नेपाली भएर नेपाली संस्कृतिप्रति घृणा किन?

नेपाली भएर नेपाली संस्कृतिप्रति घृणा किन?

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक देश हो, जहाँ हरेक व्यक्तिलाई आ-आफ्नो धार्मिक आस्था अनुसार बाँच्ने स्वतन्त्रता छ। तर पछिल्लो समय केही नव-धर्मावलम्बीहरूबाट देखिएको आफ्नै मौलिक संस्कृतिप्रति उपेक्षा र विरोधले गम्भीर प्रश्न उठाइरहेको छ—के यो धर्म परिवर्तन हो कि सांस्कृतिक विस्मरण?

धार्मिक स्वतन्त्रता प्रत्येक व्यक्तिको मौलिक अधिकार हो। जो–जसले जुनसुकै धर्म आस्था अनुसार ग्रहण गर्छन्, त्यसमा अन्यलाई आपत्ति जनाउने अधिकार छैन। तर नेपालजस्तो सांस्कृतिक रूपमा धनी देशमा बसोबास गर्ने हामी नेपालीले आफ्नै मौलिकता र पहिचानलाई हेप्ने, उपेक्षा गर्ने, र तिरस्कार गर्ने व्यवहार देखाउँदा भने मनमा गहिरो पीडा उत्पन्न हुन्छ।

म कुनै पनि सम्प्रदाय, मुस्लिम वा सबै क्रिश्चियनप्रति पूर्वाग्रही छैन। तर केही यस्ता नेपाली क्रिश्चियनहरू जसले हिन्दु धर्म र नेपाली संस्कृतिलाई तुच्छ ठान्छन्, मुस्लिम जो हिन्दुको बिरोध नै धर्म ठान्दछन, त्यस प्रवृत्तिप्रति म गम्भीर प्रश्न उठाउन चाहन्छु। यस्ता व्यक्ति अधिकांशतः हालै धर्म परिवर्तन गरेका नेपालीहरू हुन्, जसका पितापुर्खाहरू हिन्दु धर्मालम्बी थिए। शायद उनीहरूको परिवारमा यो परिवर्तन दुई वा तीन पुस्ताअघि मात्र भएको हो।

अवलोकन गर्दा पत्ता लाग्छ—धेरैजसो विदेशी नागरिकहरू, जो जन्मजात क्रिश्चियन हुन्, नेपालमा आएपछि यहाँको संस्कृति, धर्म, र परम्परालाई उच्च सम्मान गर्छन्। उनीहरू मन्दिर जान्छन्, टिका लगाउँछन्, प्रसाद ग्रहण गर्छन्, चाडपर्वमा सहभागिता जनाउँछन्। कतिपयले त नेपाली संस्कारअनुसार विवाहसमेत गर्छन्। यस्तो देख्दा हाम्रो संस्कृतिको अन्तर्राष्ट्रिय प्रभावप्रति गर्व लाग्छ।

तर यतिखेर हाम्रो समाजमा केही नव-क्रिश्चियन नेपालीहरू यस विपरीत आचरण गरिरहेका छन्। उनीहरू हिन्दु पर्वहरू जस्तै दशैं, तिहार, भाइटिका, मातातीर्थ औंसीजस्ता नेपाली मौलिक चाडपर्वलाई मात्र हिन्दु धर्मसँग जोडी त्यसको बहिष्कार गर्छन्। भाइटिका नेपालीहरूको साझा पर्व हो—धार्मिक भन्दा पनि सांस्कृतिक एवं पारिवारिक सम्बन्ध सुदृढ गर्ने अवसर हो। मातातीर्थ औंसीजस्तो अवसर आमा प्रतिको श्रद्धा व्यक्त गर्ने दिन हो, जुन कुनै पनि धर्मको मूल भावना–“आदर र प्रेम”–संग मिल्दोजुल्दो छ।

धार्मिक पुस्तकमा के लेखिएको हो? बाइबलले साँच्चिकै आमा–बुबालाई आदर नगर्नुहोस्, मन्दिरबाट ल्याएको फलफूल नखानुहोस् भनेर लेखेको हो? कि नेपाली संस्कृतिसँगको दूरी दर्शाउनु नै आफ्नो निष्ठाको प्रमाण ठानिएको हो?

हामी सबैलाई धर्म परिवर्तन गर्ने स्वतन्त्रता छ, तर नयाँ आस्थाको पालन गर्दैमा पुरानो पहिचानको उपहास गर्नु कदापि उचित होइन। नयाँ फूल रोपिँदैमा बगैचाका पहिलेका फूलहरू निमोठ्नु हुँदैन। किनभने नेपाली चाडपर्व र परम्पराहरू ती नै फूलहरू हुन् जसले नेपालरूपी बगैचालाई सुन्दर बनाएका छन्, र हामी नेपालीलाई विशिष्ट सांस्कृतिक पहिचान प्रदान गरेका छन्।

अतः जुनसुकै धर्म मानौँ, तर नेपाली संस्कृतिप्रति श्रद्धा, सम्मान र सहिष्णुताको भाव अवश्य राखौँ। सम्मान गर्न मन नलागे पनि, तिरस्कार गर्ने अधिकार कसैलाई छैन।

“नेपाली हामी रहुँला कहाँ, नेपालै नरहे!”
हुन त नेपाल भूमिको नाम हो, तर नेपालीको आत्मा भने यसकै संस्कृतिमा बस्छ। त्यसैले, संस्कृति मरेपछि, अस्तित्व मात्रै बाँकी रहन्छ—पहिचान होइन।