एउटा “पुलाडाँडो” थियो, एउटा “साङ्गेचौर” थियो । अर्को एउटा सिर्जनात्मक दिमागले पुलाडाँडोको “डाँडो” र साङ्गेचौरको “साङ्गे” मिल्काएर ठाउँको नयाँ न्वारन गर्यो। ‘पुलाचौर’। त्यो सिर्जनात्मक सोच थियो – नारायण प्रसाद रेग्मीको, र बेनी नगरपालिका वडा नं.-५ को सदरमुकामको रुपमा “पुलाचौर” को अस्तित्व बाँकी नै छ। पुलाचौर भन्ने सुन्दर नामका सिर्जनाकार, शिल्पी रेग्मीजी जीवित हुनुहुन्छ। डाँडामाथिको घाम भन्न मिल्ने उमेरका रेग्मीजीबाट जिज्ञासुहरुले बेलैमा त्यो कथा रेकर्ड गर्ने बुद्धि पुर्याउँदा राम्रो हुन्थ्यो होला। जनताको इतिहासको रेकर्ड तयार गर्ने चिनियाँ तरिका नेपालीहरुले कहिले सिक्ने खोइ ?!!
त्यही पुलामा नगरपालिकाले “रावण पार्क” बनाउने निर्णय लिएछ। रावणको मूर्ती स्थापना गर्ने भएछ। केही मुढ्मतिहरुलाई निर्णय बिझाएछ। हिन्दू धार्मिक आस्थामा आघात भयो भनेर कुरो उजुर नालिससम्म पुगेछ वा पुर्याइएछ। कुन न्यायिक निकायले हो कुन्नी रावण नामको पार्क बनाउन त हुन्छ रावणको मूर्ति स्थापना भने गर्न हुदैन भनेछ। त्यही न्यायिक निर्णय नामको पाखण्डको कारणले कुरो सर्वोच्चमै पुगेछ। न्याय नामको पाखण्डको पनि हद हुन्छ। रामायणबाट रावण झिकिदिने हो भने रामायणको के अर्थ हुन्छ र ? रामायण कथा लाई जीवन्त बनाउने पात्र रावण हो। अँध्यारो हुदैनथ्यो भने उज्यालोको के महत्व रहन्थ्यो र ? रामको चरित्र चम्काउने निमित्तनायक रावण नै त थियो ।
मानव समाजमा अनेक नामरुपका धर्म सम्प्रदायहरु छन। त्यो सत्य हो। विश्वजनआवादीको दुईतीहाई संख्याले कुनै न कुनै धर्म संस्कृति मान्छ भन्ने कुरा पनि सत्य हो। तर त्यही सत्य कुरा झुट कथाको जगमा उभिएको हुन्छ भन्ने कुरा पनि उत्तिकै सत्य हो। अर्थात धर्म झुटो मान्यतामा अडेको हुन्छ। धर्म मान्नेहरुका आआफ्नै आस्था छन। धर्म नमान्नेहरुका पनि आफ्नै आस्था विश्वास हुन्छ।
रावणको मूर्ती राख्दा आफ्नो धार्मिक आस्थामा आघात पुग्यो भन्ने पाखण्डीहरुले आफ्नो अनाधिकार हस्तक्षेपले मूर्ती स्थापना गर्नेहरुको आस्था मात्रै होइन नागरिक हक कुण्ठित भयो भन्ने बुझ्नु पर्दैन ?!! सदाशय विलम्बित हुनेछ भन्ने बुझ्नुपर्दैन? रावणको मूर्ती राख्न खोज्नेहरुले रावणलाई देवता मान्छौं अवश्य भनेका थिएनन होला। पछैलाई पर्यटकीय गन्तव्य बनाउने सदाशय होला । स्थानको प्रसिद्धी फैलाउने सदाशय होला।
तीर्थाटन भनेको धार्मिक पर्यटन हो। हिजो धर्मको नाममा पर्यटन व्यवशाय चलाउन विभिन्न तीर्थहरुको स्थापना गरिएको हो। समय फेरियो। तीर्थको परिभाषा फेरियो। विस्तार भयो। हिजोको तीर्थाटन भन्ने मान्यता पर्यटनमा बदलिएको हो भनेर बुझ्नलाई त ज्ञान र सोचको दायरा अलि फराकिलो हुनु पनि त पर्यो नि !?