
काठमाडौं, नेपाल: मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि भिडन्तका लागि आफ्नो स्थान सुरक्षित गरेको हो।
नेपालको सहज जित: मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमै मात्र १ विकेट गुमाएर पूरा गर्यो। नेपालका ओपनर ब्याट्सम्यान परिमार्जन यादव ले विष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ९ चौका र ३ छक्कासहित शानदार ५९ रन बनाएर टोलीलाई जित नजिक पुर्याए। त्यस्तै, शिवान्स बजगाईं २३ रनमा अविजित रहँदै नेपालको जितमा महत्वपूर्ण योगदान दिए।
मलेसियाको ब्याटिङ धराशायी: यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया ४३ ओभर १ बलमा सबै विकेट गुमाएर ९० रनमा समेटिएको थियो। मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाएका थिए।
नेपालको धारिलो बलिङ: मलेसियालाई सस्तैमा समेट्न नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। नेपालका लागि अभय यादव ले सर्वाधिक ४ विकेट लिए। त्यस्तै, शुभम खनाल ले ३ विकेट हात पारे भने कप्तान विपीन शर्मा र सचिव भट्ट ले समान १-१ विकेट लिए।
फाइनलमा हङकङ वा सिंगापुरसँग भिडन्त: अब नेपालले फाइनलमा हङकङ र सिंगापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबार हुनेछ। नेपाली टोलीले उपाधि जित्न सफल होस् भन्ने कामना गर्दछौं।