बुद्धभूमि नेपाल: गौरवमय इतिहास, चुनौतीपूर्ण वर्तमान

बुद्धको जन्म नेपालमा भए पनि बुद्ध जयन्तीको मिति श्रीलङ्काको आधारमा मनाइनु ऐतिहासिक अन्योलको विषय हो। भारतमा बौद्ध धर्ममाथि हिन्दूकरण, अतिक्रमण र विरूपण भयो भने नेपालमा सत्ताको उपेक्षाले बुद्धमार्गी घटे। खस र मगरहरूले मौलिकता गुमाए, शाह–राणाहरूले हिन्दूकरणलाई प्राथमिकता दिए। यसले बुद्ध धर्मको ओझेलमा पारिएको ऐतिहासिक यथार्थ उजागर गर्छ।

आज, राष्ट्रसंघद्वारा मान्यताप्राप्त जन्ममिति अनुसार, हामी २५६९ औं बुद्ध जयन्ती मनाइरहेका छौं। यद्यपि, यो मिति श्रीलङ्काबाट लिइएको हो र वास्तविक जन्ममितिभन्दा ६० वर्ष कम भएको मानिन्छ। बुद्धको महापरिनिर्वाणको लगभग ३०० वर्षपछि सम्राट अशोकको शासनकालमा “प्रथम बौद्ध संगीति” आयोजना भएको थियो। श्रीलङ्काले यही मितिलाई आधार मानेको भए तापनि यो बुद्धको मृत्युभन्दा ६० वर्ष पछिको देखिन्छ। बुद्धको जन्म, मृत्यु र ज्ञान प्राप्ति एउटै तिथि, अर्थात् वैशाख पूर्णिमामा भएकाले यो अन्योल सिर्जना भएको बताइन्छ।

बुद्धको जीवन भारतमा व्यतीत भए पनि उनको जन्म नेपालमा भएको सर्वविदित छ। तर, राष्ट्रसंघले बुद्ध जयन्तीको आधिकारिक मितिको रूपमा श्रीलङ्कामा प्रचलित मितिलाई मान्यता दिएको छ। यसको कारण खोज्नु आवश्यक छ। ऐतिहासिक प्रमाणहरूले भारतमा बौद्ध धर्मको अस्तित्व मेटाउने ठूलो प्रयास भएको देखाउँछन्। अङ्ग्रेजहरूको आगमनपछि अशोकका शिलालेखहरूको भाषा decipher भएपछि बौद्ध धर्मको इतिहास उजागर भयो। त्यसअघि स्थानीय समाजले ती अभिलेखहरूको लिपि पढ्न सकेको थिएन।

अशोककालीन अभिलेखहरूको अध्ययनबाट बौद्ध धर्मसँग सम्बन्धित संरचनाहरू नष्ट गरिएको, भत्काइएको र अतिक्रमण गरिएको तथ्यहरू बाहिर आए। जगन्नाथ, बद्रीनाथ, केदारनाथ, सोमनाथ, मुक्तिनाथ र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक स्थलहरू वास्तवमा बौद्ध संरचनाहरू अतिक्रमण गरिएका स्थानहरू हुन् भन्ने कुरा विस्तारै स्पष्ट हुँदै गएको छ। बुद्धका मूर्तिहरूलाई हिन्दू देवीदेवताको रूपमा नामाकरण गरिएको, सिगारिएको वा विकृत पारिएको उदाहरणहरू पनि प्रशस्त छन्। कतिपय स्थानमा बुद्धका मूर्तिहरूलाई देवीको रूपमा पूजा गरिएको छ भने पञ्च बुद्धमूर्तिलाई पञ्च पाण्डव भनेर मान्ने प्रचलन पनि देखिएको छ।

बौद्ध संरचनाहरूमाथिको हस्तक्षेप, अतिक्रमण र विरूपणको मुख्य जिम्मेवार को थियो भन्ने प्रश्न महत्त्वपूर्ण छ। मूलतः भारतमा शंकराचार्यको उदयपछि बौद्ध धर्ममाथि अत्याचार र आक्रमणको सिलसिला सुरु भयो। बौद्ध विश्वविद्यालयहरू ध्वस्त पार्ने, पुस्तकालयहरू जलाउने, विहारहरू अतिक्रमण गर्ने र भिक्षुहरूको हत्या गर्ने अभियान चलाइएको इतिहासमा उल्लेख छ।

महायानी सम्प्रदाय पनि बौद्ध धर्म र हिन्दू धर्मबीच अन्योल सिर्जना गर्ने एउटा महत्त्वपूर्ण कारण बनेको देखिन्छ। बाहिरबाट भारतभूमिमा प्रवेश गर्ने राजाहरूले महायानी धर्म विस्तार गरेको देखिन्छ। बुद्धको पहिलो मूर्ति स्थापना गर्ने कुषाणवंशी राजा कनिष्क थिए। महायानीहरूले बुद्ध मात्र नभई हिन्दू र युनानी देवताहरूका मूर्तिहरू पनि स्थापित गर्ने र मान्ने गरेको देखिन्छ। विनायक, ब्रह्मा, इन्द्र र शिव (अवलोकितेश्वर) जस्ता हिन्दू देवताहरूलाई पनि उनीहरूले स्वीकारेको देखिन्छ। महायानीहरूले बुद्धसँगसँगै हिन्दू देवीदेवताका मूर्तिहरू स्थापना गर्ने प्रचलनले कैयौं बुद्धमूर्तिहरूलाई हिन्दू देवता मानेर पूजा गर्ने परम्परा सुरु भयो।

कतिपय हिन्दू देवताका शिरमा बुद्धलाई राखिएको पनि देखिन्छ।
अब नेपालको परिप्रेक्ष्यमा हेरौं। बुद्धको जन्मभूमि नेपाल हो भन्ने कुरा प्रमाणिक रूपमा स्थापित भइसकेको छ। तैपनि, नेपालमा बुद्धमार्गीहरूको संख्या ९ प्रतिशत मात्रै हुनुको कारण सत्ताको भूमिका हो। धर्म विस्तारमा राज्यको महत्त्वपूर्ण भूमिका हुन्छ। भारतमा अशोकको उदयपछि बौद्ध धर्मले व्यापक मान्यता पाएको थियो। अशोकपछि मध्य एसियाबाट आएका शक, कुषाण र हैहय वंशका शासकहरूले पनि बौद्ध धर्मलाई संरक्षण गरे। तर, नवौं शताब्दीतिर स्थापित भएको वर्धन वंशको समयदेखि हिन्दू धर्मले प्रश्रय पाउन थाल्यो।

नेपालको सन्दर्भमा तिब्बततिरबाट आएका अधिकांश जातिहरू र दक्षिण कपिलवस्तुतिरबाट बसाइँ सरेका शाक्यहरू बौद्ध धर्मावलम्बी देखिन्छन्। काठमाडौं उपत्यकामा मल्लहरूको शासन सुरु भएपछि बौद्ध धर्म क्रमशः ओझेलमा पर्दै गयो। पश्चिमको खस राज्यको राजधर्म बौद्ध थियो। खस राज्यको विघटनपछि, अर्थात् बाइसे चौबीसे राज्यहरूको उदयपश्चात् बौद्ध धर्मले राज्यको संरक्षण गुमायो र विस्थापित हुँदै गएको देखिन्छ। खस समाजले बौद्ध धर्म बिर्सिए पनि पूर्ण रूपमा हिन्दू धर्म अङ्गीकार गर्न हिचकिचाएको देखिन्छ र आफ्नो पुरानो रीतिरिवाज र संस्कृतिलाई जोगाउँदै आएको छ। प्राचीन मगरातको मगर संस्कृति भने निकै गिजोलिएको देखिन्छ।

गुरुङ समुदायको लोकव्यवहारमा बोन संस्कृति जीवित भए पनि हिन्दू संस्कृतितिर ढल्किने प्रयास भएको देखिन्छ। तामाङहरू मूलतः बौद्ध नै देखिन्छन्। उपत्यकाको नेवार संस्कृति बुद्ध र हिन्दू धर्मको मिश्रण बनेको छ। राई लिम्बूहरूमा अलगै किराँत संस्कृति छ भनिन्छ, तर धर्म भने किराँत र हिन्दू धर्मबीच अलमलिएको देखिन्छ। तराईमा थारु, कोचे, मेचे र राजवंशीहरूको मौलिक संस्कृति जीवित छ, तैपनि बहुसंख्यक मानिसहरू हिन्दू धर्मबाट प्रभावित छन्। अर्थात्, तराईमा गैर-हिन्दू समुदायको बाहुल्यता भए तापनि हिन्दू भनिने चलन छ। बुद्धको जन्मस्थल भए पनि तराईमा गैरबौद्धहरूको बसोबास बढी देखिन्छ।

मध्यकालपूर्व वर्तमान नेपालको भूगोलमा बौद्ध धर्मको वर्चस्व रहेको ऐतिहासिक प्रमाणहरूले देखाउँछ। बौद्ध धर्मलाई सबैभन्दा बढी नोक्सान पुर्‍याउने कारण खस साम्राज्यको पतन थियो। खस राज्यको विघटनपछि च्याउ झैं उम्रिएका बाइसे चौबीसे राज्यहरूमा ब्राह्मण धर्मले प्रभाव विस्तार गर्ने अवसर पायो। दक्षिणबाट आएका संस्कार र पर्वहरूले फल्नेफुल्ने मौका पाए। खासगरी खस र मगरहरूले आफ्नो मौलिकता बिर्सिए। त्यसमाथि खसहरूले जनै भिरेर क्षेत्री ठकुरी बन्ने प्रयास गरे।

काठमाडौं उपत्यका पूर्वदेखि सिक्किमसम्म राज्य विस्तार गर्ने पृथ्वीनारायण शाहलाई ब्राह्मणहरूले ‘असली हिन्दुस्तान’ बनाउन उक्साए। शाह र राणा शासकहरू यस बहकाउमा लागे। महेन्द्रले २०१९ सालमा नेपाललाई संवैधानिक रूपमा हिन्दू अधिराज्य बनाए। महेन्द्रले प्रजातन्त्र मात्रै मासेनन्, बुद्ध धर्मको स्वामित्व लिनुपर्ने दायित्व पनि त्याग्ने अपराध गरे। खासगरी राणा र शाह शासकहरू नेपालबाट बुद्ध धर्म संस्कृतिलाई हटाउने कारक बने। यसरी आफ्नो मौलिक धर्म संस्कृतिको उपेक्षा गरेर आयातित धर्मलाई अँगाल्ने कार्य उपत्यकाका मल्ल, गोरखाली शाह र राणा (कुँवर) हरूको शासनकालमा भएको देखिन्छ।

सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा बुद्ध जयन्तीको हार्दिक शुभकामना।