
काठमाडौं, वैशाख १८ – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने छात्रवृत्तिको विवरण अनिवार्य रूपमा तोकिएको समयभित्र पेश गर्न सबै विद्यालयहरूलाई सूचित गरेको छ।
विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ र शिक्षा ऐन, २०७५ अनुसार प्रत्येक शैक्षिक सत्रमा विद्यालयहरूले समाजका जेहेन्दार, विपन्न, अपाङ्ग, दलित, जनजाति, हिंसापीडित, शहीद परिवारका बालबालिकाहरूलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
महानगरपालिकाको तथ्यांक अनुसार शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका ४६५ विद्यालयबाट १३,००० भन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका थिए भने २०८१ मा उक्त संख्या १९,००० नाघेको थियो। यसले छात्रवृत्तिको पहुँच विस्तार भएको देखाए पनि वितरण प्रणाली अझ पारदर्शी र उत्तरदायी हुनुपर्ने आवश्यकतालाई पनि उजागर गरेको छ।
यस वर्ष पनि विद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्तिको विवरण डिजिटल माध्यमबाट संकलन गर्न Scholarship Entry System निर्माण गरिएको छ। प्रत्येक विद्यालयलाई इमेल तथा एसएमएसमार्फत प्रदान गरिएको युजरनेम र पासवर्ड प्रयोग गरी सो प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्नेछ। विवरण पेश गर्ने अन्तिम मिति २०८२ साल जेठ १ गते तोकिएको छ।
यदि कुनै विद्यालयले तोकिएको म्यादभित्र विवरण नपेस गरेमा शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई दिइएको अनुमति वा स्वीकृति रद्द गरिने वा अन्य कानुनी कारबाही गरिने महानगरपालिकाले स्पष्ट पारेको छ।
विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति अनिवार्य रूपमा उपलब्ध गराइनुपर्नेछ। यसका लागि विद्यालयहरूले सूचना पाटीमा सार्वजनिक सूचना टाँस गरी इच्छुक विद्यार्थीका अभिभावकबाट आवेदन सङ्कलन गर्नुपर्नेछ। छात्रवृत्ति वितरणको प्रक्रिया पारदर्शी बनाउन छात्रवृत्ति छनोट समिति गठन गरी सो समितिको निर्णयअनुसार मात्र वितरण गर्न पाइनेछ।
समितिले छनोट गरेको नामावलीबाहेक अन्य कुनै विवरण मान्य नहुने र उल्लंघन भएमा कानुनअनुसार आवश्यक कारबाही गरिने महानगरको भनाइ छ। सम्पूर्ण विवरण प्राप्त भएपछि छात्रवृत्तिको एकीकृत सूची सार्वजनिक गरिनेछ।
काठमाडौँ महानगरपालिकाले कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि आफू सशक्त ढंगले प्रतिबद्ध रहेको जनाउँदै छात्रवृत्तिको पारदर्शी, न्यायोचित र समावेशी वितरणले हजारौं विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा लिएको छ।
– शिक्षा विभाग, काठमाडौं महानगरपालिका