कक्षाकोठा ब्यवस्थापनका १० प्रभावकारी उपायहरु

प्रभावकारी कक्षाकोठा ब्यवस्थापनले विद्यार्थीहरूलाई अनुशासन र संगठित वातावरणमा सिक्न मद्दत गर्दछ। शिक्षकले स्पष्ट नियम बनाउनुका साथै, रुटिनलाई समय अनुसार परिवर्तन गर्दा विद्यार्थीको चासो टिकाइराख्न सहयोग पुग्छ। विद्यार्थीसँग सकारात्मक सम्बन्ध राख्दै, सामान्य स्वरमा बोल्नाले उनीहरूमा आदर बढाउँछ। नियमित सिट परिवर्तनले नयाँ अन्तर्क्रिया जन्माउँछ। आकर्षक पाठ योजनासँगै कक्षामा निरन्तर उपस्थित रहेर शिक्षकले विद्यार्थीलाई अनुशासनमा राख्न सक्छन्।

विद्यालय जीवनमा अनुशासनको ठूलो महत्व हुन्छ। घरमा होस् वा विद्यालयमा, सधैं नै अनुशासनले व्यक्ति, कक्षाकोठा, र सम्पूर्ण विद्यालयमा सकारात्मक प्रभाव पार्दछ। कक्षाकोठामा पनि अनुशासन शिक्षकको जिम्मेवारी भित्र पर्दछ। यो मात्र विद्यार्थीहरूलाई सहजरूपमा सिकाउने विधि मात्र होइन; यो विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि समेत महत्त्वपूर्ण छ। कक्षाकोठामा अनुशासन कायम गर्न, यहाँ केही प्रभावकारी उपायहरू प्रस्तुत गरिएका छन्, जसले शिक्षकहरूलाई कक्षाकोठामा संरचना र शान्ति कायम गर्न मद्दत पुर्‍याउँछ।

१) विद्यार्थीहरुबाट अपेक्षित अनुशाशनको बारेमा स्पस्ट जानकारी दिनुहोस्

एक कुशल शिक्षक सधैं आफ्ना विद्यार्थीलाई अनुशासित र मेहनती देख्न चाहन्छन्। तर विद्यार्थीहरूलाई धेरै पटक शिक्षकले उनीहरूबाट के अपेक्षा गरेका छन् भन्ने थाहा हुँदैन। विद्यार्थीले कक्षाकोठामा कसरी व्यवहार गर्ने, कुन समयमा बोल्न उचित हुन्छ, र शिक्षकसँग सहयोग माग्ने विधिहरूजस्ता कुरामा स्पष्टता दिनु शिक्षकको जिम्मेवारी हो। यो जानकारीले विद्यार्थीलाई अनुशासनबद्ध व्यवहार सिक्न मद्दत गर्दछ, र यसले उनीहरूलाई सँगै समुहमा बसेर कार्य गर्न थप सहज बनाउँछ।

२) कक्षामा रुटिन कायम राख्नुहोस्

विद्यार्थीहरूलाई कक्षाकोठामा ब्यबस्थित संरचना आवश्यक पर्छ। खास गरी माध्यमिक स्तरका विद्यार्थीहरूले नियम र संरचनालाई चिन्छन् र त्यसको पालना गर्न चाहन्छन्। एउटा नियमित रुटिन उनीहरूको लागि महत्वपूर्ण हुन्छ किनभने यसले उनीहरूलाई आगामी प्रक्रियाबारे जानकारी प्रदान गर्दछ र बिना रोकावट शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढ्न मदत गर्दछ। उदाहरणका लागि, दैनिक रुटिनमा पढाइ, होमवर्क समीक्षा, र समूहकार्यको समयबारे परिभाषित गर्ने बानीले विद्यार्थीमा संयमता तथा समयको ब्यबस्थापन शैलिको विकास गर्दछ।

३) समयानुसार रुटिन परिवर्तन गर्नुहोस्

विद्यार्थीहरूको मनोविज्ञान अनुसार उनीहरू चाँडै बिचलित हुने स्वभावका हुन्छन्। कक्षाकोठामा कहिले काहिँ स्वभाविक र अप्रत्याशित रुटिन अथवा क्रियाकलाप बनाउनु फाइदाजनक हुन्छ। एउटै गतिविधि वा प्रक्रिया निरन्तर दोहोर्याउँदा उनीहरूले चासो गुमाउन सक्छन्। यसकारण, कहिलेकाहीं कक्षामा विविधता ल्याउने उद्देश्यले रुटिनमा सानातिना परिवर्तनहरू गर्न सकिन्छ, जस्तै समूह कार्य वा सहकार्य गतिविधिहरू, खेलकुद सङ सिकाइ, छलफल, पुस्तक विमर्श आदि ।

४) विद्यार्थीहरूसँग सम्बन्ध स्थापना गर्नुहोस्

विद्यार्थीहरू प्राय: आफ्ना शिक्षकहरूको बारेमा जान्न इच्छुक हुन्छन्। शिक्षकले सबै कुरा खुलाउनु आवश्यक छैन तर व्यक्तिगत अनुभव वा रुचिका सानातिना कुरा विद्यार्थीहरूसँग साझा गर्दा उनीहरूले शिक्षकप्रति आत्मीयता र आदर महसुस गर्छन्। शिक्षकले विद्यार्थीहरूप्रति पनि चासो देखाउँदा उनीहरू शिक्षकसँग अझ नजिक महसूस गर्छन् र अध्ययनप्रति पनि थप जागरुकता ल्याउँछन्। विद्यार्थी शिक्षकको नजरमा राम्रो र मेहनती हुन प्रयास गर्दापनी धेरै सुधार आउछ। समय समयमा ब्यक्तिगत हालखबर सोधपुछ गर्दा पनि सम्बन्ध स्थापना गर्न सहज हुन्छ।

५) सकारात्मक मनोवृत्ति राख्नुहोस्

कक्षाकोठामा सकारात्मक ऊर्जा प्रसारित गर्न शिक्षकले सधैं दिनलाई नयाँ अवसरको रूपमा लिनुपर्छ। खास गरी बालकक्षाका विद्यार्थीहरू भावनामा बहकिन सक्ने हुँदा उनीहरूसँग धैर्य राखेर सकारात्मक सोचका साथ प्रस्तुत हुनु पर्दछ। यसले विद्यार्थीमा शिक्षक र शिक्षण सिकाइ क्रियाकलापप्रती विश्वास बढाउँछ र उनीहरूको अध्ययनप्रतिको उत्साह पनि बढ्न मद्दत गर्दछ।

६) सामान्य आवाजमा बोल्नुहोस्

कक्षाकोठामा विद्यार्थीहरूलाई अनुशासनमा राख्न शिक्षकको आवाजको स्तरले महत्त्वपूर्ण भूमिका खेल्छ। जब शिक्षक सामान्य स्वरमा बोल्छन्, विद्यार्थीहरूले पनि यसलाई अनुसरण गर्छन्। यदि कक्षामा हल्ला छ भने उच्च स्वरमा बोल्नुको सट्टा सामान्य स्वरमै विद्यार्थीहरूको ध्यानाकर्षण गर्न सकिन्छ।

७) महिनामा एक पटक कक्षाकोठा पुनः व्यवस्था गर्नुहोस्

हरेक महिना विद्यार्थीहरूको सिटमा परिवर्तन गर्दा उनीहरूको व्यवहारमा पनि सकारात्मक प्रभाव देखिन्छ। यसरी परिवर्तन गर्दा उनीहरूले नयाँ साथीहरूसँग अन्तरक्रिया गर्न पाउँछन् र साथीसँगको व्यवहारलाई पनि सुधार्न मद्दत पुग्छ। यस कार्यलाई व्यवस्थापन गर्न विद्यार्थीहरूको सिटको नाम टाँस्न सकिन्छ, जसले कक्षाकोठा व्यवस्थित देखिन्छ।

८) कक्षाकोठालाई सदैव ब्यबस्थित राख्नुहोस

शिक्षकको जिम्मेवारी कक्षालाई सदैव सफा र व्यवस्थित राख्नु पनि हो। कक्षाकोठा लथालिंग भएको अवस्थामा विद्यार्थीहरूले अध्ययनप्रति गम्भीरता देखाउँदैनन्। कक्षाकोठालाई व्यवस्थित राख्नाले विद्यार्थीहरूमा पनि क्रमानुसारका कार्य गर्ने बानी बृद्धि हुन्छ।

९) आर्कषक पाठको योजना गर्नुहोस्

कक्षामा विद्यार्थीलाई उबाउ नलाग्ने बनाउन शिक्षकले सधैं आर्कषक र ब्यवहारिक पाठको योजना बनाउनुपर्छ। यदी विद्यार्थीलाई पाठमा चासो छैन भने उनीहरूले अनुशासन पालन गर्न गाह्रो महसुस गर्न सक्छन्।

१०) सक्रियताका साथ कक्षामा प्रस्तुत हुनुहोस

शिक्षकले कक्षामा हिँड्दै आफ्नो उपस्थितिमा विद्यार्थीहरूसँगको प्रत्यक्ष सम्बन्ध कायम राख्न सक्छन्। यसले विद्यार्थीलाई शिक्षक सधैं उनीहरूसँगै छन् भन्ने भावना दिइराख्छ। यसरी नियमित निगरानी गर्दा विद्यार्थीले सक्रियता र अनुशासनको महत्त्व बुझ्न सक्छन्।

यी उपायहरूले कक्षाकोठामा अनुशासन कायम गर्न मद्दत गर्दछ र विद्यार्थीहरूको शिक्षालाई अझ प्रभावकारी बनाउन योगदान पुर्‍याउँछ।

 

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ