जगन्नाथ मन्दिर पुलाचौरको मूर्ती चोरीको प्रसङ्ग !

नेपालमा ऐतिहासिक मूर्तिहरू चोरी व्यापक थियो। गाजने जगन्नाथ मन्दिर पुलाचौरबाट चार मूर्तिहरू हराए। पुलामी समाज खोजीमा लागेपछि मूर्तिहरू बरङ्जामा फेला परे। शक्तिशाली व्यक्तिहरूको पहुँचले मुद्दा कमजोर बनाइयो। पुरातत्व विभागले मूर्तिहरू पुराना होइनन् भन्ने प्रमाणपत्र जारी गर्‍यो। अदालतले मूर्तिहरू बाग्लुङमा पठायो। अन्ततः राजाको हुकुम प्रवाङ्गीपछि मूर्तिहरू पुनःस्थापना गरियो। कार्बन डेटिङ परीक्षणबाट सत्यता पुष्टि हुन सक्छ।

च”खरफुसको छानो, काँचो इट्टाको गारो (पर्खाल)” !
हाम्रो पुस्ताले देखेजानेको मन्दिरको स्वरुप यस्तै थियो । वर्तमान शिखर शैलीको मन्दिर बनेको ४/५ बर्ष मात्रै भयो। उक्त मन्दिरबाट मूर्तिहरु चोरिएका थिए रे भन्ने कुरा सुनेका भए पनि घटनाको यथार्थ सबैलाई जानकारी नहुन सक्छ । घटना विवरण यस्तो थियो:

बिरेन्द्र राजाको राज्यारोहणको सातै बर्षमा पञ्चायत व्यवस्थामा संकट देखापर्‍यो । जनमत संग्रहको नौटङ्की गरियो। जनमत संग्रह हुनुभन्दा अगाडिको कुरा हो । गाँजाचरेसको बजार खुला हुँदाताकादेखि पुराना मूर्तिहरुको चोरी बजार पनि फष्टाएको थियो ।

देशको कानुन नलाग्ने वर्गका मानिसहरु पनि त्यो चोरी व्यवसायमा संलग्न छन् भन्ने हल्ला व्यापक थियो । चर्चित मन्दिर र दरबारहरुमा स्थापित गरिएका पुरातात्विक महत्वका मूर्तिहरु उखेल्न रातमा डोजर र क्रेनहरु प्रयोग गरिन्छन् भन्ने हल्ला सुनिन्थ्यो। राजधानीका मन्दिर देवलहरु मूर्तिविहीन बन्दै गएका थिए। कुना कन्दराका प्राचीन मूर्तिहरु बच्ने कुरै भएन। म्याग्दी ताकमकोटबाट मूर्तिहरु चोरिए । बेनीको मध्येबजारबाट एउटा पुरानो मूर्ती हरायो। एकदिन गाजने जगन्नाथको मन्दिरबाट पनि चार वटा मूर्तिहरु हराए। तिन वटा सुनको लेपन लगाइएका ढलौटका र एउटा प्रस्तर मूर्ती।

चोरको हातबाट खोसेर ल्याइ हाल पुनस्थापित गरिएका मूर्तिहरु राम, सीता र लक्ष्मण भनेर पुजिन्थे । आजकाल कृष्ण, बलराम र सुभद्रा भनेर पुजिने मूर्ती तिनै हुन् । अर्को एउटा प्रस्तर मूर्ति गणेशको हो। मूर्तिहरु हराएपछि ताकम र बेनीको जस्तै पुलामी समाज निरीह बनेर बसेन। होहल्ला र खोजखबरमा लाग्यो । हल्लाखल्ला मच्चिनाले मूर्तिहरुलाई खोलोडाँडो कटाउन मुस्किल पर्ने अवस्था सिर्जना गरियो।

शंकाको भरमा खोजी टोली बरङ्जा पुग्यो। स्थानीय सुराकीको सहयोगमा माटोमुनी गाडिएका मूर्तिहरु उत्खनन् गरेर निकालियो । पुलिसठानामा दसी प्रमाणसहित किटानी जाहेरी दिइयो। मुद्दा चल्यो । केही मानिसहरु समातिए। पोलिनेहरुमा सत्तामा पहुँच भएका मानिसहरुको नाम जोडियो। साँचो र निष्पक्ष न्याय निसाप हुने हो भने लहरोले पहरो तानिने परिस्थिति बन्यो।

निरङ्कुश पञ्चायती कालखण्ड थियो। पहुंचवालाहरु माथि देखाएर जति ठूलो अपराधबाट पनि जोगिन सक्थे। त्यो मामलामा पनि त्यस्तै कथा दोहोरियो। मुद्दा कमजोर बनाउनका लागि चोरिएका मूर्तिहरुलाई महत्वहीन ठहर्‍याउने प्रपञ्च रचियो । कानुनत: १०० वर्षभन्दा पुरानो मूर्ती मात्र पुरातात्विक महत्वको मानिन्छ । आफ्ना मान्छेलाई जोगाउन माथिसम्म (दरबार सम्म)पहुँच भएका मानिसहरु जगन्नाथका मूर्तिहरु नयाँ हुन् भन्ने प्रमाण जुटाउने षड्यन्त्रमा लागे। पुरातत्वविभागबाट चोरिएका मूर्तिहरु पुरातात्विक महत्वका होइनन् भन्ने फर्जी प्रमाण पत्र लेखाएर अदालत समक्ष पेश गर्ने पहुँवाला मान्छे आजसम्म जीवितै छन्। मूर्ती पुराना होइनन् भन्ने लिखत प्रमाण पाएपछि चोरहरुको सजायं कम भयो । एकदुई जना केही समय जेल पनि बसे । कैयौँले नाममात्रको जरिवाना तिरेर मुक्त भए ।

चोरी गर्नेहरु दण्डित भए तर मूर्ती मन्दिरमा फर्केनन् । त्यही बिचमा जनमत संग्रह भयो । पञ्चायत व्यवस्था विजयी भएपछि प्रशासनिक सुधारको नाममा पाँच विकास क्षेत्रहरु बनाइयो । र पालैपालो प्रत्यक वर्ष राजाको भ्रमण क्षेत्र क्षेत्रमा हुन थाल्यो। पुलामीहरुको हराएका मूर्तिहरु पुनस्थापना गर्ने प्रयाश जारी थियो। मूर्ती कहाँ छन् भनेर खोजी हुँदै थियो । दसीप्रमाणको रुपमा पुलिसको जिम्मा दिइएका मूर्तिहरु पुलिसठानाहरुमा थिएनन् । प्राचिनता परीक्षण गर्ने अड्डा पुरातत्व विभागमा पनि थिएनन् ।

कहाँ पुगे त मूर्तिहरु भनेर खोजीगर्दैजाँदा बाग्लुङ्ग जिल्ला अदालतको जिम्मामा रहेका भेटिए । सायद मुद्दा दायर गर्ने बेलासम्म बेनीमा जिल्ला अदालत स्थापना भएको थिएन कि अथवा अरु नै कुनै कारण मूर्तिहरु त्यहाँ पुगे कुन्नी ? मूर्ती भेटिए पनि फिर्ता पाउने सम्भावना देखिएन। अदालतलाई मन्दिरमा मूर्ती पुनस्थापना गर्ने आदेश थिएन । अब्बलमा अदालतले पुरातत्वको जिम्मा लगाउन सक्थ्यो । पुरातत्वको जिम्मामा पुगेपछी सुरक्षित त हुन्थे तर मूर्तिहरु मन्दिरमा फर्कंदैनथे ।

मूर्ती फर्काउने एउटै बाटो थियो- राजाबाट हुकुम प्रवाङ्गी गराउने।राजाको पश्चिमाञ्चल क्षेत्रको पोखरा मुकाममा निवेदन चढाउने सल्लाह भयो । राजाको हजुरमा चढाउने विन्तिपत्रको ड्राफ्ट गर्ने जिम्मा मलाई दिइयो । उक्त विन्तिपत्रको ड्राफ्ट र साफी दुबै मेरै हातबाट भएको हो । म्याग्दी जिल्ला प्रशासनमा त माओवादी आक्रमणमा परेर कागजपत्रहरु जले होलान्, बाग्लुङ जिल्ला अदालतको कुनै कुनामा मेरो हस्ताक्षरको उक्त लिखत जीवित हुनसक्छ ।

म्याग्दी पुलाका लालबहादुर बानियाँको माग जाहेरी अनुसार लालबहादुर बानियाँ र सम्बन्धित वडा सदश्यको जिम्मामा पुनस्थापनाको लागि मूर्तिहरु हस्तान्तरण गर्नु भन्ने व्यहोराको हुकुम प्रवाङ्गी पाएपछी बाग्लुङ्ग अदालतले म्याग्दी जिल्ला प्रशासनमा पठायो।

म्याग्दी जिल्ला प्रशासनले जगन्नाथमा “मूर्तिहरु पुनस्थापना गर्ने छौं” भन्ने कबुलियत गराएर तत्कालीन जिल्ला प्रौढ संगठनको जिल्ला अध्यक्ष लालबहादुर बानियाँ र सम्बन्धित वडा सदश्य गाजनेका रत्न बहादुर खत्री दुईजनाले मूर्तिहरु बुझिलिएको भर्पाईको एकप्रती प्रतिलिपि मसंग अझै सुरक्षित छ। मूर्ती चोरीमा तत्कालीन शाही दरबार समेत बदनाम थियो भन्ने प्रसङ्गमा एकजना मित्रले जगन्नाथको मूर्ती चोरीको घटनाको साइनो माथिसम्म जोडिन्छ कि भनेर जिज्ञासा होइन खिसीको अन्दाजमा प्रश्न राखेको हुनाले सार्वजनिक जानकारीका लागि यति लेख्नै पर्ने अवस्था आयो ।

पञ्चहरु जति ठूलो अपराध गरे पनि माथि देखाएर उम्कन्थे । माथि भनेको दरबार नै थियो भन्ने कुरा ओपन सिक्रेट हो । आजका चल्लालाई हिजोको कथाव्यथाको जानकारी रहने कुरा भएन। जगन्नाथका मूर्तिहरु तत्कालीन समयमा पुराना होइनन् भनेर पुरातत्वले दिएको प्रमाणपत्र सत्य थियो वा झुटो भन्ने कुरा कार्बोनडेटिङ गराउने हो भने स्पस्ट हुनेछ । यदी उक्त पत्र झुटो ठहर्‍यो भने चोरहरुलाई जोगाउन माथिको पहुँचको प्रत्यक्ष परोक्ष उपयोग गरिएको रहेछ भन्ने कुराको खुलासा हुनेछ ।