कक्षामा शिक्षकले प्रवेश गरेपछि गर्ने महत्त्वपूर्ण कार्यहरू
कक्षा कोठामा पस्नेबित्तिकै, ल आज यो पाठ पढ्ने है त भन्दै शिक्षक ले कालोपाटीमा पाठको शिर्षक लेख्ने वाला कथा अब चलचित्रमा देखाउने मात्र हो। बास्तबिक कक्षा अब हाम्रो बुझाइको कक्षा जस्तो बन्नु हुदैन किन भने विद्यार्थी कक्षामा रहनु मात्र शिक्षण सिकाइ क्रियाकालापको तयारि होइन। अहिलेको कक्षा मा शिक्षक त डक्टर जसरि प्रवेश गर्नुपर्छ जस्तो सघन उपचार कक्षमा डक्टर बिरामी भन्दा पहिला अतिरिक्त पक्षहरुक पूर्ण जानाकारी प्राप्त गरेका हुन्छन। कक्षा कोठामा छिरेपछि शिक्षकले गर्नुपर्ने कार्यहरू धेरै छन्, र ती कार्यहरू क्रमबद्ध रूपमा व्यवस्थित गरेर मात्र प्रभावकारी सिकाइको वातावरण निर्माण गर्न सकिन्छ। तर शिक्षक चै पढाउनका लागि मात्रै कक्षामा छिर्ने हो भने शिक्षण सिकाइ सधै अपुरो नै रहन्छ। यस लेखमा शिक्षकले कक्षाकोठामा प्रवेश गरेपछि र विषयवस्तु सुरु गर्नुपुर्व गर्नुपर्ने केहि महत्त्वपूर्ण कार्यहरूलाई यहा चर्चा गरिएको छ, जसले कक्षा व्यवस्थापन र सिकाइ प्रक्रियालाई सहजीकरण गर्न मद्दत पुर्याउँछ।
१. विद्यार्थीहरूको उपस्थितिको जाँच
शिक्षकले कक्षा कोठामा छिरेपछि पहिलो प्राथमिकता विद्यार्थीहरूको उपस्थितिको जाँच गर्नु हो। यो कक्षा व्यवस्थापनको पहिलो चरण हो, जसले शिक्षकलाई सबै विद्यार्थीहरू कक्षामा उपस्थित छन् कि छैनन् भन्ने जानकारी दिन्छ। विद्यार्थीहरूको उपस्थितिको जाँच गर्दा शिक्षकले सबै विद्यार्थीहरू उपस्थित छन् कि छैनन् भन्ने सुनिश्चित गर्नुपर्छ। यसले कक्षामा अध्ययनको प्रारम्भ गर्नुअघि सबै विद्यार्थीहरू सिकाइ प्रक्रियामा संलग्न छन् भन्ने थाहा हुन्छ। यदि कुनै विद्यार्थी अनुपस्थित छन् भने शिक्षकले त्यो अनुपस्थितिको कारण पनि बुझ्न आवश्यक छ। अनुपस्थित विद्यार्थीहरूको स्थितिलाई बुझ्नका लागि शिक्षकले सोध्नुपर्ने केहि प्रश्नहरू हुन्छन्, जस्तै:
- के विद्यार्थी कक्षा बाहिर छन्, तर विद्यालय परिसरमै छन्?
- के विद्यार्थी विद्यालय नै अनुपस्थित छन्?
- यदि विद्यालय परिसरमै छन् भने, के उनीहरूलाई कक्षामा ल्याउन सकिन्छ?
यी प्रश्नहरुबाट जानकारी प्राप्त गरेपछि शिक्षकले उचित कदम उठाउन सक्छन्। विद्यालयमा हुँदा पनि विद्यार्थी अनुपस्थित हुनुको कारणले सिकाइमा ह्रास आउछ, त्यसैले शिक्षकले यो अवस्था सहजै समाधान गर्न प्रयास गर्नुपर्छ। यो प्रयास शिक्षण सिकाइ क्रियाकलापको एक अनिवार्य तत्व हो।
२. शारीरिक र मानसिक रुपामा तत्पर
विद्यार्थी शारीरिक रुपमा उपस्थिति मात्र पर्याप्त छैन, उनीहरुमा कुनै किसिमका शारीरिक पिडा वा मानसिक चिन्ता छ कि भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। यदि कुनै किसिमको चिन्ता मनमा छ भने विद्यार्थी सिकाइप्रक्रियमा सक्रिय सहभागिता जनाउन सक्दैनन्। विद्यार्थीहरू मानसिक रूपमा सिक्न तयार छन् कि छैनन् भन्ने बुझ्न शिक्षकले विद्यार्थीहरूसँग संवाद गरेर पत्ता लगाउन सकिन्छ। उदाहरणको लागि, शिक्षकले सम्पूर्ण कक्षामा सबै विद्यार्थीहरूसँग एकपटक आँखा जुधाएर उनिहारूको मनोदशा बुझ्न सक्छन्। शिक्षकले यस समयमा कुनै शंका लागेमा सिधै विद्यार्थीहरूसँग सोध्न सक्नुहुन्छ कि उनीहरू सिक्न मानसिक रूपमा तयार छन् कि छैनन्। यसले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा थप सहजता ल्याउँछ र उनीहरूको सिक्न इच्छाशक्ति बुझ्न मद्दत गर्छ।
विद्यार्थीहरूको अनुहारको भाव र व्यवहारले धेरै कुरा बताउँछ। आवस्यक परामर्श विद्यार्थीका मानशिक चिन्ता धेरै हदसम्म कम गराई पुन सिकाइका लागि तयार गराउन सकिन्छ। यदि समस्या जटिल जस्तो लाग्यो भने मनोसामाजिक परामर्शदाता संग सहकार्य गर्न सकिन्छ। तर सामान्य अवस्थामा शिक्षकले सबै विद्यार्थी संग एकपटक आँखा जुधाएर सांकेतिक सम्बन्ध स्थापित गराउनु पर्छ, जसले विद्यार्थीलाई शिक्षकको उपस्थिथिको मनोबैज्ञानिक भाव प्रदान गर्दछ।
३. सामग्रीको तयारी र योजनाको अवलोकन
शिक्षकले कक्षा सुरु गर्नु अघि आजको दिनका लागि आवश्यक सामग्री छन् कि छैनन् भन्ने कुरा अवश्य जाँच्नुपर्छ। यदि सामग्रीमा कुनै कमी छ भने त्यसलाई कसरी समाधान गर्ने भन्नेबारे योजना बनाउनु महत्त्वपूर्ण हुन्छ। शिक्षकको पाठ योजनाले कक्षा व्यवस्थापन र सिकाइ प्रक्रियामा ठोस दिशा प्रदान गर्छ। शिक्षकले आफूले तयार गरेको योजना अनुसार आजको सिकाइ प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ।
यदि आवश्यक सामग्री शिक्षकसँग उपलब्ध छैन भने तुरुन्तै वैकल्पिक उपाय अपनाउनुपर्छ। शिक्षकले सामाग्रीको अभावमा पनि प्रभावकारी तरिकाले कक्षा चलाउन सक्नेछ भन्ने कुरा सुनिश्चित गर्नु महत्त्वपूर्ण छ। यसका लागि कक्षा गतिविधिहरूमा सृजनात्मकता प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि, शिक्षकले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने र उनीहरूलाई अध्ययन प्रक्रियामा संलग्न गराउन विभिन्न गतिविधिहरू गर्न सक्छन्।
४. गृहकार्यको समीक्षा
गृहकार्य शिक्षणको अभिन्न हिस्सा हो, र यसलाई निरन्तर समीक्षा गर्नु आवश्यक हुन्छ। गृहकार्य विद्यार्थीहरूलाई कक्षा बाहिर पनि सिकाइ प्रक्रियामा सक्रिय राख्न मद्दत गर्दछ। शिक्षकले गृहकार्य पूरा भए-नभएको जाँच्नुपर्छ। यदि गृहकार्य अपूर्ण छ भने किन अपूर्ण भयो भन्ने कुरा विद्यार्थीहरूसँग बुझ्न आवश्यक छ। यो एक किसिमको संवाद हो, जहाँ विद्यार्थीहरूले आफ्ना समस्याहरू व्यक्त गर्न सक्छन्, र शिक्षकले त्यसमा सहानुभूति पूर्वक प्रतिक्रिया दिन सक्छन्। यदि कुनै विद्यार्थीले गृहकार्य पूरा गरेका छैनन् भने शिक्षकले विद्यार्थीहरूसँग बुझ्नुपर्छ कि किन त्यो गृहकार्य अपूर्ण भयो। यो सिधा सोधपुछ गर्दा विद्यार्थीहरूले गृहकार्य पूरा नगर्नुको कारण स्पष्ट रूपमा बताउन सक्छन्, जसले भविष्यमा सुधार गर्न मद्दत गर्छ। अनुसन्धानहरूले, नियमित रूपमा गृहकार्य समीक्षा गर्दा विद्यार्थीहरूको गृहकार्य गर्ने बानीमा उल्लेखनीय सुधार आउँछ भन्ने कुरा देखाएका छन्।
गृहकार्यको समीक्षा गरेपछि शिक्षकले गृहकार्यमा थप छलफल आवश्यक छ कि छैन भन्ने कुरा बुझ्नुपर्छ। यदि गृहकार्यमा केही विद्यार्थीहरूले समस्या सामना गरेका छन् भने त्यसलाई कक्षामा विस्तृत रूपमा छलफल गर्न सकिन्छ। यो छलफलले विद्यार्थीहरूको बुझाइमा स्पष्टता ल्याउन मद्दत गर्छ। यसका लागि शिक्षकले विद्यार्थीहरूलाई सोध्न सक्छन् कि उनीहरूले गृहकार्यमा कस्तो समस्या सामना गरेका हुन्।
५. हिजो र आजको विषयवस्तुबीचको सम्बन्ध
कक्षा शिक्षणमा निरन्तरता महत्त्वपूर्ण हुन्छ। हिजो पढाइएको विषयवस्तु र आज सिकाइ हुने विषयबीचको सम्बन्ध स्पष्ट हुनुपर्छ। यसले विद्यार्थीहरूको बुझाइलाई मजबुत बनाउन मद्दत गर्छ। यदि हिजो र आजको विषयवस्तुमा कुनै अन्तर छैन भने, शिक्षकले नयाँ विषयवस्तुको परिचय दिनुपर्ने हुन्छ।
६. पाठ योजना अनुसार विषयवस्तुमा प्रवेश
शिक्षकले तयार गरेको पाठ योजना अनुसारनै कक्षा अघि बढ्नुपर्छ तर सबैकाले पाठयोजनामा यो कुरा समावेष गरिएको हुदैन तसर्थ योजना विद्यार्थीहरूको मानशिक शारीरिक र अन्य आवश्यकतालाई ध्यानमा राखेर बनाइएको हुनुपर्छ। पाठ योजनाले शिक्षकलाई एक स्पष्ट दिशा दिन्छ, जसले गर्दा सिकाइ प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ्छ। कक्षाको प्रारम्भिक चरणमा गरिने उक्त कार्यहरु अत्यन्त महत्वपुर्ण छन्, र यो समय १० देखि बढीमा १५ मिनट हुन सक्छ। यो समयमा शिक्षकले सम्पूर्ण कक्षालाई उक्त प्रक्रियामा समावेश गरिसक्नुपर्छ।
पाठ योजनाको आधारमा शिक्षकले अब विषयवस्तुमा प्रवेश गर्न सक्छन्। यस समयमा विद्यार्थीहरू मानसिक रूपमा सिक्न तयार भएका हुन्छन्, र शिक्षकले विषयवस्तुलाई गहन रूपमा प्रस्तुत गर्न थाल्छन्। शिक्षकले विषयवस्तु प्रस्तुत गर्दा विद्यार्थीहरूलाई उदाहरण र क्रियाकलापको माध्यमबाट संलग्न गराउन सक्नुहुन्छ। विषयवस्तुको प्रस्तुति स्पष्ट र आकर्षक हुनुपर्छ, जसले विद्यार्थीहरूको ध्यान आकर्षित गर्छ र उनीहरूलाई अध्ययनमा सक्रिय राख्छ।