मलाई अझै पनि त्यो सुरिलो बासुरीको धुन याद आउँछ, जुन मेरो घरको पछाडि बाटो हुँदै बग्थ्यो। हिउँद होस् या बर्खा, नारायण दाइ सधैं खेतिपातीबाट फर्कंदै बासुरीको मीठो धुन बजाउँदै हिँड्नुहुन्थ्यो। उहाँलाई भेट्ने बेला प्रायः हातमा बासुरी हुँदैन भन्ने सम्भावनै थिएन। मेरो साथीहरू, नरबहादुर, हरिकृष्ण भतिज लगायताका साथीहरु सबैले नारायण दाइबाट बासुरी सिकिसकेका थिए। म चाहिँ अलि टाढा, अबेचौरमा बस्ने भएकाले यो अवसर पाउन सकिनँ। तर पनि, मैले कालो पाइपबाट बासुरी बनाउन भने जानेको थिएँ। एक दिन, काठमाडौंबाट आएका मेरो भतिज रामप्रसाद रिजाल (रामु) ले पानी घट्टमा गिटको बासुरी बजाएपछि मलाई असाध्यै सिक्न मन लाग्यो, र मैले अलिअलि बजाउन पनि थालेँ।
नारायण दाइको परिवारमा संगीतको गहिरो जरा थियो। उहाँका बुबा, स्व. भवानीशंकर पौडेल, हाम्रो तिरका चर्चित भजन गायक हुनुहुन्थ्यो। सानोमा मैले उहाँको किर्तनको सुरिलो स्वर सुनेको थिएँ। भजनको कुरा चल्नासाथ मलाई भवानीशंकर नाम दिमागमा आउछ। शायद, यही संगीतपूर्ण पारिवारिक वातावरणकै प्रभावले नै होला, नारायण दाइ आज एक नव गायकका रूपमा अघि सर्नुभएको छ। उहाको पहिलो प्रस्तुति तारा खसेसी युटुव मार्फत बजारमा आएको छ।
स्नातक पढ्ने समयतिर नारायण दाइ मलेसियामा वैदेशिक रोजगारमा हुनुहुन्थ्यो। त्यहाँबाट पनि उहाँको सांगीतिक सक्रियता सामाजिक सञ्जालमार्फत देखिन्थ्यो। विभिन्न सामाजिक कार्यका लागि संगीत कार्यक्रम आयोजना गर्नु र नेपाली कलाकारहरूको व्यवस्थापन गर्नु नारायण दाइको पहिचान बनेको थियो। उहाँले मलाई एक पटक भनेको कुरा अझै याद छ, आजका चर्चित गायक रवि कार्कीसँगको सांगीतिक र सामाजिक सहकार्य पनि मलेसियामै भएको थियो रे तर नेपाल फर्किएपछि रबि कार्की निरन्तर कलाकारितामा लाग्नुभयो र अहिले सफल गायक तथा हास्यकलाकारको रुपमा स्थापित हुनुन्छ। आज मात्रै रबि कार्की लगायतको अर्को संगीतिक कोसेली, ‘काली सलल – सालैजो’ बजारमा आएको रहेछ।
नारायण दाइको संघर्षको यात्रा सहज त पक्कै थिएन होला। तर आज उहाँले म्याग्दीका सर्जक नकुल ढकाल, धुर्व जिसी, सुनिल बानिया लगायत संग मिलेर एक मिठो लोकदोहोरी प्रस्तुत गर्नुभएको छ। गीतका शब्द, स्वर, र भाव मन छुने खालका छन्। मलाई लाग्छ, यो नारायण दाइको उत्कृष्ट सुरुवातको प्रयासमध्ये एक हो तारा खसेसी। उहाँको यो सांगीतिक यात्रा अझ सुनौलो बनोस् भनेर मेरो हार्दिक शुभकामना छ।