रिजेन्ट रेसिडेन्सियल स्कुलद्वारा १४औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुरले फागुन ३ गते १४औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। २,००० भन्दा बढी अभिभावक, विद्यार्थी तथा अतिथिहरूको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत भए। बिद्यालय प्रशासनले यसलाई गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण अवसरको रूपमा लिएको छ।

ललितपुर, फागुन ३ – रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुरले आफ्नो १४औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको नियमित कार्यक्रमहरूमध्ये एक महत्वपूर्ण कार्यक्रमको रूपमा लिइने यस उत्सवमा २,००० भन्दा बढी अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, अभिभावक प्रतिनिधिहरु, पुर्व बिद्यार्थिहरु, शिक्षाविद् तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालय संयोजक रामजी आचार्यले गर्नुभएको थियो भने प्रधानाध्यापक नवराज सन्जेलले सभापतित्व गर्नुभएको थियो। विद्यालयको तर्फबाट स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक सन्जेलले विद्यालयको उपलब्धिहरू, शिक्षण–शिक्षण प्रक्रियामा भएका सुधार, भावी योजना तथा अभिभावकहरूको भूमिकाबारे चर्चा गर्नुभयो। उहाँले विद्यालयले पछिल्ला वर्षहरूमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन, प्रबिधिको बिकास सङै आत्मसात, नवप्रवर्तनशील शिक्षण पद्धति, अतिरिक्त क्रियाकलापको विस्तार तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणाली अवलम्बन गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा समाजसेवी श्री मिठाराम शर्मा बजगाईंले गमलाको फूलमा पानी हालेर औपचारिक उद्घाटन गर्नुभएको थियो। उहाँले विद्यालयको निरन्तर प्रगति, विद्यार्थीहरूको प्रतिभा र शिक्षक-शिक्षिकाहरूको समर्पणको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको प्रयास सराहनीय रहेको बताउनुभयो।

विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, नाटक गीत र संगीत प्रस्तुत गरेका थिए। विभिन्न जातीय भेषभूषामा सुसज्जित विद्यार्थीहरूले नेपाली कला, संस्कृति, परम्परा तथा आधुनिकतालाइ समेत समेट्ने गरि प्रस्तुति दिएका थिए। नेपाली, नेवारि, चाइनिज तथा अंग्रेजी भासाका गितहरुमा, नृत्य, गायन तथा अभिनय प्रस्तुत गर्दै विद्यार्थीहरूले अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

विद्यालयले यस भव्य कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न दुई चरणमा विभाजन गरेको थियो। पहिलो चरणमा कक्षा नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूले ३५ ओटा आकर्षक प्रस्तुति रहेका थिए भने दोस्रो चरणमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले २९ वटा विविध प्रस्तुतिहरुरहेका थिए।

विद्यालयले आफ्नो शिक्षण तथा प्रशासनिक कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने एकजना शिक्षक र एकजना कर्मचारीलाई विशेष सम्मान प्रदान गरेको छ। शिक्षकतर्फ रमिला स्याङ्तान र कर्मचारीतर्फ खड्क बहादुर तिवारीलाई सम्मान पत्र, दोसल्ला तथा नगद रु. १५,०००/- प्रदान गरिएको थियो। प्रधानाध्यापक सन्जेलका अनुसार विद्यालय प्रशासनले निरन्तरता, कर्तव्यनिष्ठा तथा उत्कृष्ट कार्यसम्पादनका आधारमा उहाँहरूको नाम सिफारिस गरेको थियो।

कार्यक्रमको अन्त्यतिर विद्यालयका सह-प्रधानाध्यापक डा. विद्या पोखरेलले समापन मन्तव्य राख्दै सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विद्यालयले आगामी वर्षहरूमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अभिभावकहरूको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।

विद्यालय प्रशासनले यस कार्यक्रमलाई विद्यालयको ब्रान्डिङ तथा गुणस्तरीय शिक्षाको पहिचान स्थापित गर्ने अवसरका रूपमा लिएको छ। अभिभावकहरूले पनि विद्यालयले आयोजना गरेको भव्य कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूको प्रतिभा निखार्ने यस्ता गतिविधिहरूलाई अझ प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका थिए।

१४औं वार्षिक उत्सव तथा अभिभावक दिवस शिक्षा, संस्कृति र प्रतिभाको संगम बनेर सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले आफ्ना विद्यार्थीहरूलाई सिर्जनात्मक तथा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताएको छ।