एसएलसीको इतिहास [History of SLC]

एसएलसीको इतिहास: २०१७ सालको एसएलसी परीक्षामा उत्पला बनर्जी, इन्दु श्रीवास्तव, र रमादेवी पाँडे सर्वोत्कृष्ट छात्रा बने। उत्पला बनर्जी दोस्रो स्थानमा र इन्दु नवौँ स्थानमा रहे। उत्पलाको वास्तविक नाम नूपुर भट्टाचार्य हो, जो साहित्य र संगीत क्षेत्रमा प्रख्यात छिन्। रेडियो नेपालमा नूपुरको नामबाट करिब ६ सय गीत गाइसकेकी उनले जागिरको क्रममा उत्पला र नूपुर एकै व्यक्ति भएको प्रमाणित गर्नुपरेको थियो। २०१७ सालको एसएलसी नतिजाबाट बोर्ड फस्ट घोषणा गर्न थालियो। सोही वर्ष राजपरिवारकी प्रिन्सेप शाहले पनि द्वितीय श्रेणीमा परीक्षा उत्तीर्ण गरिन्, जसले इतिहास रच्यो।

केही दिनअघि मैले २०१७ सालको एसएलसी [SLC] School Leaving Certificate, परीक्षामा सर्वाेत्कृष्ट छात्राको बारेमा चर्चा गरेको थिएँ। २०१७ सालमा एसएलसीमा सर्वाेत्कृष्ट तीन छात्रा, कुमारी उत्पला बनर्जी (विराटनगर), इन्दु श्रीवास्तव (जलेश्वर), र रमादेवी पाँडे (काठमाडौँ)ले रत्न विद्या प्राप्त गर्नुभएको थियो। तीमध्ये उत्पला बनर्जी र इन्दु श्रीवास्तव समग्रमा सर्वाेत्कृष्ट १० औँ स्थान (बोर्ड टेन)मा पर्न सफल हुनुभयो। उत्पला बोर्ड दोस्रो र इन्दु बोर्ड नवौँ स्थानमा हुनुहुन्थ्यो।

मेरो जिज्ञासा थियो, ती छात्रा को हुनुहुन्थ्यो, जसलाई समाजले एउटा नामले चिन्छ, तर प्रमाणपत्रमा अर्को नाम? उहाँ हुनुहुन्थ्यो उत्पला बनर्जी। उत्पलाजी हाल प्रख्यात नूपुर भट्टाचार्य हुनुहुन्छ। भारतबाट छुट्टिएर बंगलादेश पाकिस्तानको हिस्सा हुँदा, उत्पलाजीका अभिभावक विराटनगर आइपुग्नुभएको थियो। उहाँका अभिभावक चिकित्सक हुनुहुन्थ्यो, र घरमा उहाँलाई नूपुर भनेर बोलाइन्थ्यो। पछि उहाँको विवाह भट्टाचार्य परिवारमा भयो, र साहित्य, संगीत क्षेत्रमा नूपुर भट्टाचार्यका रूपमा ख्याती कमाउनुभयो। उहाँलाई अघिल्लो पुस्ताले रेडियो नेपालमा बाल कार्यक्रममा पक्कै सुनेको हुनुपर्छ। करिब ६ सय गीत गाइसक्नुभएकी नूपुर भट्टाचार्यलाई जागिरको क्रममा उत्पला बनर्जी र नूपुर भट्टाचार्य एउटै व्यक्ति भएको प्रशासनबाट प्रमाणित गर्नुपरेको थियो।

नूपुर दिदीसँग काम गरिसकेका धेरैलाई उहाँ कुनै समयको एसएलसी परीक्षामा बोर्ड दोस्रो भएको थाहा छैन। प्रायः अब्बल विद्यार्थीहरू नेपालमा चिकित्साशास्त्र वा इन्जिनियरिङ पढ्ने चलन छ, तर उहाँले साहित्य र संगीतलाई आफ्नो करियर बनाउनुभएको थियो, यसको कारणबारे कुनै अर्को सन्दर्भमा चर्चा गरौँला।

म २०४४।४५ सालमा रेडियो नेपालमा कविता पाठ गर्न जाँदा नूपुर दिदीलाई पहिलो पटक देखेको थिएँ। एसएलसी परीक्षाको इतिहासमा २०१७ सालदेखि ‘बोर्ड फस्ट’ भनेर नतिजा घोषणा गर्न थालियो। त्यस वर्ष बोर्ड फस्ट रमेश शर्मा भट्ट हुनुहुन्थ्यो, जो जेपी हाइस्कुल क्षेत्रपाटीका विद्यार्थी हुनुहुन्थ्यो। उहाँको सिम्बोल नम्बर ६८५ आई थियो। २०१७ सालको एसएलसी नतिजा २०१८ साल जेठ ५ गते राति सार्वजनिक गरिएको थियो, जहाँ ३३.४ प्रतिशत उत्तीर्ण भएका थिए।

त्यसै वर्षदेखि उत्तीर्ण प्रतिशत र श्रेणीबारे जानकारी दिने प्रथा सुरु भयो। पुनर्याेग (नतिजा सुधार) को लागि १० रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था थियो। त्यस समयमा पुनर्याेगलाई नतिजा शुद्धता भन्न थालिएको थियो। सोही वर्ष, तत्कालीन अधिराजकुमार हिमालयकी पत्नी प्रिन्सेप शाहले पनि एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएको थियो। गोरखापत्रमा छापिएको थियो, “द्वितीय श्रेणीमा पास हुनेमा श्री ५ माहिला महारानी प्रिन्सेप शाह पनि हुनुहुन्छ। यसरी सर्वसाधारण परीक्षार्थीसँगै परीक्षा दिनु र उत्तीर्ण हुनु भएको पहिलो शाही परिवारका सदस्य हुनुहुन्छ।”

यसरी २०१७ सालको एसएलसी परीक्षामा उत्पला बनर्जी र अन्य छात्राहरूले इतिहास रच्नुभएको थियो।

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ