफ्नो कमाईको सानो हिस्सा सहयोग स्वरुप प्रदानगर्ने परम्परा नै बसेको छ । अवश्य मानवीय समवेदनाको प्रदर्शन राम्रो कुरा हो । तर व्यक्ति व्यक्तिलाई व्यक्ति व्यक्तिले सधै सरसहयोग गर्ने परम्परा बसाल्नु राम्रो हो जस्तो लाग्दैन । त्यस्तो सहयोग र दानलाई संस्थागत बनाउनु बढी उपयोगी र दीर्घजीवी हुन्थ्यो । उदाहरणका लागि असक्तलाई उपचारको निमित्त पटके चन्दा उठाउने परम्परालाई लिन सकिन्छ । हरेक पटक व्यक्तिविशेषका लागि उपचार खर्च जुटाउने चन्दा अभियान चलाउनुभन्दा सबै मिलेर सार्वजनिक अस्पताल खोल्ने र असहाय, असक्त र विपन्न व्यक्तिहरुलाई निशुल्क वा उसको आमद हैसियत अनुसार आंशिक शुल्कमा उपचारको व्यवस्था मिलाउने हो भने अहसहाय र विपन्नहरुले उपचार पनि पाउने र केही थप रोजगारीका अवसरहर पनि सिर्जना हुनसक्छन । अस्पतालमा लगानी गर्नेहरुले थोरै भए पनि प्रतिफल पाउनसक्ने हुन्छ । त्यस्तो व्यवस्थाले समाजसेवालाई स्थायी रुप दिन्थ्यो र दैवी प्रकोप पिडितहरु वा अन्ध अपाङ्गहरुलाई योग्यता, सिप र उमेर अुनसारको ससानो रोजगारीको अवसर पनि उपलब्ध गराउन सकिने हुनसक्थ्यो ।
वैदेशिक रोजगारी सबै नेपालीहरुका लागि वर्तमानको अनिवार्य आवश्यकताको रुपमा देखिए पनि त्यसलाई अपरिहार्य वाध्यताको रुपमा बुझनु वा व्याख्यागर्नु भूल हुन्छ कि भन्ने कोणबाट पनि हेर्नु उपयुक्त हुन्छजस्तो लाग्छ । यो निर्विकल्प अवसर होइन । यो साध्य पनि होइन । यसको विकल्प नखोज्नु आफ्नै दुर्भाग्य निम्त्याउनु हो । विकल्पहीन त केही कुरा पनि हुदैन । नेपालको सन्दर्भमा वैदेशिक रोजगारीका अनेकौं विकल्पहरु छन । अनगिन्ति सम्भावनाहरु उपलब्ध छन । कसैले समाज भाँड्यो र देश विगा¥यो भनेर आक्षेप लगाउनु वास्तवमा आफ्नै नादानीको सार्वजनिक प्रदर्शनी गर्नु हो । देश भनेको माटो हो भने माटो यथावत छ । प्रकृतिले दिएका मूल्यवान उपहारहरु यथावत छन । होइन, देश भनेको जनता हुन भनेर मान्ने हो भने जनता हामी सबै हौ । अरुले विगारेर वा भाँड्न खोजेर भाँडिनु वा विग्रनु त हामी आप्m्रनै कमजोरी ठहरिन्छ । त्यसैले देश बिग्रिएको होइन, छैन । बिग्रेको र बिगारिएको भनेको व्यवस्था हो । व्यवस्था र व्यवस्थाका सञ्चालकहरु सर्वकालिक हुँदैनन । ती मर्छन, मासिन्छन । तीनको ठाउँमा नयाँ व्यवस्था र नयाँ सञ्चालक स्थापित गर्ने जिम्मेवारी जनताको हातमा रहन्छ ।
विकास भनेको जादु टुना गरेजस्तो होइन । त्यसले समय लिन्छ । नेता वा व्यवस्थाको सञ्चालक पनि यही समाजको उत्पादन हो । कसैमा पनि अदभूत चमत्कारिक शक्ति हुदैन । लोकतन्त्रमा नेता र जनता उत्तिकै जिम्मेवार र अधिकार सम्पन्न हुन्छन । खराब कुराको स्वस्थ आलोचना गर्ने, अरुलाई सच्चिने अवसर दिने र आफू पनि सच्चिने संस्कारको विकास गरौं । हरेक नागरिकले समाज विवकासको अभियानमा आफूसक्दो सहयोग गरोैं । टेवा पु¥याउँ । आफ्नो गल्ती देख्दै नदेख्ने र अरुका भने नभएका गल्ती पनि देख्ने वानी परित्याग गरौं । साना ठूला सबैले हातेमालो गरेर देशको समुन्नतिमा समर्पित होऔैं । घृणा होइन, प्रेम गर्न सिकोैं । प्रतिशोध होइन, सहयोग गर्ने बानी बसालोैं । अधिकार खोज्नुपूर्व जिम्मेवारीबोध गरोैं । म होइन, हामी भन्न सिकौं । सदाकाल विषवमन गर्ने होइन, अमृतवर्षा गर्ने प्रयत्न गरोैं । हामीले असल संस्कार अवलम्बन गर्न सिक्यौं भने अवश्य हाम्रो समाज पनि उन्नत हुनेछ । देश समृद्ध बन्नेछ । मुलुकको समृद्धिको सपना हाम्रै जीवनकालमा यथार्थमा रुपान्तरित हुनेछ ।
अन्तमा, कवि तथा प्रगतिशील गायक जीवन शर्माका यी पंक्तिहरु स्मरण गर्दै मेरो दुखेसो र गथासोको पोका बन्दगर्ने अनुमति चाहन्छु ।
“झरझर झर्ने झरनाले भन्छ हेर
कलकल बग्ने खोलानाला भनिरहछ,
पछाडि तिम्रो लामो कहानी, अगाडि तिम्रो सुन्दर विहानी,
उठ, उठ, जुट, जुट नेपाली जनता हो………………………।”
अस्तु ।