प्रार्थना

प्रार्थना वन्दना वा स्तुति हो, जुन प्रशंसा, विनय, र अनुरोधको रूपमा देवता वा ठूला व्यक्तिहरूलाई गरिन्छ। प्रार्थनाले शान्ति र निश्चिन्तता दिन्छ, र देवता वा शक्तिशाली व्यक्तिहरूलाई प्रसन्न पार्छ। यसले ठूलो शक्तिहरूलाई आफ्ना पक्षमा पार्न सकिन्छ, त्यसैले प्रार्थनालाई महाशक्ति मानिन्छ। आधुनिक समयमा अधिकारबोधले प्रार्थनाको महत्त्व घटेको भए पनि, यसले जीवनमा शान्ति, सम्मान, र संरक्षणको भूमिका खेल्छ। प्रार्थनाको महत्त्व मानव जीवन र संस्कृतिमा सदैव रहन्छ।

प्रार्थना भन्नाले वन्दना, स्तुति भन्ने बुझिन्छ । वन्दना प्रशंसा हो । प्राय: देवतालाई वन्दना गरिन्छ । प्रार्थना विनय भावले गरिने हुँदा यसलाई विन्ती वा पुकारा पनि भन्ने गर्दछ्न् । सारमा भन्नुपर्दा यो बडालाई गरिने प्रशंसा हो । त्यसो हुनाले वन्दनालाई प्रशस्ति भन्न पनि सकिन्छ । भगवान वा मान्छे जो आफूभन्दा ठूला छ्न् तिनका प्रशंसामा उनीहरूका विभिन्न प्रशंसनीय कार्यहरू जोड्दै विभिन्न अलङ्कार र उपमाहरूले सिँगार्दै खुसी बनाउन दिइने जुनसुकै अभिव्यक्तिहरू वन्दना वा प्रार्थना हुन् ।

प्रार्थनाले शान्ति प्राप्त हुन्छ । पहिलो आफ्नो प्रार्थनाले आफ्नो अपेक्षा अनुरूपको फल कसैले दिन्छ भन्ने विश्वास हुने गर्दछ भने दोस्रो प्रार्थनाले प्रार्थना गरिएकै देवता वा  मान्छेले आफूलाई अनिष्ट गर्नबाट जोगिन्छ भन्ने निश्चिन्तता प्राप्त हुन्छ । यसै हुनाले देवता वा अनिष्टकारी दशाहरू दुबैलाई प्रार्थना गरिन्छ ।  धार्मिक क्षेत्रमा पाइने सम्पूर्ण मन्त्रहरू वास्तवमा प्रार्थना गर्ने हतियार वा साधनहरू हुन् । आफूले नसक्ने कार्य शक्तिशाली व्यक्तिलाई गराउन पर्दा अनुरोध त गर्नुपर्‍यो अनुरोध गर्दा उसको प्रशंसा वा प्रार्थना नगरी खुसी हुँदैन ! प्रार्थनाले ठूल्ठूला शक्तिहरूलाई आफ्ना पक्षमा पार्न सकिन्छ यसर्थ प्रार्थनालाई महाशक्ति भनिएको हो ।

मन्त्रमा शक्ति हुन्छ भन्ने कारण पनि यही हो किनकि मन्त्र प्रार्थनाको साधन हो र यसले देवतालाई खुसी पार्छ र अभीष्ट वर वा मागिएको वस्तुको दान प्राप्त हुन्छ । यसकारण  यसलाई वरदान भन्ने गरिन्छ ।

प्रार्थनाले झैझगडा हुँदैन । प्राथना गर्ने व्यक्ति प्रशंसक हुन्छ र यस्ता मान्छेहरू रिसाहा हुँदैनन् धेरैका प्यारा पनि हुन्छन् । मान्छे होऊन् वा मान्छेले प्रशंसा गरेका वा पुजेका देवता होऊन् ती सबै प्रशंसाका भोका छ्न् त्यसैले प्रार्थी वा यजक वा प्रशंसक  मान्छेहरूका शत्रु अवश्य कम हुन्छन् । शत्रु कम भएको मान्छे निश्चिन्त र शान्तिको जीवन जिउन पाउँछ । यसैले प्रार्थनाको जीवनमा ठूलो महत्व हुन्छ ।

आधुनिक जमानामा प्रार्थनाको महत्व केही घटेको हो कि भन्ने पनि लाग्छ । कारण यो अधिकारको जमाना हो । कर्तव्य पूरा गरेपछि अधिकार नियमले नै पाइन्छ कसैको निगाहले दिइरहनु पर्दैन भन्ने मानसिकताको वृद्धि भएको पनि छ । प्रार्थनाको विपरीत गाली हो गाली प्रशंसासँगै जन्मिएको हो । धार्मिक मन्त्रहरूमा पनि गाली रहेका छ्न् । प्रशंसा र गालीले राम्रो को र नराम्रो  को भन्ने पनि चिनिन्छ । जेहोस् समय जतिसुकै परिवर्तन भएपनि विनयशील मान्छेको महत्त्व कहिल्यै कम नहुने हुनाले प्रार्थनाको पनि महत्त्व भइरहन्छ । राष्ट्रिय गीतहरू पनि प्रार्थनाका फरक रूप हुन् । मानव जीवन रहेसम्म प्रार्थनाको महत्त्व पनि रहिरहन्छ । हामी आमा, बा, गुरु, जन्मभूमि र ईश्वरको प्रार्थना गरिरहन्छौँ ।

प्रार्थना एउटा ठूलो सम्मान हो । सम्मानले सबैलाई आनन्दित तुल्याउँछ । प्रार्थनाले सम्मान हुन्छ । त्यसो हुनाले चाहे शक्ति होस् चाहे कल्याण एवम् शान्तिका लागि होस् जो ती कुराहरू दिनका लागि सक्षम छ उसैलाई प्रार्थना गरिन्छ । आफूभन्दा कमजोरलाई प्रार्थना गरेको उदाहरण भेटिँदैन । प्रार्थनामा सेवाभाव पनि हुनाले देवता वा बडा मानिसहरूप्रति बाजा वा नगरा समर्पण गर्नुलाई सेवा लगाउनु भन्ने संस्कृति अझै छ । प्रार्थना वा सेवा प्राप्त भएपछि सेवक, प्रशंसक र यजक जो भए पनि तिनीहरूको संरक्षणलगायत पालन पोषण गर्ने जिम्मेवारीसमेत बडाकै रहने कुरा अनेक प्रकारका धार्मिक कथा वा राजा-रङ्कका इतिहासहरूमा भेट्न सकिन्छ । शक्तिशाली व्यक्तिहरूले आफ्नो पक्षमा कोको छन् भन्ने छुट्याउने आधार पनि प्रशंसा वा प्रार्थना नै हुने गरेको पाइन्छ ।

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ