पाठ्यक्रममा घरायसी कामलाई ४ देखि ८ अङ्क

विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले घरायसी कार्यलाई औपचारिक मूल्याङ्कनमा समावेश गरिने भएको छ। पाठ्यक्रम विकास केन्द्रले सिकाइलाई व्यवहारसँग जोड्न कक्षा ४ देखि १० सम्म विद्यार्थीहरूले घर वा समुदायमा गरेका कार्यको मूल्याङ्कन गरी अङ्क प्रदान गर्ने व्यवस्था लागू गरेको हो।

काठमाडौं – विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले घरायसी कार्यलाई औपचारिक मूल्याङ्कनमा समावेश गरिने भएको छ। पाठ्यक्रम विकास केन्द्रले सिकाइलाई व्यवहारसँग जोड्न कक्षा ४ देखि १० सम्म विद्यार्थीहरूले घर वा समुदायमा गरेका कार्यको मूल्याङ्कन गरी अङ्क प्रदान गर्ने व्यवस्था लागू गरेको हो।

नयाँ व्यवस्थाअनुसार, कक्षा ४ देखि ८ मा आन्तरिक मूल्याङ्कन ५० प्रतिशत रहेको छ। यस मूल्याङ्कन प्रणालीअन्तर्गत गणित, विज्ञान, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाजस्ता विषयमा ८ अङ्क घरायसी कार्यका लागि छुट्याइएको छ। यसैगरी, कक्षा ९ र १० मा २५ प्रतिशत आन्तरिक मूल्याङ्कन हुने भएकाले सोही प्रणालीअन्तर्गत गणित, विज्ञान र सामाजिक अध्ययन विषयमा ४ अङ्क घरायसी कार्यको लागि तोकिएको छ।

सैद्धान्तिक भन्दा व्यवहारिक सिकाइमा जोड

शिक्षाको राष्ट्रिय उद्देश्यहरूलाई प्राप्त गर्नका लागि केवल सैद्धान्तिक ज्ञान मात्र पर्याप्त हुँदैन भन्ने निष्कर्षसहित पाठ्यक्रम विकास केन्द्रले यो नयाँ नीति अघि सारेको हो। विद्यार्थीले कक्षाकोठामा सिकेका ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सकून्, श्रमप्रति सम्मानजनक दृष्टिकोण राखून् र स्वावलम्बी बन्न सकून् भन्ने सोचले यो मूल्याङ्कन प्रणाली लागू गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार, कक्षाकोठाको सिकाइलाई घरायसी कार्यसँग जोड्ने र घरायसी कार्यबाट भएको सिकाइलाई कक्षाकोठाको ज्ञानसँग सम्बन्धित गराउने उद्देश्यले यो नीति कार्यान्वयन गरिएको हो। नयाँ प्रणालीले विद्यार्थीहरूलाई विद्यालयको पाठ्यक्रम मात्र नभई दैनिक जीवनमा उपयोगी सीपसमेत सिक्न प्रेरित गर्ने विश्वास गरिएको छ।

घरायसी कार्यको मूल्याङ्कन प्रक्रिया

विद्यार्थीहरूले गरेका घरायसी कार्यको मूल्याङ्कन प्रक्रिया शिक्षक र अभिभावक दुवैको संलग्नतामा हुने व्यवस्था गरिएको छ। विद्यार्थीले आफ्नो घर वा समुदायमा गरेका कार्यहरू शिक्षक र अभिभावकले प्रमाणित गरेपछि मात्र औपचारिक रूपमा मूल्याङ्कन हुनेछ। यसले मूल्याङ्कन प्रणालीलाई थप विश्वासिलो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। शिक्षा नीति निर्माताहरूले यो प्रणालीले शिक्षा क्षेत्रको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै विद्यालय, अभिभावक र विद्यार्थीबीचको समन्वयलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्। शिक्षा प्रणालीमा निरन्तर सुधारका लागि लागू गरिएको यो नीति विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक कार्यसँग जोड्ने ऐतिहासिक प्रयास मानिएको छ। घरायसी कार्यमा संलग्नताले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, श्रमप्रति सम्मान, स्वअनुशासन र सिप विकास गर्ने विश्वास गरिएको छ।

शिक्षा विज्ञहरूका अनुसार, शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञानमा रूपान्तरण गर्नु आवश्यक छ। घरायसी कार्यको औपचारिक मूल्याङ्कन प्रणालीले विद्यार्थीहरूलाई विद्यालय बाहिर पनि सक्रिय रूपमा सिक्न, परिवार तथा समुदायसँग जोडिन र सामाजिक उत्तरदायित्व बहन गर्न सिकाउने अपेक्षा गरिएको छ।