बुक फ्री फ्राइडेले नतिजा दिन थाल्यो : विद्यार्थीहरुले विद्यालयको फोहर व्यवस्थापन गर्दै आय आर्जन सुरु गरे

बुक फ्री फ्राइडेको नतिजा: विद्यालयको फोहर व्यवस्थापन संगै विद्यार्थीको आय-आर्जन

विद्यार्थीहरूले विद्यालयको फोहर व्यवस्थापन गर्दै आय आर्जन सुरु गरे

काठमाडौं महानगरपालिकाको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत, हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयबाट संकलित फोहर वर्गीकरण गरी विक्री गर्न थालेका छन्। उपप्रमुख सुनिता डंगोल ले यो अभ्यास अवलोकन गर्दै प्रशंसा गर्नुभयो। विद्यार्थीहरूले फोहर विक्रीबाट संकलित रकम विद्यालयको सरसफाइका लागि प्रयोग गर्ने बताए। एकीकृत सहरी विकास केन्द्र ले आकाशे पानी पुनःभरण कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।

फागुन ९, २०८१, काठमाडौं

काठमाडौं महानगरपालिकाको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत, हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय परिसरबाट संकलित फोहरलाई वर्गीकरण गरी विक्री गर्न थालेका छन्। यो प्रयासले वातावरणीय सचेतना अभिवृद्धि गर्दै आर्थिक व्यवस्थापनको व्यवहारिक ज्ञानसमेत दिएको छ।

काठमाडौं महानगरपालिका-२२, नयाँ सडकस्थित यस विद्यालयमा वातावरण र वालबालिका (वावा) उपसमूह का विद्यार्थीहरूले विद्यालयको सरसफाइ गर्दा संकलित फोहरलाई वर्गीकरण गर्ने अभ्यास सुरु गरेका हुन्। उनीहरूले कागज, कडा प्लास्टिक, रबर, तथा खाना प्याकिङ्ग गर्ने खोललाई छुट्टाछुट्टै संकलन गरेर पुनः प्रयोगयोग्य फोहरलाई विक्री गर्ने व्यवस्था गरेका छन्। विद्यालयमा नै विशेष संरचना निर्माण गरी फोहर व्यवस्थापनलाई व्यवस्थित गरिएको छ, जसले व्यवसायिक फोहर व्यवस्थापन जस्तै देखिन्छ।

शुक्रबार, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल विद्यालय पुगेर विद्यार्थीहरूको यो अभ्यासको अवलोकन गर्नुभयो। उहाँले विद्यार्थीहरूसँग फोहर व्यवस्थापन प्रक्रिया, सुरक्षाका उपाय तथा संकलित फोहरको उपयोगबारे जिज्ञासा राख्दै व्यवहारिक सिकाइबारे बुझ्नुभयो। उपप्रमुख डंगोलले विद्यार्थीहरूसँग भविष्यका योजनाबारे सोध्दा, उनीहरूले फोहर विक्रीबाट संकलित रकम विद्यालयको सरसफाइ र स्वच्छताका लागि खर्च गर्ने योजना सुनाए।

विद्यार्थीहरूले उपप्रमुखकै उपस्थितिमा संकलित फोहर धरमनाथ जैसवाललाई विक्री गरे र प्राप्त रकम विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरे। विद्यार्थीहरूको यो प्रयासलाई प्रशंसा गर्दै उपप्रमुख डंगोलले निरन्तरता दिन प्रेरित गर्नुभयो। “यो प्रयास सिकाइयोग्य छ। विद्यालयमा सिकेको कुरा घरमा पनि प्रयोग गर्नु, अभिभावकलाई पनि सुनाउनु,” उहाँले भन्नुभयो।

कार्यक्रमका साझेदार एकीकृत सहरी विकास केन्द्र का कार्यकारी निर्देशक नविन विकास महर्जन ले विद्यालयस्तरमै फोहर व्यवस्थापन अभ्यास प्रभावकारी देखिएकाले आगामी दिनमा आकाशे पानी पुनःभरण कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिनुभयो। विद्यार्थीहरूले फोहर व्यवस्थापनमा देखाएको सक्रियता वातावरणीय सचेतना अभिवृद्धि गर्दै व्यवहारिक सिकाइको उत्कृष्ट उदाहरण बनेको छ।