
म १० वर्षको हुँदोहुँ। साउनको महिना थियो। विहानको खाना खाने बेला भएको थियो। हाम्रो घरमा कुकुर पालेका थियौँ। मलाई जनावर प्यारो लाग्छ। हामीसँगै कुकुर पनि खाना पाउने अपेक्षासहित आतुर भएर घरको ढोकाभित्रै पुगेको थियो। म भाग बसिसकेको थिएँ भने कान्छो भाइ बाहिर हात धोएर भित्र छिर्ने बेलामा कुकुरलाई नराम्रोसँग हिर्कायो र कुकुर निकैबेरसम्म चिच्याएर रोयो। कुकुरको रुवाइले निकै पीडा भयो र भाइलाई एक झापड हिर्काएँ; जब भाइ रुन थाल्यो अनि आमाले मलाई आगो फुक्ने ढुङ्ग्रोले निकै पटक पिट्नु भयो।
आमाको पिटाइको झोंकमा निस्केर हिंडेको म १३ किलोमिटर टाढा मालढुङ्गा पुगेँ। तिन्ताका मोटर त्यहींसम्म जान्थ्यो। कुन साहसले हो कुन्नि विना पैसा अरुसँगै म पनि फटाफट ट्रकमाथि चढेर खाँदिएँ। अग्ला पाका मान्छेहरुको भीडमा हराएको मलाई पैसा उठाउनेले ‘ओए फुच्चे ! कहाँ जाने हो ? पैसा छ ? भनेर सोध्यो।’ मैले ‘अँ हँ ‘ भन्ने ईशारा हुने गरी टाउको हल्लाएँ।
त्यसपछि विरानो सहर पोखरा पुगेर अरुसँगै म पनि झरेँ। अरु त आ-आफ्ना गन्तव्यतिर लागिहाले, म भने यता न उता भएँ। निकैबेर त हुइँय्या हुइँय्या गाडीहरु वारपार दौडिरहेको दृष्य देखेरै रनभुल्लमा परेँ। जब सूर्यास्तको समय भयो, तब भने अब कहाँ जाने,कहाँ बस्ने, के खाने जस्ता प्रश्न मनमा दौडिन थाले।
हिम्मत गरेर अगाडि बढेँ। एउटा होटल देखेँ (सृजना चोकको सुनु म:म: रेष्टुरेन्ट) र सोधेँ ‘काममा राख्नुहुन्छ ?’ केही समयको सोधपुछ पछि मलाई राख्ने निधो गरे र म त्यहीँ रहेँ।
यता घरतिर भने खोज्नसम्म खोजेछन्। खोलाको तिरैतिर पनि खोजेछन् अनि भिरैभिर पनि खोजेछन्। अचम्मको कुरा त के भयो भने झण्डै दसदिन पछि होला सिमसिम पानी परिरहेको थियो, एक लट भाँडा माझेर चिया र पाउरोटी खाँदै थिएँ, मेरो बाबा छाता ओढेर काँधमा घरेलु झोला भिरेर मलाई खोज्दै हिंडेको देखेँ तर मेरो बुद्धिले सही काम गर्न सकेन, मैले बाबालाई बोलाउन सकिनँ; उहाँ पारिपट्टि हेर्दै त्यो सडकबाट अदृष्य हुनुभयो। मैले “बा” भनेर बोलाइदिएको भए अरु एक महिना म हराएको शोकमा तड्पिने थिएनन् होला।
एक महिना कटेपछि भने मेरो दिमागले राम्रै काम गर्यो क्यारे ! ‘अब त भदौ लाग्यो, स्कूल खुल्यो होला। पढ्न जानुपर्छ’ भन्यो मनले। त्यो दिन साहुनी दिदीलाई ‘मलाई पढाइदिनु हुन्छ’ भनेर सोधेँ । ‘पढ्न मन लाग्यो तँलाई ?’ भनेर सोध्नु भयो, मैले ‘हजुर’ भनेँ। उहाँ मौन हुनुभयो।
भोलिपल्ट विहान काम सकेर खाना खाइवरि म फुत्त निस्किएर लमकलमक गर्दै बागलुङ बसपार्क भन्ने दिशा समातेर लम्किएँ। सोधखोज गर्दै मालेपाटन, हरिचोक, हेम्जाहुँदै नागडाँडाको उकालो ठडिएँ। एकदुई ठाउँमा हुइँकिएका गाडीलाई हात ठडाएको पनि हुँ तर कसैले रोकेनन्। छोटो बाटो समात्ने ज्ञानाभावले घुम्तीघुम्ती भएको मोटरबाटो नछोडिकन हिंडेँ। झमक्क साँझ पर्दा नागडाँडाको टुप्पोमा पुगेँ र फर्केर पोखरालाई हेर्दै लामो श्वास तानेँ। तन त निकै थाकिसकेको थियो किन्तु मन अझै अडिन मानेन, अतः छोटो विश्राम पश्चात् पाइला पुनः अगाडि बढे।
नागडाँडाबाट पातीचौरतर्फको ओरालो लागेपछि केही तल मोटरबाटोसँगै जोडिएका केही घर (ठाउँको नाम ‘पत्थर’हो कि !) आए, डिलैमा। त्यहाँबाट तलतिर हेरेँ, निकै घुम्ती पार गर्दै तल पुगेर पुल तरेर तेस्रो लामो बाटो हिंडेर पातीचौर पुग्न गार्हो हुन्छ भन्ने अडकल गरेर म त्यही घरहरु भएको नजिकै डिलमा विश्राम गरेँ। एकछिनमै रात पर्यो। म ती घरहरुको नजिक आएँ। उनीहरु बेलुकीको खाना बनाउँदै थिए र खाए पनि।
करिब ढोका बन्द गर्ने बेला भएपछि बल्ल एउटी महिलाले सोध्नुभयो। ‘ घर कहाँ हो ? कहाँबाट आएको ? किन एक्लै आएको ? नाम के हो ? ‘विकास’ थर के हो ? ‘विश्वकर्मा ‘ जवाफ दिएँ। त्यसपछि ‘ए..दलित रै’छस्, घरभित्र ल्याउन मिल्दैन’ भन्दै ढ्याम्म ढोका बन्द गर्नुभयो। र, क्रमशः अरुले पनि घरका ढोका बन्द गर्दै गए। म त्यही पिँढीमा कुक्रुक्क डल्लो परेर बसेँ। १० वर्षे बालक दिनभर हिंडेर पोखराबाट त्यहाँ आइपुगेको थकान, खोइ कतिखेर झुपुक्क निदाएछु। हातहरुमा चिसो चिजले छोएको अनुभूति भएपछि ब्यूँझिएँ। आँखा खोल्दा त दुईवटा कुकुर रहेछन्। मलाई शिरपाउ शुम्शुम्याए, मान्छे नै रहेछ भन्ने ठम्याएपछि सकुशल छोडिदिए र अन्यत्र लागे। धन्न गाँस हालेनन्। एकछिन् जिउ सिरिङ्ग भयो।
भोलिपल्ट विहानै उठेर बाटो लागेँ र पातीचौर, कुस्मा, मालढुङ्गा, फर्से, मिलनचोक, बेनीहुँदै साँझ घर पुगेँ। तीज आएको रहेछ। गाउँमा एक किसिमको चहलपहल सुरु भैसकेको थियो तीज भित्र्याउन। हराएर आस मारेको छोरो जिउँदै घर फर्केपछि हाम्रो घरमा पनि खुसी छायो। त्यसपछि खुरुखुरु पढेर स्नातक तह उत्तीर्ण गरेँ। पढाइप्रतिको प्यास त मेटिएको थिएन तर पारिवारिक जिम्मेवारी गर्हुङ्गो हुन थालेपछि औपचारिक शिक्षार्जन त्यहीँ अडियो।